६ वैशाख २०८१ बिहीबार
स्वास्थ्य

गोरखा र स्याङजामा डेल्टा भेरियन्ट पुष्टि

स्याङजा र गोरखामा कोरोनाको डेल्टा भेरियन्ट फेला परेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बताएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट नयाँ भेरियन्ट परीक्षणका लागि गत जेठ ३१ गते काठमाडौंस्थित जनस्वास्थ्य प्रयोगशाला पठाइएका पाँचवटा नमुनामा डेल्टा भेरियन्ट पुष्टि भएको हो।  

गण्डकी प्रदेशको स्वास्थ्न निर्देशनालयको प्रदेश स्वास्थ्य आपतकालिन कार्यसंचालन केन्द्रका संयोजक नवराज शर्माका अनुसार स्याङजाको कालिगण्डकी गाउँपालिकाका १४ र ६० वर्षका दुइजना पुरुष र गोरखाको वारपाक सुलिकोट गाउँपालिकाका ३३,४० र ७० वर्षिया तीनजना महिलामा डेल्टा (बि.१.६१७.२)पुष्टि भएको हो । यो भाइरस यसअघिको अल्फा भेरियन्ट भन्दा बढी संक्रमित हुने भएकोले सचेतना अपनाउन आग्रह गरिएको उनले बताए।  

शर्माका अनुसार यहाँबाट काठमाडौं र काठमाडौंबाट पनि त्यो नमूना परीक्षणका लागि अन्तर्राष्ट्रिय स्तरका प्रयोगशालामा पठाइएको थियो । ‘जिल्लाका समुदायमा संक्रमणको अवस्था बढ्दो भएको र त्यसको कारण नयाँ भेरियन्ट हुन सक्ने आँकलन गर्न नमुना परीक्षण गरिएको थियो,’ शर्माले भने, ‘हामीले आँकलन गरे बमोजिम नै नयाँ भेरियन्ट पत्ता लागेको छ।’

नमूना लिइएका संक्रमितको स्वास्थ्य अवस्था पहिचान गर्ने प्रयास भईरहेको शर्माले बताए । ‘हुन त एकमहिना अघि नै हामीले नमूना परीक्षण गरेका थियौ । अन्तर्राष्ट्रिय प्रयोगशालामा परीक्षण गर्नुपर्दा रिपोर्ट आउन समय लागेको हो । तर जिल्लामा नयाँ भेरियन्ट फैलिएको पुष्टि भएको छ,’ उनले भने। यसअघि संक्रमणका कारण गोराखाको बारपाक टोल नै जोखिममा परेको थियो।  

प्रकाशित: २७ असार २०७८ ०७:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App