१६ चैत्र २०८० शुक्रबार
स्वास्थ्य

शान्ति समाजको आयोजनामा ११ जिल्लामा रक्तदान

विश्व रक्तदाता दिवसका अवसरमा मानव अधिकार तथा शान्ति समाजको आयोजनामा ११ जिल्लामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। नयाँ भेरियन्टसहितको कोभिड कहरका कारण सिर्जित असहज परिस्थितिमा रगतको अभाव हुन नदिनका लागि समाजले आवश्यक सावधानीसहित रक्तदान कार्यक्रम आयोजना गरेको हो। 

प्रत्येक वर्ष १४ जुनमा विश्व रक्तदाता दिवस मनाइन्छ। गोकर्णेश्वर नगरपालिका ७ दक्षिण ढोकास्थित शान्ति बाटिकामा शान्ति समाज काठमाडौँ शाखाले आयोजना गरेको रक्तदान कार्यक्रममा श्रीकृष्णराज पुडासैनी, रुपा भट्टराई, सुर्यमान तामाङ, सविता खनालसहित २७ जनाले रक्तदान गरेका थिए। 

शान्ति समाज नवलपरासी वर्दघाट सुस्ता पश्चिम शाखाद्वारा बर्दघाटमा आयोजित रक्तदान कार्यक्रममा शाखा सभापति सन्तोष अधिकारी क्षेत्रीसहित १८ जनाले र सिरहा शाखाद्वारा लाहानमा आयोजित रक्तदान कार्यक्रममा शान्ति समाजका शाखा सचिव इन्द्रनारायण चौधरी र सदस्य पानालाल दाससहित १५ जनाले रक्तदान गरेका थिए।

शान्ति समाज रौतहट शाखाद्वारा चन्द्रपुरमा आयोजित रक्तदान कार्यक्रममा केन्द्रीय सदस्य गणेश पौडेलसहित १६ जनाले रक्तदान गरे। शान्ति समाज नुवाकोट शाखाद्वारा विदुरमा आयोजित रक्तदान कार्यक्रममा शाखा सभापति नारायण श्रेष्ठसहित आठ जनाले रक्तदान गरेका थिए।

यसैगरी सुर्खेत शाखाद्वारा वीरेन्द्रनगरमा आयोजित रक्तदान कार्यक्रममा डा रेखा रेग्मीसहित २० जनाले र शान्ति समाज चितवन शाखाद्वारा रक्तदाता दिवसकै अवसरमा आयोजित कार्यक्रममा छ जनाले रक्तदान गरेका थिए।  शान्ति समाज ललितपुर शाखा र एकता बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजनामा ललितपुरको नखिपोटमा आयोजित रक्तदान कार्यक्रममा ८४ जनाले रक्तदान गरेका थिए।

 शान्ति समाज रुपन्देही शाखा र नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीको आयोजनामा रुपन्देहीको वुटवलमा सम्पन्न रक्तदान कार्यक्रममा केन्द्रीय सचिव मीना ढकाल, शाखा सदस्य कृष्णप्रसाद पाण्डेसहित २४ जनाले रक्तदान गरेका थिए। शान्ति समाज कपिलवस्तु शाखा र नेपाल रेडक्रस सोसाइटी वाणगङ्गा उपशाखाको संयुक्त आयोजनामा वाणगङ्गामा सम्पन्न रक्तदान कार्यक्रममा ४१ ले रक्तदान गरेका थिए।

शान्ति समाज पर्सा शाखा र युवा समाज वीरगञ्जको आयोजनामा वीरगञ्जमा सम्पन्न रक्तदान कार्यक्रम शान्ति समाजका सभापति प्रेम पटेल, उप सभापति जिनुमाया मानन्धर, सचिव सुनिन्द्र ठाकुर, सदस्य मृतुञ्जय वर्णवाल, बिमल अग्रवाल लगायत ५२ जनाले रक्तदान गरे। शान्ति समाज दाङ शाखाले लामो समयदेखि रक्तदान गर्दै आएका ब्यक्ति र सङ्घ संस्थाको सहभागितामा रक्तदान जीवनदान विषयक भर्चुअल अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। 

प्रकाशित: ३१ जेष्ठ २०७८ १३:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App