४ आश्विन २०७८ सोमबार
स्वास्थ्य

आइपुग्यो आठ लाख डाेज खोप, ६० वर्षमुनि उमेर समूहका मानिसलाई प्राथमिकता

फाइल तस्बिर

कोरोना भाइरसविरुद्धको ‘भेरोसेल’ खोप नेपाल आइपुगेको छ। चीनबाट खरीद गरिएको खोप नेपाल वायुसेवा निगमको बाइडबडी ए ३३० जहाजमार्फत आज बिहान ६ बजे नेपाल आइपुगेको हो। बिहीबार साँझ उक्त जहाज खोप लिनका लागि चीनतर्फ गएको थियो।  

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले सरकारले खरिद गरेको खोप आज बिहान आइपुगेको जानकारी दिए। उनले पहिलो चरणमा आज आठ लाख मात्रा अर्थात् १३ हजार किलो खोप आइपुगेको जानकारी दिए। सरकार र खोप कम्पनीबीच नन डिस्क्लोजर सम्झौताअनुसार कति परिमाणमा खोप नेपाल ल्याउने भन्ने कुरा खुलाइएको छैन।  

अब आगामी साउन ८ गतेसम्म तीन उडानमार्फत नियमितरुपमा खोप आउन थालेको हो। यस्तै असार ३१ गते पुनः बाइडबडी जहाज खोप लिन गएर साउन १ गते र साउन ७ गते पुनः जहाज नेपालबाट गएर साउन ८ गते खोप ल्याउने छ। उनले अहिले टेकुस्थित चिस्यान केन्द्रमा खोप भण्डारण गरिरहेको जानकारी दिए। मन्त्रालयले खोप लगाउने कार्यलाई विशेष प्राथमिकतामा राखेपछि यो खोप देशभरि नै पठाउने तयारी गरेको छ।  

खोप ६० वर्षमुनि उमेर समूहका मानिसलाई प्राथमिकताका आधारमा लगाउने मन्त्रालयको तयारी छ। कूल जनसङ्ख्याको दुई करोड २० लाखलाई खोप लगाउने सरकारको लक्ष्य छ। नेपालमा अहिलेसम्म २६ लाख ११ हजार ८०७ लाई पहिलो मात्रा र नौ लाख ३३ हजार ८६८ लाई दोस्रो मात्राको खोप लगाइसकिएको छ।

प्रकाशित: २५ असार २०७८ १३:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App