७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

रसुवाको स्याफ्रु स्वास्थ्य चौकीमा ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम सुरु

रसुवाको गोसाइँकुण्ड गाउँपालिकाको स्याफ्रु स्वास्थ्य चौकीमा ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम सुरु गरिँदै । तस्बिर: नागरिक

रसुवाको गोसाइँकुण्ड गाउँपालिकाले ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम सुरु गरेको छ । गाउँपालिकाको स्याफ्रु स्वास्थ्य चौकीमा आइतबारदेखि अल्ट्रासाउण्ड कार्यक्रम सुरु भएको हो ।  

मातृ तथा नवशिशुको स्वास्थ्यलाई विशेष ध्यानमा राखेर कार्यक्रम सुरु भएको स्वास्थ्य शाखा प्रमुख बिमल घिमिरेले बताए । ‘गर्भवती महिलाहरूले युएसजी गर्नका लागि अन्यत्र जानुपर्ने बाध्यता हटेको छ’, उनले भने, ‘यसका लागि जनशक्ति र सामग्रीको व्यवस्थापन गरेका छौं ।’  

यो गर्भवती महिलालाई स्वास्थ्य संस्थामा नै भिडियो एक्सरे गरिने कार्यक्रम हो । यसले संस्थागत सुत्केरी हुने दरमा समेत वृद्धि हुने अपेक्षा गरिएको छ । गएको असोजमा नै कार्यक्रम सञ्चालन गर्ने योजना रहेपनि विभिन्न समस्याका कारण ढिलो गरी सुरु भएको हो ।  

गाउँपालिकाले चालु आर्थिक वर्षदेखि नै संस्थागत रूपमा सुत्केरी गराउनेलाई दुई क्रेट अण्डा तथा थप एक हजार रुपैयाँ रकम दिन सुरु गरेको थियो । संस्थागत सुत्केरीको दर बढाउने, गर्भवती तथा सुत्केरी आमाको पोषण सुधार गर्ने र शिशु मृत्युदरमा कमि ल्याउन लागि गाउँपालिकाले गएको असोज १ गतेदेखि अण्डा झण्डा कार्यक्रम लागू गरेको थियो ।  

गाउँपालिकाले ६ वटै वडाका ७ वटै स्वास्थ्य संस्थामा कार्यक्रम लागू भएको जनाएको छ । यो कार्यक्रमले पोषणमा सुधार आउनुको साथै संस्थागत रूपमा सुत्केरी गराउने दर बढ्ने स्वास्थ्य शाखाले जनाएको छ ।

पहिलो पटक गर्भ जाँच गराउन आउँदा एक क्रेट र अन्तिम अथवा चौथो पटक गर्भ जाँच गर्न आउँदा थप एक क्रेट अन्डा उपलब्ध गराइएको शाखाले जनाएको छ । साथै घर पहिचानका लागि झण्डा राखिने छ । स्वास्थ्य शाखा प्रमुख बिमल घिमिरेका अनुसार गाउँपालिकामा स्वास्थ्य संस्थामा सुत्केरी गराउनेको दर बिस्तारै बढ्दै गएको छ ।  

गत आर्थिक वर्ष २०७६/७७ को तथ्यांक अनुसार गाउँपालिकाभित्र १ सय १४ मध्ये ४२ जनाले चार पटकसम्म गर्भ जाँच गरेका थिए । जसमध्ये २१ जनाले मात्र संस्थागत सुत्केरी गराएका छन् ।  

स्वास्थ्यकर्मीले संस्थागत सुत्केरी गराउँदा आमा र बच्चाको ज्यान जोखिममा पर्ने सम्भावना नरहने र सुरक्षित हुने भएकाले स्वास्थ्य संस्थामा नै सुत्केरी गराउनु पर्छ । हिमाली जिल्लामा चार पटकसम्म स्वास्थ्य संस्था पुगेर नियमित गर्भ जाँच गराउने महिलालाई थप ८ सय रुपैयाँ दिने गरिएको छ ।  

संस्थागत रूपमा सुत्केरी हुनेले ३ हजार प्रोत्साहन भत्ता पाउँछन् । जिल्लामा अण्डा झण्डा कार्यक्रमका लागि सुआहारा–२ कार्यक्रमले प्राविधिक सहयोग गरेको छ । यो गाउँपालिकामा चार पटक गर्भ जाँच गरेर स्वास्थ्य संस्थामा सुत्केरी भएमा ४ हजार ८ सय रुपैयाँ रकम पाउने छन् ।  

स्वास्थ्य संस्था गएर सुत्केरी भएबापत हिमाली जिल्लामा ३ हजार, पहाडी जिल्लामा २ हजार र तराईका जिल्लाका १ हजार रुपैयाँ सरकारले यातायात खर्च दिने व्यवस्था गरेको छ ।

प्रकाशित: ७ असार २०७८ ०७:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App