coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

संक्रमण बढ्ने चिन्ता

नेपालमा कोरोना संक्रमणदर घट्दै गएको पछिल्ला तथ्यांकले देखाएका छन्। अस्पतालमा सिकिस्त बिरामीको संख्या पनि घट्दै गएको छ। तर लकडाउन खुलेपछि कोरोना संक्रमण फेरि बढ्न सक्ने विज्ञहरूले औंल्याएका छन्।

धुलिखेल अस्पतालका जनस्वास्थ्यविद् डा. विराज कर्माचार्यले लकडाउन खुलेपछि संक्रमण बढ्न सक्ने सम्भावना औंल्याए। ‘तर यसअघिकै दरमा भने बढ्दैन’, उनले थपे। अहिले पनि केही जिल्लामा संक्रमणदर बढिरहेको र लकडाउनपछि ती ठाउँबाट मानिस सहरतिर प्रवेश गरेमा बढ्न सक्ने डा. कर्माचार्यको विश्लेषण छ।  

दोस्रो लहरमा एकैपरिवारका धेरै जनाको मृत्यु भएकाले मानिसहरू थप सचेत बन्दा संक्रमणदर घटेको वीर अस्पतालका फिजिसियन डा. ध्रुव गैरे बताउँछन्। ‘लकडाउन गरेको तीन सातादेखि संक्रमण घट्दै गएकाले लकडाउन खुलेपछि बढ्ने सम्भावना रहन्छ’, उनले भने। ठूला सहरहरूमा एक साता लकडाउन बढाउनुपर्ने डा. गैरेको सुझाव छ। ‘लकडाउन खुल्नेबित्तिकै हिँडडुल बढ्छ। हिँडडुल बढ्नेबित्तिकै संक्रमण बढ्छ’, उनले भने।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार देशका १४ जिल्लामा संक्रमणदर बढ्दो क्रममा रहेको जनाएको छ। मन्त्रालयका अनुसार उदयपुर, तेह्रथुम, पाँचथर, भोजपुर, संखुवासभा, दोलखा, नुवाकोट, रसुवा, बाग्लुङ, मुस्ताङ, रोल्पा, जुम्ला, मुगु, रुकुम पश्चिम, बाजुरालगायतका जिल्लामा संक्रमणदर बढ्दो क्रममा छ।  

मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेल संक्रमण घट्दै जानुमा आवात–जावतमा लगाइएको रोक नै प्रमुख कारण भएको बताउँछन्। संक्रमणदर घट्नेबित्तिकै निषेधाज्ञा खुल्ने हो भने गत वर्षकै जस्तो पुनः ह्वात्तै बढ्न सक्ने उनको भनाइ छ।  

दोस्रो लहरको कोरोना भेरियन्ट गत वर्षको भन्दा कडा र छिटो सर्ने भएकाले यसपटक सबैतिर ह्वात्तै निषेधाज्ञा खोल्न नमिल्ने उनले बताए। ‘हामीले संक्रमणको स्थिति हेरेर मात्र फरक–फरक ठाउँमा निषेधाज्ञा खोल्दै जान्छौं’, उनले भने। संक्रमण नियन्त्रणमा आउन अझै ४ देखि ६ हप्ता लाग्न सक्ने पौडेल बताउँछन्। अहिले नेपालमा संक्रमणदर २० प्रतिशत हाराहारी छ। पाँच प्रतिशतभन्दा कम संक्रमणदर भएमात्र नियन्त्रण भएको मानिन्छ।

नेपालमा दोस्रो लहरमा फैलिएको कोरोना भाइरस भेरियन्ट भारतमा फैलिएको डेल्टा भेरियन्ट रहेको पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जेठ अन्तिम साता जिन सिक्वेन्सिङका लागि भारतको इन्स्टिच्युट अफ जिनोमिक्स एन्ड इन्टिगेरेटेड बायोलोजी प्रयोगशालामा ४८ नमुना पठाएको थियो। ती नमुना वैशाख २० देखि जेठ २० भित्र संकलन गरिएका थिए। ४८ नमुनामध्येमा ४७ वटामा डेल्टा भेरियन्ट भेटिएको थियो। यो भेरियन्ट भारत, नेपालसहित ८० मुलुकमा फैलिसकेको छ। एउटा नमुनामा भने अल्फा भेरियन्ट भेटिएको थियो। यो भेरियन्ट १ सय ६४ मुलुकमा फैलिएको छ। नेपालमा अहिले डेल्टा भेरियन्ट बढी मात्रामा फैलिएको छ।

प्रकाशित: ७ असार २०७८ ०१:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App