६ वैशाख २०८१ बिहीबार
स्वास्थ्य

कोभिड–१९ विरुद्धको ‘भेरोसेल’ खोपको व्यापक दुरूपयोग

जेठ २५ गतेदेखि ६० देखि ६४ वर्ष उमेर समूहका लागि देशभरि दिन थालिएको कोभिड–१९ विरुद्धको ‘भेरोसेल’ खोपको व्यापक दुरूपयोग भएको पाइएको छ। उक्त खोप तोकिएको उमेरसमूहबाहेकका व्यक्तिलाई समेत दिएको पाइएको परिवार कल्याण सेवा महाशाखाले जनाएको छ।  

चीनले अनुदानस्वरूप दिएको भेरोसेल खोप सरकारले ६०–६४ वर्ष उमेर समूहका करिब ५ लाख नागरिकलाई लगाइदिने योजनाअनुरूप खोप कार्यक्रम अगाडि बढाएको थियो।

स्थानीय तहका जनप्रतिनिधि, कोभिड–१९ खोप अभियान जिल्ला समन्वय समितिलगायतमा रहेकाहरूबाट उक्त खोपको दुरूपयोग भएको पाइएको महाशाखाका प्रमुख डा. तारानाथ पोखरेलले बताए। स्वास्थ्यकर्मीहरूले फोन गरेर यस्ता खोप दुरूपयोगबारे जानकारी गराएको उनले बताए।

‘नियमबाहिर गएर निर्णय गरी अन्य समूहलाई पनि खोप दिएको देखिएको छ,’ उनले भने, ‘कतिपय व्यापारिक तथा अन्य पेसागत समूहलाई समेत यो खोप दिइएको पाइएको छ।’

काठमाडौं महानगरपालिकाका स्वास्थ्य विभाग प्रमुख हरि कुँवरका अनुसार महानगरपालिकाले जिल्ला जनस्वास्थ्य कार्यालयसँग समन्वय गरी खोप केन्द्र व्यवस्थापन गरेको थियो। वडाहरूमा खोप दुरूपयोग भएको सुनिएपछि दोस्रो चरणको खोप वडाबाट दिने व्यवस्था खारेज गरी राजधानीका चार अस्पताललाई जिम्मा दिइएको उनले बताए। लक्षित समूहभन्दा बाहिरकालाई खोप दिनाले पाका उमेर समूहका व्यक्ति तेस्रो लहरको जोखिममा पर्ने डा. पोखरेलले बताए। तर कति डोज खोप लक्षित समूहभन्दा बाहिरकालाई लगाइयो भन्ने विषयमा तथ्यांक संकलन हुन बाँकी रहेको उनले बताए।

लक्षित समूहभन्दा बाहिरकालाई खोप दिनु भनेको सरकारको नियमविपरीत भएको उल्लेख गर्दै डा. पोखरेलले दुरूपयोग गर्नेविरुद्ध उचित कारबाही हुन सक्ने बताए। ‘लक्षित समूहमा नपरेकालाई पनि खोप दिनाले पाका उमेरका नागरिक महामारीको उच्च जोखिममा पर्ने अवस्था सिर्जना भएको छ,’ उनले भने। नियमविपरीत खोपको दुरूपयोग गर्नेलाई सम्बन्धित निकायहरूले अध्ययन–अनुगमन गरी कारबाहीका दायरामा ल्याउन सक्ने डा. पोखरेलले बताए। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले खोप दुरूपयोगबारे अध्ययन भइरहेको र तथ्यका आधारमा सम्बन्धित कर्मचारी तथा जनप्रतिनिधिलाई नियमअनुसार कारबाही गरिने बताए। ‘दुरूपयोग गरेको प्रमाणका आधारमा नियमअनुसार कारबाही हुन्छ,’ उनले भने।

प्रकाशित: १ असार २०७८ ००:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App