८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

संक्रमितलाई भरोसा दिन सिडिओ गाउँमा

जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा कोरोना संक्रमितलाई भरोसा दिन गाउँमा बनेको आइसोलेसन सेन्टर र कोभिड अस्पतालमा पुगेका छन्।

उनले तातोपानी गाउँपालिकामा आइसोलेसन सेन्टर, आइसोलेसनमा बसेका संक्रमित र कोभिड अस्पतालको अवस्था बुझेका हुन्। उनी स्वास्थ्य सुरक्षाका सामग्रीसहित आइसोलेसन सेन्टर पुगेका थिए।

प्रमुख जिल्ला अधिकारी थापा स्वास्थ्य सामग्रीसहित पुग्दा स्वास्थ्यकर्मी खुसी भएका थिए। जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका संयोजकसमेत रहेका प्रमुख जिल्ला अधिकारी थापाले पिपिइ र गमबुड २० सेट, सेनिटाइजर ३० बोतल, सेनिटाइजर ५ गेलेन, मास्क एन नाइन्टी फाइभ ५० प्रति, सर्जिकल मास्क ५० बक्स, एलआर थर्ममिटर ५ पिस, फेस शिल्ड ८० पिस, लुज ग्लोब्स ५ पाकेट, सर्जिकल ग्लोब्स ५ पाकेट, सोडिएम हाइडोक्लोराइड सोलुसन ३ गेलेन, सेनेटरी प्याड १० पिस र अक्सीमिटर ४ पिस तातोपानी गाउँपालिकालाई बुझाएका हुन्।  

स्वास्थ्यकर्मीलाई उनले भने, ‘ढुक्कसँग संक्रमितको उपचार र निगरानी गर्नुस्। आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउँछौँ।’ अहिले तातोपानी गाउँपालिकाका दुईवटा आइसोलेसन सेन्टरमा ४७ जना संक्रमित छन्। उनीहरु सबैको अवस्था सामान्य छ। चारजना होम आइसोलेसनमा छन्। १९ जना निको भएर घर फर्किसकेको स्वास्थ्य शाखा तातोपानीले जनाएको छ।  

जिल्लाको तातोपानी गाउँपालिकाको लाम्रास्थित आइसोलेसन सेन्टर र कोभिड अस्पताल र राँका गाउँस्थित आइसोलेसनमा पुगेर संक्रमितको उर्जा थप्ने कार्य गरेका हुन्।  

संक्रमितले स्थानीय सरकारले राम्रो व्यवस्थापन गरेको प्रतिक्रिया दिएका थिए। उनीहरुले आइसोलेसनको व्यवस्थापन र जनप्रतिनिधि र कर्मचारीको खटनपटनप्रति खुसी जनाए।  

आफू दुईपटक संक्रमित भइसकेको अनुभवसमेत सुनाएका उनले भने, ‘तातो झोलिलो पदार्थ खानुहोला, तातोपानी पिउनु होला। शारीरिक व्यायम गर्नुहोला। स्वास्थ्यकर्मी तथा चिकित्सकले दिएको सुझावको पालना गर्नुहोला। कोराना ढुक्कले जितिनेछ।’

जुम्लाको एक नगरपालिका सहित सात वटै गाउँपालिकामा सिडिओ थापाले आफै आइसोलेसन सेन्टर निर्माण व्यवस्थापन र कोभिड अस्पताल सञ्चालनको बिषयमा अनुगमन गरिसकेका छन्। प्रमुख जिल्ला अधिकारी थापा संग जिल्ला प्रहरी प्रहरी प्रमुख डिएसपी दानबहादुर थापा र सशस्त्र प्रहरी प्रमुख एसपी गगन श्रेष्ठ सहभागि थिए।

तातोपानी गाउँपालिका उपाध्यक्ष गंगादेबी उपाध्यायले संक्रमितलाई आइसोलेसन सेन्टरसम्म ल्याउनु चुनौति भएको बताइन्। उनले भनिन्, ‘गाउँपालिकाले सके सम्मको व्यवस्थापन गरेको छ। कोरोना संक्रमण फैलन नदिनको लागि सचेतना फैलाउनुका साथै संक्रमितको उचित हेरविचारका लागि जिम्मेवार रहेको छ।’

प्रकाशित: २६ जेष्ठ २०७८ १०:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App