७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

तथ्यांकमा जति घटेको छैन संक्रमण

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा कोरोना संक्रमितको संख्या दैनिक घटिरहेको देखिए पनि वास्तविकता त्यस्तो नरहेको सरोकारवालाले औंल्याएका छन्। धुलिखेल अस्पतालका जनस्वास्थ्यविद् डा. विराज कर्माचार्यले कोरोना संक्रमण घट्दो क्रममा रहे पनि देखिएजति दरमा नघटेको बताए। ‘समुदायमा संक्रमण दर बढी छ’, उनले भने।

कर्माचार्यका अनुसार अहिले परीक्षण संख्या कम रहेकाले समुदायमा भएभन्दा कम संक्रमणदर देखिएको हो। उनी भन्छन्, ‘अहिले न कन्ट्याक्ट ट्रेसिङ छ न समुदायमा धेरै संख्यामा परीक्षण भएको छ। यस्तो अवस्थामा घटिसक्यो भन्न मिल्दैन।’ यकिन संक्रमणदर परीक्षणको दायरा बढाएर मात्र थाहा पाउन सकिने उनको सुझाव छ। यसका लागि सरकारले अहिलेको भन्दा तीन गुणा अर्थात् दैनिक करिब ५० हजार नमुनाको परीक्षण गर्नुपर्ने उनले बताए।

एक सातायता संक्रमण दर दैनिक घटिरहेको देखिएको छ। तर कन्ट्याक्ट ट्रेसिङको अभावमा समुदायमा संक्रमणको अवस्था कस्तो छ, यकिन गर्ने अवस्था नभएकाले संक्रमण घटिहालेको भन्न नसकिने विज्ञले औंल्याएका छन्।

गत २४ घण्टामा नेपालमा संक्रमणदर १९.६ प्रतिशत छ। अघिल्लो दिन यो दर १९.४ प्रतिशत थियो। संक्रमणदर एक सातायता २५ बाट क्रमशः झर्दै १९ मा आइपुगेको हो। गत २४ घण्टामा परीक्षण भएका १४ हजार ८ सय १९ नमुनामध्ये २ हजार ९ सय १८ जनामा कोरोना पुष्टि भएको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसन्धान विभाग संयोजक डा. शेरबहादुर पुनका अनुसार उपत्यकामा लक्षण भएका बिरामीको चाप घट्दै गएकाले कोरोना घट्ने क्रममै छ। तर यसको यकिन कन्ट्याक्ट ट्रेसिङबिना सम्भव नहुनेमा उनले पनि जोड दिए। ‘अहिले पनि लक्षण भएका व्यक्तिमात्र परीक्षणका लागि आइरहेका छन्, बाँकी उनीहरूको सम्पर्कमा आएकाको परीक्षण भएको छैन’, उनले भने। गत वर्षजस्तै तीव्र संक्रमणपछि घट्ने क्रममा गएकाले समुदायमा एन्टीबडी परीक्षण गरेर वास्तविकता पत्ता लगाउन सकिने उनले बताए। ‘कुनै पनि संक्रमण निश्चित समयपछि घट्दै जान्छ तर कुन मात्रामा घटेको छ भन्ने थाहा पाउन एन्टीबडी परीक्षण हुनुपर्छ’, उनले भने।

राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा कन्ट्याक्ट ट्रेसिङ शाखाका अधिकारीहरूले यो वर्ष गत वर्षजति कन्ट्याक्ट ट्रेसिङ नभएको बताए। अहिले पनि देशका १४ जिल्लामा संक्रमणदर बढिरहेको स्थितिमा जोखिम कायमै रहेकाले समुदायमा व्यापक परीक्षण आवश्यक भएको र उपत्यकामा समेत समुदायमा परीक्षण गरिनुपर्ने उनीहरूले बताए। अधिकारीहरूका अनुसार अहिले पनि उपत्यकाका इमाडोल, मध्यपुर ठिमी, बुढानिलकण्ठ, चाँगुनारायण नगरपालिकालगायतका ठाउँमा लक्षणसहितका बिरामीको संख्या उल्लेख्य छ। तर ती ठाउँहरूमा कन्ट्याक्ट ट्रेसिङ भएको छैन। महाशाखाका एक कर्मचारीले भने, ‘सरकारले अनुदानमा सामान आएपछि परीक्षणमा ध्यान दिएको छैन।’

महाशाखाका प्रमुख डा. कृष्णप्रसाद पौडेलले परीक्षणको अनुपातमा संक्रमणदर पनि घटेको हुनाले घट्ने क्रममै रहेको तर जोखिम भने उत्तिकै रहेको बताए। ‘अहिले घटेको भए पनि निषेधाज्ञा खोल्नेबित्तिकै संक्रमण हवात्तै बढ्ने जोखिम छ’, उनले भने। डा. कर्माचार्यका अनुसार सरकारले अब समुदायमा व्यापक परीक्षण गर्ने र घरमा छुट्टै बस्ने ठाउँ नभएका संक्रमितलाई आइसोलेसनको व्यवस्था गर्नुपर्छ। ‘उपचार तथा परीक्षणको तयारी यथावत् राख्ने ताकि पुनः बढेमा नियन्त्रण गर्न सकियोस्’, उनले थपे।

थप ५३ जनाको मृत्यु

गत २४ घण्टामा थप ५३ जनाको मृत्यु भएको छ। यीसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ४ सय ६५ पुगेको छ। तीमध्ये ४ हजार ९ सय ८६ जनाको कोरोना संक्रमणको दोस्रो लहरमा मृत्यु भएको हो। नेपालमा कोरोना संक्रमणको दोस्रो लहर चैत तेस्रो साता सुरु भएको हो। नेपालमा कुल संक्रमितको संख्या ६ लाख ३१ हजार ८ सय ६० पुगेको छ। तीमध्ये ३ लाख ७८ हजार ९१ जना दोस्रो लहरमा संक्रमित भएका हुन्। 

यति बेला ६१ हजार १ सय २२ जनाको होम आइसोलेसन र ४ हजार ६ सय ८२ जनाको संस्थागत आइसोलेसनमा उपचार भइरहेको छ। गम्भीर समस्या भएका ९ सय ९५ जनाको आइसियु र ३ सय २४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

प्रकाशित: १ असार २०७८ ००:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App