८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

कोरोनाको दोस्रो लहरमा एक महिनामा २० वटा जटिल शल्यक्रिया

विश्वव्यापी कोभिड १९ महामारीको दोस्रो लहर शुरु भएयता एक महिनाको अवधिमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा २० जना कोरोना संक्रमितको शल्यक्रिया भएको छ।  

प्रतिष्ठानका अनुसार कोभिडको दोस्रो लहरको बेला गरिएका ती शल्यक्रियाहरु जटिल किसिमका छन्। तीमध्ये अधिकांश जटिल शल्यक्रियाहरु उपत्यकाभन्दा बाहिर वीपी प्रतिष्ठानमा मात्र भएको प्रतिष्ठानको दाबी छ। यो सेवाले प्रदेश नं १ को मात्र होइन, प्रदेश २ का बासिन्दाले पनि ठूलो राहत पाएको प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलले जानकारी दिए। उनका अनुसार दोस्रो लहर शुरु भएयता गत बैशाख २७ गतेदेखि कोभिड अस्पतालमा शल्यक्रिया शुरु गरिएको थियो। जेष्ठ अन्तिमसम्म २० वटा शल्यक्रिया भएको छ।  

प्रतिष्ठानका न्यूरो सर्जन डा.आलोक दाहाल लगायतको टिमले ३ वटा न्यूरोसम्बन्धी जटिल शल्यक्रिया गरेको छ। उनको टिमले अचेत अवस्थामा आएका, आँखा खोल्न नसकेका, टाउकोमा रगत जमेका र हातखुट्टा नचलेका बिरामीहरुको सफल शल्यक्रिया गरेको छ। यस्तै, जनरल सर्जरीबाट प्रा.डा. राकेश गुप्ता, डा.सुरेश प्रसाद साह, डा निर्मल साह, डा.रुपेश प्रसाद साह, डा. भवानी खनाल, डा. विजय श्रेष्ठ लगायतको चिकित्सक टोलीले ७ वटा जटिल किसिमका शल्यक्रियाहरु गरेका छन्।

शल्यक्रियाको क्रममा ४ वटा सानो आन्द्राको शल्यक्रिया, २ वटा एपेन्डिक्सको शल्यक्रिया र १ वटा ठूलो आन्द्राको शल्यक्रिया भएको सहप्रवक्ता डा.पोखरेलले जानकारी दिए।  

प्रतिष्ठानमा १२ इन्च लामो रडले करङको हाडलाई छेडेर फोक्सो र मुटुमा चोट पु¥याएका संक्रमित बिरामीको पनि जटिल शल्यक्रिया गरिएको थियो। कार्डियो भास्कुलर सर्जन डा. लोकेश शेखर जैसवाल तथा जेनेरल सर्जन डा. सुरेश प्रसाद साहको टोलीले उक्त जटिल शल्यक्रिया गरेको थियो।

त्यसैगरी प्रतिष्ठानको नाक, कान, घाँटी विभागका डा. शंकर प्रसाद साह र डा. ऋषिराज साहको टोलीले एक संक्रमित बिरामीको घाँटीमा अड्किएको हड्डी सफलतापूर्वक निकालेको प्रतिष्ठानले जनाएको छ।  

यसैगरि, गाइनो विभागका चिकित्सकहरुले संक्रमित बिरामीहरुको ८ वटा शल्यक्रियामार्फत डेलिभरी गरिएको थियो भने ९ वटा नर्मल डेलिभरी गरिएको प्रतिष्ठानले जनाएको छ। 

प्रकाशित: २ असार २०७८ १३:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App