७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

महिला स्वास्थ्य स्वयम्सेविकाः गाउँका डाक्टर

हिमा गाउँपालिका ६ पातारखोला गाउँकी किट्टी दमाइ महिला स्वास्थ्य स्वयम्सेविका हुन्। उनी स्वास्थ्य स्वयम्सेविकामा काम गर्न थालेका दशक नाघिसकेको छ। गाउँबस्तीमा पुगेर गर्भवती, सुत्केरी, नवजात शिशु, बुढाबुढीको स्वास्थ्य अवस्थाबारे जानकारी लिने उनको दिनचर्या नै हो।  

उनले भनिन्, ‘ग्रामिण क्षेत्रको स्वास्थ्य महिला स्वास्थ्य स्वयम्सेविकाको जिम्मेवारीमा छु। हामी नै  स्वास्थ्यकर्मी हौ। दुर्गम बस्तीमा लागि हामी नै डक्टर। स्वास्थ्य संस्थामा नियमित स्वास्थ्यकर्मी बस्दैनन्। स्वास्थ्यचौकीमा डक्टरी दरबन्दी हुदैन्’, किट्टीले भनिन्, ‘ग्रामिण स्वास्थ्यको पूर्ण जिम्मेवारी नै हामीसँग हुन्छ। स्वास्थ्य क्षेत्रको आधारका रुपमा महिला स्वास्थ्य स्वयम्सेविकालाई लिइदै आएपछि सेवासुविधा दिन सरकारले कन्ज्युस्याइँ गरिरहेको छ।’

कलिलो उमेरमै स्वास्थ्य स्वयम्सेविका बनेकी उनी गर्भवती महिलाले स्वास्थ्यको हेरचाह कसरी गर्ने? बालबालिकालाई विभिन्न रोगबाट बचाउन के गर्ने?भन्ने बिषयमा समुदायस्तरमा परिचालन हुने गरेको बताउँछिन्।  उनले महिला स्वास्थ्य स्वयम्सेविकामा काम गर्न थालेका १२ बर्ष बितेको छ। गाउँमा सामान्य रोगको उपचार आफै गर्न सक्ने भइसकेकी छिन्।  

महावैपातरखोलाकी कल्पना शाही गाउँमा स्वास्थ्य सचेतना फैलाउँदै आएकी छिन्। उनी पनि महिला स्वास्थ्य स्वयम्सेविका हुन्। समुदाय तहमा परिवार नियोजन, सुरक्षित मातृत्व, स्वास्थ्य सरसफाइ, सरुवा रोगको रोकथाम तथा नियन्त्रण, स्वास्थ्य शिक्षा र खोप सेवा दिँदै आएकी छिन्।  

गाउँमा कुन रोग फैलिएको छ। त्यो रोगको उपचार कसरी गर्न सकिन्छ भन्ने बारेमा पहिले नै थाहा हुने गरेको उनी बताउँछिन्। दुई दशक स्वयम्सेविकामा काम गरेकी उनी बिरामीलाई रोग अनुसारको औषधि उपलब्ध गराउन सक्ने भइसकेकी छिन्। उनले भनिन्, ‘महिला स्वास्थ्य स्वयम्सेविका सचेतना मात्र छर्दैनौं। प्राथमिक उपचारमा पनि खटिँदै आएका छौं। डक्टर आउन नमान्ने दुर्गम क्षेत्रका हामी डक्टर हौं।’

महिला स्वयम्सेविका सम्झना शाही पनि परिवार नियोजन, सुरक्षित मातृत्वसँगै प्राथमिक उपचारमा खटिन थालेको धेरै भयो। गाउँमा लाग्ने सानातिना रोग रुघाखोकी, ज्वरो, झाडापखाला लगायतको उपचार गर्छिन्। घरैबाट जीवनजल सिटामोल लगायतको औषधी दिने गरेको उनी बताउँछिन्।  

उनीप्रति गाउँको विश्वास छ। ‘ठूलो रोगको उपचारका लागि स्वास्थ्य चौकी र अस्तालमा जान परामर्श दिन्छौँ, उनले भनिन्, ‘सानातिना रोगको गाउँमै उपचार गर्न सक्ने भइसकेकी छौं।’

स्वास्थ्य केन्द्रले उपलब्ध गराउने औषधि गाउँमै लिएर स्वास्थ्य स्वयम्सेविकाले वितरण गर्छिन्। औषधि नहुँदा आफ्ने खर्चले खरिद गरेर बिरामीलाई दिने गरेको उनीहरुको अनुभव छ। सामान्य सेवा सुविधामा परिचालित भएका स्वास्थ्य स्वयम्सेविकाहरुले जनस्वास्थ्यमा ठूलो योगदानमात्र गरेका छैनन्। गाउँघरका डाक्टर सापको रुपमा पनि स्थापित भएका छन्।

राष्ट्रिय स्वास्थ्य नीतिले देशको शहरी तथा ग्रामीण क्षेत्रका स्वास्थ्य सेवाको पहुँचबाट बन्चित रहेका समुदायमा न्यूनतम आधारभूत स्वास्थ्य सेवा पुर्याउन २०४५ सालदेखि महिला स्वयम्सेविकाको अवधारणा ल्याएको हो।  

महिला स्वयम्सेविकाहरुले आधारभूत स्वास्थ्य सेवाहरु प्रदान गर्दै मातृ मृत्युदर र बाल मृत्युदरमा कमी ल्याउन र परिवार नियोजनको सेवा पहुँचलाई बढाउन महत्वपूर्ण योगदान गरेको स्थानीय बताउँछन्।

पछिल्लो चरणमा कोभिड १९ को संक्रमणमा समुदायको स्वास्थ्यप्रति संवेदनशील रहँदै महिला स्वास्थ्य स्वयम्सेविकाले कोभिड १९ बारे सामाजिक सचेतना फैलाउने काममा आफूलाई समाहित गरेका छन्। चौविसै घन्टा समुदायको स्वास्थ्यमा खटिएका स्वयम्सेविकाको कामको मूल्याङ्कन र उचित पारिश्रमिकको व्यवस्था राज्यबाट हुन सकेको छैन। पुरस्कार सम्मान भ्रमणहरुमा पनि पहुँच भएकालाई मात्र समावेश गर्ने तर दूरदराजमा खटिने महिला स्वयम्सेविकाहरु राज्यको नजरमा नपर्ने गरेको गुनासो उनीहरुको छ।

जनस्वास्थ्यमा ठूलो भुमिका खेलिरहेका महिला स्वयम्सेविकालाई सेवा सुविधा बढाउँदै उचित पारिश्रमिकको व्यवस्था गरिनुपर्ने सरोकारवालाको सुझाव छ। 

प्रकाशित: २८ असार २०७८ १३:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App