४ वैशाख २०८१ मंगलबार
स्वास्थ्य

कोभिड रोकथामका लागि नेपाललाई थप सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान

एम्नेस्टी इन्टरनेशनलले कोभिड–१९ को उपचार र रोकथामका लागि नेपाललाई थप अक्सिजन, कोरोनाविरुद्धको खोप र अत्यावश्यक मेडिकल सामग्रीको तत्काल आवश्यकता रहेको औँल्याएको छ। 

एम्नेस्टी इन्टरनेशनलले आज प्रेस वक्तव्यमार्फत कोभिड–१९ को दोश्रो लहरलाई सामना गर्नुपरिरहेको कठिन अवस्थामा नागरिकको जीवन रक्षाका लागि अन्तर्राष्ट्रिय समुदायले आफ्ना तर्फबाट अक्सिजन, भेन्टिलेटर, खोप र अन्य जीवन बचाउने वस्तुको आपूर्ति तत्कालै उपलब्ध गराउनुपर्ने उल्लेख गरेको हो।यस विषम परिस्थितिमा अवस्थामा नेपालका राजनीतिज्ञले पनि आफ्ना मतभेदलाई अलग राखेर आगामी हप्तामा निर्णायक कदम चाल्नुपर्ने एम्नेस्टी इन्टरनेशनलको भनाइ छ। 

अक्सिजन, सघन उपचार कक्ष, व्यक्तिगत सुरक्षात्मक उपकरण र खोपको अभावमा नेपालका स्वास्थ्य संरचना कोरोना भाइरसको सङ्क्रमणको भारले कमजोर बन्न पुगेका छन्। सो संस्थाले नेपालको न्यून स्रोत साधनयुक्त स्वास्थ्य प्रणालीमाथि कोरोना भाइरसले पारेको प्रभाव र औषधि तथा उपकरणको अभावका कारण अस्पतालका कर्मचारी र कोभिड–१९ का बिरामीले भोग्नुपरेको नतिजाको समेत विश्लेषण गरेको छ। 

दक्षिण एशियाका अन्य देश जस्तै नेपालले पनि खोपको अभावको सामना गरिरहेको उल्लेख गर्दै एम्नेस्टी इन्टरनेशनलले कम र मध्यम आय भएका देशलाई खोपको पहुँचमा सहयोग गर्न अघि बढाइएको कोभ्याक्स कार्यक्रमले आफ्नो प्रतिबद्धता पूरा गर्न नसकेको र धनी राष्ट्रले आफ्नो आवश्यकताभन्दा धेरै खोप सञ्चय गरिरहेको टिप्पणी गरेको छ।

एम्नेस्टी  इन्टरनेशनलका एशिया प्यासिफिक निर्देशक यमिनी मिश्रले खोपमा समतामूलक पहुँच सुनिश्चित गर्न र स्थानीय रूपमा खोप उत्पादनका लागि स्रोत साधन तथा प्रविधिको स्थानान्तरणलाई प्राथमिकीकरण गर्न अन्तर्राष्ट्रिय समुदायले कोभ्याक्स जस्तो विश्वव्यापी संयन्त्रलाई स्पष्ट सहयोग प्रदान गर्नुपर्ने उल्लेख गरेका छन्।

प्रकाशित: ३१ जेष्ठ २०७८ ०७:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App