८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

४० प्रतिशत बढी औषधि प्रतिरोधी क्षयरोगीमा कोराेना संक्रमण

चालिस प्रतिशत बढी औषधि प्रतिरोधी क्षयरोगीहरुमा कोरोना संक्रमण भएको राष्ट्रिय क्षयरोग केन्द्रले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रस ब्रिफिङको क्रममा केन्द्रले यस्तो जानकारी दिएको हो। केन्द्रले गरेको पछिल्लो अध्ययन अनुसार औषधि परीक्षण गरेका औषधि प्रतिरोधी क्षयरोगी मध्येमा ४० प्रतिशतमा कोरोनो संक्रमण पुष्टि भएको तथ्याकं छ। 

यो अध्ययन पहिलो कोरोना संक्रमणको अन्तिम समयतिर गरिएको थियो। यो तथ्यांक दोस्रो लहरमा बढेको हुन सक्ने राष्ट्रिय क्षयरोग केन्द्रका बरिष्ठ छाति रोग विशेषज्ञ डा.नविन प्रकाश शाहले बताए।  ‘दोस्रो  लहरमा नेपालगंजमा परीक्षण गरिएका औषधि प्रतिरोधी क्षयरोगी मध्येमा ५० प्रतिशतमा संक्रमण पुष्टि भएको थियो’ उनले भने। औषधि प्रतिरोधी क्षयरोगीहरुलाई छात्रावासमा राखेर औषधि सेवन तथा अन्य क्रियाकलाप गरिररहेको कारण उनीहरुमा सजिलै संक्रमण भएको उनले बताए। 

तर सामान्य औषधी लिइरहेका क्षयरोगीहरुमा भने कोरोना संक्रमणदर १२ प्रतिशत मात्र रहेको केन्द्रको  तथ्याकं छ। घरमा हेरचाह नपाउने, आम्दानीको स्रोत नभएका औषधि प्रतिरोधी भएका क्षयरोगीहरुलाई आवासगृहमा राखेर ९ देखि १८ महिनासम्म नियमित औषधि सेवन गराउने,पौष्टिक खाना खुवाउने र आयआर्जनमुलक सीपहरु  सिकाइन्छ। नेपालमा करिव २७ सय जना यस्ता बिरामी रहेको अनुमानित तथ्याकं रहेपनि ५ सय ९ जना मात्र पहिचान भएको तथ्याकं छ।  

क्षयरोग लागेका व्यक्तिले नियमित औषधि सेवन नगरेमा, औषधिको भण्डारण सही रुपमा नभएमा, एक वा एक भन्दा बढी औषधिले काम नगरेमा क्षयरोगको सामान्य औषधिले काम नगरेको अवस्था हो औषधि प्रतिरोधी क्षयरोगी। नेपालमा यस्तो समस्या वर्षेनी बढ्दै गएको राष्ट्रिय क्षयरोग केन्द्रकी नर्सिङ अधिकृति थुमा पुनले बताइन्।  

क्षयरोगी र कोभिड १९ दुवैले फोक्सोमा असर गर्ने भएकोले दुवैमा मिल्दाजुल्दा लक्षण हुन्छन्। कोभिड १९ संक्रमण भएमा क्षयरोगीमा बढी क्षति पुग्ने भएकोले उनीहरु बिशेष सचेत हुनु पर्ने डा. शाहको सुझाव छ। ‘कोभिड संक्रमणले मृत्यु हुनेहरुमा धेरै क्षयरोगी पनि छन्, यसको तथ्याकं आउन बाँकी छ’ डा.शाहले भने। 

क्षयरोगीहरुमा यसको जोखिम बढी भएकोले आवासगृहमा र घरमा बसेर उपचार गरिरहेका क्षयरोगीले जनस्वास्थ्यको मापदण्ड पालना गर्ने, कोभिडको कारण घरीघरी स्वास्थ्य संस्थामा आउन जोखिम भएकोले कम्तीमा एक महिनाको लागि घरैमा औषधि लिएर नियमित सेवन गर्ने, कुनै समस्या भएमा चिकित्सकलाई फोनबाट परामर्श लिने जस्ता सावधानी अपाउन सकिने डा. शाहको सुझाव छ। तथ्यांक अनुसार नेपालमा प्रति बर्ष ६९ हजार नयाँ क्षयरोगी छन्। ती मध्येमा ६० प्रतिशत उपचार बाहिरै छन्। नेपालमा ७ क्षयरोग पहिचानको लागि ७ सय भन्दा बढी जिनएक्सपर्ट केन्द्र छन् भने ४ हजार डट्स क्लिनिक मार्फत क्षयरोगीलाई सेवा दिइदै आएको छ।  

संक्रमणको उच्च जोखिम नौ जिल्लाहरु  

पछिल्लो चौविस घण्टामा बिभिन्न प्रदेशका ९ जिल्लाहरु संक्रमणको उच्च जोखिममा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो चौध दिनको संक्रमणदरको स्थिति अनुसार ती जिल्लाहरु कोरोना संक्रमण्को उच्च जोखिममा रहेको स्वास्थ्य तथा जनसंदख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार काठमाडौ,ललितपुर,भक्तपुर, नुवाकोट,रसुवा, बाग्लुङ्ग,पर्वत,म्याग्दी, कास्की, चितवन,रुपन्देही, मकवानपुर,सुर्खेत पर्छन्। तथ्याकं अनुसार कर्णाली प्रदेशमा संक्रमणदर ४०.७ प्रतिशत, गण्डकीमा ३८ प्रतिशत,प्रदेश १ मा ३६ प्रतिशत रहेको छ।  

त्यसैगरी ९ वटा जिल्लामा ५ सय भन्दा बढी सक्रिय संक्रमित रहेका छन्। ती जिल्लाहरुमा काठमाडौ,भक्तपुर, ललितपुर, नुवाकोट,रसुवा,पर्वत,म्याग्दी,कास्की, जुम्ला,सुर्खेत, मकवनापुर, चितवन,सुनसरी हुन्। ती वाहेकका जिल्लाहरु मध्यम जोखिममा पर्छन्। कम जोखिममा रहेका जिल्लाहरुमा दार्चुला,बझाङ बाजुरा र मनाङ कम जोखिम भएका जिल्लाहरुमा पर्छन्। शुन्य संक्रमण भएको कुनै पनि जिल्ला छैनन्। निषेधाज्ञा खुलेसंगै मानिसहरुको भेटघाट तथा जमघटमा बृद्धि भएकोले संक्रमण जोखिम बढेको सरुवा रोग बिशेषज्ञ डा. बिमल शर्माले बताए। ‘हाम्रो जमघट हुने क्रम बढेको छ, संक्रमण हुने जोखिम बढेको हुनाले सवैले खोप लगाउनु अघि सवैले जनस्वास्थ्यको मापदण्ड पालना गर्नु मात्र एक उपाय हो’ उनले भने।  

संक्रमणदर १९.७ प्रतिशत  

गत चौविस घण्टामा नेपालमा कोराना संक्रमणदर १९.७ प्रतिशत रहेको छ केही सातादेखि संक्रमणदर औसत १८ देखि २५ प्रतिशतको वरिपरी मन्त्रालयको तथ्यांकले औल्याएका छन्। गत चौविस घण्टामा परीक्षण भएका ८ हजार १ सय ३२ वटा नमूना मध्येमा १६ सय ३ जनामा कोरोना पुष्टि भएको हो। थप संक्रमित सहित नेपालमा कुल संक्रमित संख्या ६ लाख ८२ हजार ३ सय ३९ जना पुगेका छन्। ती मध्येमा ४ लाख २५ हजार ७ सय ३९ जना दोस्रो लहरको अवधिमा संक्रमित भएका हुन्। ती हाल नेपालमा २६ हजार १ सय ७९ जना सक्रिय संक्रमित छन्। ती मध्येमा २३ हजार२  सय २८ जना होम आइशोलेशनमा छन् भने २ हजार ९ सय ५१ जनाको संस्थागत आइशोलेशनमा उपचार भइरहेको छ।  

गत चौविस घण्टामा थप २७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। थप सहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार २ सय २५ जनाको मृत्यु भएको छ। ती मध्येमा ५ हजार ९ सय ३६ जनाको दोस्रो लहरको अवधिमा मृत्यु भएको हो। हाल नेपालमा ६ सय ८ जनाको आइसियुमा र १ सय ८१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।  

प्रकाशित: २१ असार २०७८ ०३:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App