८ श्रावण २०७८ शुक्रबार
स्वास्थ्य

घाँटीमा अड्किएको १८ सेन्टिमिटरकाे ब्रस निकालियो

राइड ओसोफ्यागोस्कोपी प्रविधि मार्फत शल्यक्रिया गरी युवाको घाँटभित्रबाट निकालेको करिब १८ सेन्टिमिटरको ब्रस र शल्यक्रियामा संलग्न प्रादेशिक अस्पतालका चिकित्सकहरु । तस्बिर सौजन्य : लुम्बिनी प्रादेशिक अस्पताल

रुपन्देहीका एक युवाले दाँत माझ्ने गर्ने क्रममा सिंगै ब्रस निलेर अड्काएपछि विशेष शल्यक्रिया गरी निकालिएको छ । लुम्बिनी प्रदेशिक अस्पताल बुटवलका चिकित्सकहरुले राइड ओसोफ्यागोस्कोपी प्रविधिबाट शल्यक्रिया गरी ती युवाको घाँटीमा अड्किएको करिब १८ सेन्टिमिटरको ब्रस निकालिएको हो ।

अस्पतालले दिएको जानकारी अनुसार आइतबार रुपन्देहीको रुद्रपुर हरैयाका २४ वर्षे एक युवाले दाँत माझ्ने क्रममा अचानक ब्रस घाँटी भित्र पस्यो । करिब १८ सेन्टिमिटरको ब्रस घाँटीभित्रै पसेपछि आत्तिएका ती युवालाई सुरुमा स्थानीय मेडिकलमा लगेर एक्सरे गरीयो । दुखाइ झन् झन् बढ्दै गएपछि तत्कालै लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगियो । अस्पतालमा तत्कालै खाना खाने नलिको इण्डोस्कोपी गरियो । 

घाँटीबाट निलेको ब्रस खाना खाने नलिमा छातीको बीच भागमा अड्किएको इण्डोस्कोपी गर्दा देखियो । त्यसपछि अस्पतालका नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा.बिष्णु शर्माको नेतृत्वमा डा. नेत्रबहादुर थापा, डा.दिपेन्द्र कसौधनसहितको टिमले राइड ओसोफ्यागो प्रविधिबाट सफल शल्यक्रिया गरी ब्रस निकाल्यो ।  

छातीमा ब्रस अड्केको देखिएपछि बिरामीको अवस्था, उपचारका क्रमका हुन सक्ने जोखिमका सम्बन्धमा बिरामीका परिवार र आफन्तलाई जानकारी गराउँदा उनीहरु शल्यक्रियाका लागि राजी भएपछि उपचार सुरु गरीएको नाक, कान घाँटी रोग विशेषज्ञ डा शर्माले बताए । घाँटीबाट निलेर छातीमा पुगिसकेको ब्रस समयमै ननिकाले त्यसले पेटसम्म पुग्न सक्ने या आन्द्रा छेडेर जोखिम झन् बढाउन सक्ने अवस्था रहेको डा शर्माले बताए । त्यसैले चिकित्सकहरुको टोलीले राइड ओसोफ्यागो प्रविधिबाट तत्कालै शल्यक्रिया सुरु गरे ।

डा शर्माका अनुसार यो प्रविधिमा बिरामीलाई बेहोस गराइ मुखबाट क्यामेरा जडित पाइप छिराएर त्यसकै सहायताले अड्केको बस्तु निकालिन्छ । ‘यस्तो अवस्थामा कहिले काँही शल्यक्रिया सफल नहुन पनि सक्छ । यदी तत्कालै चिरफार गर्नु पर्ने अवस्था आइहाल्यो भने भनेर सर्जनहरुलाई पनि स्टयाण्डबाइ राखिएको थियो । तर चिरफार गर्नु परेन,’ डा शर्माले भने । 

अहिले ती बिरामीको अवस्था सामान्य रहेको र डिस्चार्ज गरी घर पठाइएको अस्पतालले जनाएको छ ।

प्रकाशित: ७ असार २०७८ २१:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App