coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

पूर्वाधार अभावमा हिमाका स्वास्थ्यचौकी

जुम्लाको हिमा गाउँपालिका ६ महाबैपातरखोलामा रहेको स्वास्थ्यचौकीमा खानेपानी छैन। बिजुली व्यवस्था छैन। इन्टरनेट चल्दैन। जसका कारण यहाँ स्वास्थ्य सेवा दिन निकै गाह्रो छ। एउटा स्वास्थ्यचौकीमा हुनु पर्ने कुनैपनि पूर्वाधार छैन, स्वास्थ्यचौकी इन्चार्ज टेकबहादुर बुढाले भने,‘दुर्गमका स्वास्थ्यचौकीमा पूर्वाधार अभावले स्वास्थ्य सेवा दिन कठिनाइ हुने गरेको छ।  

‘स्वास्थ्यचौकीले दिनुपर्ने सेवा सबै दिन्छौँ’, उनले भने,‘पूर्वाधार अभावले प्रभावकारी स्वास्थ्य सेवा दिन सकेका छैनौँ।’ महाबैपातरखोला स्वास्थ्यचौकीले ओपिडि सेवा, गर्भजाँच र बर्थिङसेन्टरको सेवा दिइरहेको छ।  

स्वास्थ्यचौकीले दिने सबै सेवा दिन कुनै कन्ज्युस्याइँ हुँदैन। स्थानीयले पाउने सेवा सरल, सहज बनाइएको छ। औषधि अभाव हुन दिइएको छैन। इन्चार्ज बुढाले भने,‘तर पूर्वाधार अभावका कारण सोचे अनुसारको सेवा उपलब्ध गराउन सकिएको छैन।’

स्वास्थ्यचौकीको सामाजिक लेखापरीक्षण कार्यक्रममा उनले जनतालाई स्वास्थ्य अधिकारको अनुभूति दिन हर प्रयास जारी राखेको बताएका थिए।

बत्ती नहुँदा सुत्केरी गराउने बेला मोवाइलको टर्च बालेर सेवा दिनुपर्ने सिनियर अनमी जयलक्ष्मी रावतले बताउँछिन्। अहिलेसम्म स्वास्थ्य संस्थाबाट २५ देखि ३० जना आमाले सुत्केरी सेवा लिएका छन्। बर्थिङसेन्टरको व्यवस्थापन नहुँदा सुत्केरी गराउन कठिन हुने गरेको बताइन्।  

बर्थिङ सेन्टरमा न खानेपानी छ, न त तातोपानी तताउने सामग्री नै। उनले भनिन्,‘जटिल प्रकृतिका सुत्केरी आएको खण्डमा घरबाटै पानी तताएर ल्याउनु पर्ने अवस्था छ। यो दुर्भाग्यपूर्ण छ।’  

भौगोलिक विकट्ताका कारण स्वास्थ्यचौकी गर्भजाँच गराउन आउनेको संख्यामा कमी आउने गरेको स्वास्थ्य स्वयंसेविका सम्झना शाही बताउँछिन्। उनले भनिन्,‘सुत्केरीलाई स्वास्थ्य संस्थासम्म लैजानको लागि स्ट्रेचर पनि छैन। जसले सुत्केरी लिन चुनौति छ।’

कोरोनाका बेला स्थानीयलाई घरमै गएर स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गर्न सुझाव दिइएको उनी बताउँछिन्। ‘गर्भवती र सुत्केरीका लागि रातदिन खटिदै आएका छौँ,’ उनले भनिन्,‘भौगोलिक रुपमा विकट भएपनि सेवा दिने हिसावमा निकट हुने गरेका छौँ।’

हिमा गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख रतन रावत स्वास्थ्य संस्थामा औषधिको कुनैपनि अभाव हुन नदिएको बताउँछन्। ‘ बेलाबखत औषधिको अवस्थाका विषयमा अनुगमन गरिरहेकोमा जोड दिए। अब स्वास्थ्य चौकीमा आमा घर स्थापना गर्न आग्रह गरिरहेका छौँ। उनले भने,‘स्वास्थ्य संस्थाको सेवाप्रवाह सहज बनाउन र औषधिको अभाव हुन नदिनको लागि सदैव क्रियाशिल नै छौँ।’

स्वास्थ्य संस्थामा विजुलीको अभावले समस्या हुने गरेको गुनासोको संबोधन गर्दै उनले तत्काल एउटा सोलार व्यवस्थापन गर्न सकिने बताउँछन्। ‘पहिले टर्च उपलब्ध गराएका थियौँ। अहिले सोला दिन तयार छौँ। स्वास्थ्य शाखाको सम्पर्कमा आउनुहोला,’ उनले भने।

हिमा गाउँपालिका ६ नम्वर वडा अध्यक्ष वलवहादुर रावत स्वास्थ्य स्वास्थ्यमा समुदायको असहयोग भएको जानकारी दिए। उनले भने,‘जति सेवाप्रवाहको बारेमा चासो राख्छन्,उति स्थानीय नागरिक संवेदनशिल हुँदैनन्।’

स्वास्थ्य चौकीको लागि विजुली खानेपानीको व्यवस्थापन गरिएको छ। वडाध्यक्ष रावतले भने,‘खानेपानी खान र बत्ती नबाल्दै बिग्रने गरेको देखिएको छ। उनले स्वास्थ्यकर्मी, स्थानीय नागरिक र वडापालिकाबीचको सुमधुर सम्बन्ध हुनु पर्ने बताए।  

हिमा गाउँपालिका १ मा रहेको स्वास्थ्यचौकी बड्कीको अवस्था पनि दयनीय नै छ। खानेपानी, बत्ती र पर्खालको अवस्था नाजुक देखिएको ईन्चार्ज शुक्रराज शाही बताउँछन्। अन्य सेवाप्रवाह स्तरीय छ। तर पूर्वाधार अभावका कारण सोचे जति सेवा उपलब्ध गराउन सकिएको छैन।  

स्वास्थ्य संस्थाले राम्रो सेवा दिने गरेको शिक्षक खाम्मा शाही बताउँछन्। स्वास्थ्यचौकीमा अपुग दरबन्दी भौतिक पूर्वाधारमा राजनीतिक दल, स्थानीय र स्थानीय सरकारको भूमिका अपरिहार्य रहेको उनी बताउँछन्।  

गाउँकार्यपालिका सदस्य रतिमान कामी स्वास्थ्य संस्थामा खानेपानी, बत्ती र पर्खालका विषयमा समन्वय भइरहेको बताउँछन्।   नेपाली काँग्रेसका प्रतिनिधि पुर्णवहादुर शाही स्वास्थ्य संस्थामा देखिएको समस्या तत्काल संबोधन हुनु पर्ने बताउँछन्। यी समस्याको समाधान स्थानीय सरकारले गर्नु पर्नेमा जोड दिन्छन्। स्वास्थ्य संस्थामा अनिवार्य एम्बुलेन्स हुनुपर्छ। त्यो पनि स्थानीय सरकारले गर्न सकेको छैन।  

उनले भने,‘विकासका नाममा भ्रष्टाचार गर्न उन्मुख हुने सरकार स्वास्थ्य संस्थाको लागि बिमुख बनेको छ।’ हिमा १ का वडाध्यक्ष मुनिराम रावत स्वास्थ्य संस्थाको सेवा प्रवाहमा सन्तोषजनक प्रगति भइरहेको बताए। बर्थिङसेन्टर लागू भएबाट मातृमृत्युदर घटेको उनी बताउँछन्। उनले आफ्नो कार्यकाल भित्रै खानेपानी, बत्ती र पर्खाल घेरवार पूरा गरेर छाड्ने प्रतिबद्वता जनाएका छन्।

प्रकाशित: २६ असार २०७८ ०८:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App