coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

अस्पताल पुग्न लाखौंमा हेलिकप्टर चार्टर गर्न बाध्य छन् संक्रमित

खोटाङको ऐसेलुखर्क गाउँपालिकाबाट एक संक्रमितलाई हेलिकप्टर चार्टर गरेर काठमाडौं लगिएको छ। ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कका ६० वर्षीय संक्रमित वृद्धालाई निमोनियाको समस्याले च्यापेपछि मंगलबार हेलीकोप्टर चार्टर गरेर काठमाडाैं पठाइएको गाउँपालिका अध्यक्ष बिश्वनाथ निरौलाले बताए।  

संक्रमितलाई थप उपचारका लागि काठमाडाैं लैजानेक्रममा २ लाख ९५ हजारमा हेलिकप्टर चार्टर गरिएको संक्रमित परिवारले जनाएका छन्। खोटाङमा कोभिड–१९ को संक्रमण पुष्टि भएको अवस्थामा स्वास्थ्यमा गम्भीर समस्या देखिए तत्काल अस्पताल पुर्‍याउनका लागि लाखौंमा हेलिकप्टर चार्टर हुने गरेको छ। बिरामी बोक्न एम्बुलेन्स वा गाडीको विकल्पमा संक्रमति महंगो शुल्क तिरेर हेलिकप्टर चार्टर गर्न बाध्य बनेका छन्। जेठ ५ गते यता मात्र संक्रमितलाई अस्पताल लैजानका लागि ६ पटक हेलिकप्टर चार्टर भइसकेका छन्।  

संक्रमण भएपछि आइसोलेसनमा राखिएकी हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानकी एक महिलाको स्वास्थ्यमा जटिल समस्या निम्तियो। महिलालाई एम्बूलेन्स वा गाडीमार्फत काठमाडौंको सुविधा सम्पन्न अस्पताल पुर्‍याउँदा उपचारमा ढिलाइ हुने अवस्था देखिएपछि संक्रमित परिवार सामु हेलिकप्टर चार्टर गर्नुको विकल्प रहेन।  

हेलिकप्टर कम्पनी र संक्रमितका आफन्तबीचमा चार्टर शुल्कको विषयमा लामो ‘वार्गेनिङ’ चल्यो। अन्ततः तीन लाखमा चार्टर गरिएको हेलीकोप्टरमार्फत संक्रमित महिलालाई जेठ २७ गते काठमाडाैं पठाइएको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका वडाध्यक्ष चइन्द्र राईले बताए। यस्तै, जेठ १७ गते मात्र ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्ककी संक्रमित महिलालाई तत्काल काठमाडाैं लैजानु पर्ने अवस्था सिर्जना भयो। आफन्तले बिरामीलाई बोक्न हेलीकोप्टर मगाए।  

संक्रमित महिलालाई अस्पताल पुर्‍याउन २ लाख ९५ हजार भाडा लागेको ऐसेलुखर्क गाउँपालिकाकी उपाध्यक्ष पुष्पकला भुजेल बताउँछिन् । गत जेठ १५ गते मात्र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका ७८ वर्षीय संक्रमित वृद्धालाई ३ लाख ५० हजारमा हेलिकप्टर चार्टर गरेर काठमाडाैं लगिएको थियो । यस्तै, जेठ १० गते दिक्तेलका ६४ वर्षका पुरुषलाई ३ लाख ५० हजारमा र गत जेठ ५ गते ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कका एकै परिवारका तीन संक्रमितलाई ३ लाख २० हजारमा हेलिकप्टर चार्टर गरेर काठमाडाैँ लगिएको थियो। अन्य किसिमका रोग लागेका बिरामी वा घाईतेलाई काठमाडाैँ लैजानेक्रममा पनि कम्तीमा २ लाखमा हेलिकप्टर चार्टर गर्ने गरिएको छ। अस्पताल पुग्नका लागि हेलिकप्टर चार्टर गर्ने आर्थिक हैसियत सवै परिवारको छैन।  

आर्थिक अवस्था मजवुत भएका वा ऋणपान गर्न सक्ने बिरामी हेलिकप्टर चार्टर गरेर अस्पताल पुग्छन्। हेलिकप्टर चार्टर गर्न नसक्ने अवस्थाका अधिकांश बिरामी अस्पताल पुग्न नपाउँदै ज्यान गुमाउन वाध्य छन्। आकस्मिक अवस्थामा अस्पताल जानुपर्दा हेलिकप्टर चार्टर गर्नुपर्ने अवस्था भएकै कारण खोटाङलाई ‘दुई लाख सिरानीमा राखेर सुत्नुपर्ने जिल्ला’का रुपमा चिनाउने गरिएको छ।  

कोभिड–१९ को संक्रमणका कारण सिकिस्त अवस्थामा पुगेका संक्रमितले कम्तीमा साँढे तीन लाखमा हेलिकप्टर चार्ट गर्न बाध्य भएको भन्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले जेठ १६ गते पत्रमार्फत तत्काल अस्पताल पुर्‍याउनुपर्ने र भेन्टिलेटरमा राख्नपर्ने अवस्थाका संक्रमितलाई सुविधा सम्पन्न अस्पतालमा पुर्‍याउनका लागि प्रधानमन्त्री समक्ष निःशुल्क हेलिकप्टर सेवाको व्यवस्था गर्न माग गरेको थियो ।

पछि स्वास्थ्यमा जटिल समस्या आउने र हेलिकप्टर चार्टर गर्नुपर्ने अवस्था आउने त्रासमा कतिपय संक्रमित धमाधम काठमाडाैं, बिराटनगर लगायतका अस्पतालमा जान थालेकाले सरकार समक्ष निःशुल्क हेलिकप्टर सेवाको माग गरिएको मेयर दिपनारायण रिजालले बताए। ‘अहिले संक्रमितले हेलिकप्टर चार्टर गर्नु पर्‍यो भने कम्तीमा साँढे तीन लाख शुल्क तिरिरहनु परेको छ। 

सबैको हेलिकप्टर चार्टर गर्न सक्ने अवस्था छैन । पछि समस्या भइहाल्यो भने हेलिकप्टर चार्टर गर्न सकिन्न, पैसा तिर्न सकिन्न, हाम्रो ज्यान जान्छ भनेर संक्रमितहरु पहिल्यै गाडीमार्फत काठमाडाैं र बिराटनगर गइरहेका छन्,’ मेयर रिजालले भने, ‘त्यही भएर जिल्ला अस्पतालबाट रेफर भएकामध्ये क्रिटिकल अवस्थामा रहेका र तत्काल उद्धार गर्नुपर्ने कोभिड संक्रमित बिरामीको उद्धारका लागि निःशुल्क हेलिकप्टरको व्यवस्थाका लागि आग्रह गरेका हौँ।’

प्रकाशित: ९ असार २०७८ ०५:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App