१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

डेल्टा प्लसको जोखिमबारे हतार नगर्न वैज्ञानिक आग्रह

सौतिक विश्वास (बिबिसी)

भारतले सुरुमा युरोपमा देखिएको भाइरसलाई ‘भेरियन्ट अफ कन्सर्न’ भनेर परिभाषित गरे पनि यो प्रजातिले अत्यधिक खतरा निम्ताउने भनेर भन्न हतार गर्न नहुने वैज्ञानिकले बताएका छन्। भारतको स्वास्थ्य मन्त्रालयले ‘डेल्टा प्लस’ भनेर भनिएको उक्त प्रजातिका बारेमा गरिएको एक अध्ययनले यो छिटो प्रसार हुने, फोक्सोमा कोषमा सजिलै टाँसिने तथा शरीरमा भाइरसको प्रभाव न्यून गर्ने मोनोक्लोनल एन्टिबडी थेरापी विधिलाई प्रतिरोध गर्ने देखिएको बताएको थियो। यसअघि पत्ता लागेको डेल्टा भेरियन्टसँग सम्बन्धित रहेको यो भेरियन्ट भारतमा महमारीको दोस्रो लहरको लागि जिम्मेवार मानिएको छ।  

भारतको स्वास्थ्य मन्त्रालयले भारतमा अप्रिलमा देखिएको यो डेल्टा प्लस भेरियन्ट भारतका ती राज्यका ६ जिल्लाबाट संकलित गरिएका ४० नमुनामा यो भेरियन्ट देखिएको बताएको छ। ४० नमुनामध्ये १६ नमुना दोस्रो लहरबाट सवैभन्दा बढी प्रभावित महाराष्ट्रमा देखिएको छ। यो डेल्टा प्लस भेरियन्ट भारत, अमेरिका, बेलायत, पोर्जुगल, स्विटजरल्यान्ड, जापान, पोल्यान्ड, नेपाल, रुस र चीनसहित १० देशमा पाइएको छ भने डेल्टा भेरियन्ट विश्वका ८० देशमा देखिएको छ।

भाइरसमा लगातार उत्परिवर्तन भइरहन्छ र सबै उपत्परिवर्तन असंगत हिसाबमा हुन्छन्। केही उत्परिवर्तनले भाइरस स्वयंलाई नोक्सान गर्छन् भने अन्यले रोगलाई झन् बढी संक्रामक पार्ने गर्छन् भने यस्ता प्रजाति बढी हावी हुन्छ। सजिलै प्रसार हुने, सघन हिसाबले बिरामी पार्ने, उपचार तथा खोपको प्रभावकारितलाई निस्प्रभावी पार्ने तथा प्रतिरोधी क्षमतालाई ह्रास गर्ने खाले चरित्र देखिएपछि भाइरसको उत्परिवर्तनलाई ‘भेरियन्ट अफ इन्ट्रेष्ट’बाट ‘भेरियन्ट अफ कन्सर्न’को रूपमा स्तरोन्नति गर्ने गरिएको छ।  

तर अग्रणी भाइरोलोजिष्टले डेल्टा प्लसलाई ‘भेरियन्ट अफ कन्सर्न’का रूपमा तत्काल परिभाषित गर्न नमिल्ने तर्क गरेका छन्। उनीहरूले अन्य भेरियन्टको तुलनामा यो भेरियन्ट बढी संक्रामक रहेको तथा जटिल खाले बिरामीका लागि जिम्मेवार रहेको पुष्टि गर्ने यथेष्ट तथ्यांक नभएको बताएका छन्।

‘यो भेरियन्टलाई ‘भेरियन्ट अफ कन्सर्न’ भनेर पुष्टि गर्न पर्याप्त तथ्यांक छैनन्,’ बेलायतका रोयल सोसाइटी अफ लन्डनमा पहिलोपटक फेलोको रूपमा निर्वाचित भएकी भारतीय भाइरोलोजिष्ट डा. गंगादीप कंगले भनिन्। उनले यस प्रकारको ‘लेबल’ लगाउनुपूर्व पर्याप्त जैविक तथा क्लिनिकल जानकारी हुन आवश्यक रहेको पनि बताइन्। उनको यो भनाइले यो भाइरसले खोप लगाइसकेपछि शरीरमा विकास हुने प्रतिरोधी क्षमतालाई असरहीन पार्ने अथवा नपार्ने विषयमा भारतले थप तथ्यांक संकलन गर्नुपर्ने देखाएको छ। 

यसैगरी एकबाट अर्काेमा अत्याधिक सर्ने मानिएको यो प्रजातिले जटिल खाले रोग निम्ताउँछ अथवा निम्ताउँदैन भनेर पनि थप अनुसन्धान गर्नुपर्ने देखिएको छ। ‘पहिलाका भेरियन्टको तुलनामा यो भेरियन्टले थप सघन हिसाबले बिरामी पार्ने अथवा नपार्ने भन्ने निक्यौल गर्न थप केही सय बिरामीमा अध्ययन गर्न आवश्यक हुन्छ,’ डा. कंग भन्छिन्।  

डेल्टा भेरियन्टको भाइरस स्पाइकमा ‘के४१७एन’ नाम गरेको थप उत्परिवर्तन हुने मानिएको छ। सुरुमा दक्षिण अफ्रिकामा देखिएको बेटा र ब्राजिलमा देखिएका गामा भेरियन्टमा यस प्रकारका उत्परिवर्तन भएर डेल्टा भेरियन्ट बनेको हो। दक्षिण अफि«कामा देखिएको पहिलो महामारीको क्रममा अस्पताल भर्ना गर्नुपर्ने बिरामी र मृत्यु बढनुमा ‘बेटा’ भेरियन्टलाई जिम्मेवार मानिएकोछ भने ‘गामा’ अत्यधिक हिसाबमा सँक्रामक रहेको वैज्ञानिक तर्क छ।  

ग्लोबल ओपन डाटा सेयरिङ प्लेटफर्क ‘जीआइएसएड’लाई उपलब्ध गराइएका १६६ डेल्टा प्लसको नमुनाको नतिजलाई उद्धृत गर्द लुजियाना स्टेट युनिभर्सिटीअन्तर्गतका हेल्थ साइन्स सेन्टरका भाइरोलोजिष्ट डा. जेरेमी कामिल भन्छन, ‘सुरुको डेल्टा भेरियन्ट भन्दा डेल्टा प्लस खतरनाक छ भनेर भन्न हामीसँग यथेष्ट आधार छैनन्।’

‘संक्रमणको हिसाबले यो भेरियन्टमा थोरै बढी क्षमता रहेको हुनसक्छ तर यस्लाई झन् बढी खतरनाक र चिन्ताजनक प्रजाति भनेर घोषणा गर्नका लागि भारत र अन्य विश्वले यथेष्ट तथ्याक सार्वजनिक गरेका छैनन,’ डा. कामिल थप्छन्। भाइरसका अनुवांशिक अध्ययनमा संलग्न दिल्लीमा रहेमा रहेको इन्टिच्युट अफ जेनोमिक्स एण्ड इन्टेग्रेटिभ बायोलोजी(आइजिआइबी)का निर्देशक अनुराग अग्रवाल डेल्टा भेरियन्टका सन्तान भेरियन्ट अफ कन्सर्नका रूपमा परिभाषित गर्नु अनौठो नभएको तर्क गर्छन्।  

‘तर हालसम्म उपलब्ध तथ्यांकले डेल्टा प्लस जनस्वास्थ्यका लागि चिन्ताजनक भएको देखिएको छैन। तर यसलाई हामीले सावधानीपूर्वक ट्र्याकिङ गरिरहेका छांै,’ अग्रवालले भने। उता लुजियाना स्टेट युनिभर्सिटीका डा. कामिल भारत सरकारले यो प्रजातिको विषयमा अत्यधिक प्रतिक्रिया व्यक्त गरेको ठान्छन्। ‘म त्यति धेरै चिन्तित छैन। तर यो भेरियन्टलाई चनाखो आखाले हेर्न आवश्यक छ,’ उनी थप्छन्।

प्रकाशित: १० असार २०७८ ०१:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App