७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

अस्पतालमा कोरोनाबाहेकका बिरामी बढे

एक साताअघिसम्म कोभिडका बिरामी मात्र भर्ना हुने उपत्यकाका मुख्य अस्पतालहरूमा कोरोनाबाहेकका बिरामी भर्ना हुने क्रम बढ्दै गएको छ। एक सातायता वीर अस्पतालमा अन्य बिरामी भर्ना हुने क्रम बढेको हो। अस्पतालमा विभिन्न खाले बिरामी बढ्न थालेपछि कोभिड अस्पतालको सेवा दिइरहेको राष्ट्रिय ट्रमा सेन्टरलाई हटाएर पुरानै सेवा सञ्चालनमा ल्याइएको छ। 

अस्पतालको पुरानो भवनमा रहेको कोभिड सेवा हटाएर नयाँ सर्जिकल भवनमा ५ सय शड्ढयाको सेवामा सीमित गरिएको अस्पतालका युनिफाइड कोभिड अस्पतालका प्रशासन प्रमुख डा. जागेश्वर गौतमले बताए। ‘हामीले अन्य निजी अस्पतालमा महँगो उपचारमा नगई यहाँ उपचारका लागि आउन कोभिडका बिरामीलाई अनुरोध गर्छौ,ं’ उनले भने।  

कोभिडका बिरामी आउने क्रम घटेपछि त्रिवि शिक्षण अस्पतालले पनि कोभिडबाहेकका बिरामी भर्ना गरिरहेको अस्पतालको आकस्मिक कक्ष प्रमुख डा. योगेन्द्र शाक्यले बताए। कोभिड महामारीको बखत दैनिक ७० जना कोभिडका बिरामी आकस्मिक कक्षमा मात्र आउने गरेकोमा अहिले दैनिक एकाध जना मात्र आउने गरेको डा. शाक्यले बताए।  

टिचिङ अअस्पतालका कोभिड १९ संयोजक डा. सन्त कुमार दासका अनुसार दुई सातादेखि यो अस्पतालमा कोभिड बाहेकाका बिरामी भर्ना हुने क्रम बढेको हो। कोभिडका बिरामीको भर्ना दर घट्दै गएपछि अस्पतालले समस्या जटिल बनिरहेका अन्य बिरामीलाई भर्ना गर्न थालेको हो। हाल अस्पतालमा ५ सय ६० जना अन्य बिरामी भर्ना भएका छन् भने ८६ जना मात्र कोभिडका बिरामी उपचाररत छन्। यो संख्या कोरोना संक्रमण बढेको बेला ठ्याक्कै उल्टो थियो। 

४ सय जना कोरोनाका बिरामी भर्ना भएका थिए भने १ सय जना अन्य बिरामी थिए। कोरोना संक्रमणसँगै अस्पतालले रोकेका शल्यक्रिया सेवा तथा अन्य सेवाहरू कोभिड संक्रमण घट्दै गएपछि सुरु गरेको डा. दासले बताए। ‘नियमित शल्यक्रियाको पर्खाइमा रहेका सयौं बिरामी आउने क्रम जारी छ,’ उनले भने।  

कोरोनाका बिरामी भर्ना हुने क्रम घटेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलवार निजी अस्पताल तथा मेडिकल कलेजका बिरामीलाई सरकारी अस्पतालमा उपचार गर्ने व्यवस्था मिलाएको छ। अवको मन्त्रालयसँग कोभिड उपचारको सम्झोता गरेका निजी अस्पताल र मेकिडल कलेजहरूलाई अवको १० दिनपछि बिरामीको खर्च नबहोेर्ने सूचना जारी गरिसकेको छ।  

उपत्यकामा कोरोना संक्रमितहरूको भर्ना हुने क्रम घटे पनि अहिले पनि कतिपय बिरामीहरू अस्पतालमा कोरोना सर्ने डरले उपचार नगएको पाइएको चिकित्सकहरूले जनाएका छन्। समस्या जटिल बनिरहेका बिरामीहरूलाई उपचारमा जानु उचित भएको चिकित्सकहरूको सुझाव छ। अस्पतालहरूले कोरोना संक्रमित विरामीहरूलाई छुट्टै राखेर उपचार गरेकोले सावधानी अपनाएर अस्पताल जान सकिने उनीहरूको सुझाव छ। 

तर समस्या खास नभएकाहरूले भने घरैबाट चिकित्सकको सल्लाह लिनु उचित रहेको डा. सन्तुकुमार दासको सुझाव छ। अस्पताल जाने बिरामीहरूले सावधानी भने अपनाउनु पर्ने अस्पतालका आकस्मिक कक्ष प्रमुख डा. शाक्यको सुझाव छ। विशेष गरी लाइनमा बस्दा अपनाउने भौतिक दुरी, सौचालय, ढोकाका चुक्कुल, धारा, कुर्सी जस्ता ठाउँहरू छोएपछि अनिवार्य रूपमा सावुनपानीले हात धुने र सेनिटाइजरको प्रयोग गर्नु र्ने उनको सुझाव छ।  

२२ प्रतिशत संक्रमित  

गत चौबिस घण्टामा नेपालका कोरोना संक्रमण दर २२ प्रतिशत रहेको छ। परीक्षण भएका ११ हजार ७ सय ४८ नमुनामध्ये २६ सय ६३ जनामा कोरोना पुष्टि भएको हो। थपसहित कुल संक्रमित संख्या ६ लाख ७० हजार ८ सय ५७ पुगेको छन्। तीमध्ये ४ लाख १३ हजार ८ सय ५७ जना कोरोना संक्रमणको दोस्रो लहरको अवधिमा संक्रमित भएका हुन्।  

गत चौविस घण्टामा थप २० जनाको कोरोना संक्रमणले मृत्यु भएको छ। थपसहित नेपालमा मृत्यु हुनेको संख्या ९ हजार ७१ पुगेको छ। तीमध्ये ५ हजार ७ सय ८२ जना दोस्रो लहरको अवधिभित्रमा मृत्यु भएको हो। हाल नेपालमा ३२ हजार ४ सय ४९ जना होम आइसोलेसनमा छन् भने २ हजार ९ सय ६१ जनाको संस्थागत आइसोलेसनमा उपचार भइरहेको छ। हाल ६ सय ४९ जनाको आइसियुमा र १ सय ८४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

प्रकाशित: १६ असार २०७८ ०२:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App