११ असार २०७८ शुक्रबार
स्वास्थ्य

डेढ वर्षमा तीन स्वास्थ्यमन्त्री, भाइरसका पनि तीन प्रजाति

कोरोना भाइरस गत सय वर्षयताको सबैभन्दा ठूलो महामारी बनेको छ। सन् १९१८ देखि १९२० सम्म विश्वमा फैलिएको स्पेनिस फ्लु ५० करोड मानिसमा संक्रमण भएको थियो भने ५ करोडभन्दा बढीको ज्यान लिएको थियो। सन् २०१९ को अन्त्यदेखि सुरु भएको कोरोना महामारी सोमबारसम्म विश्वमा १७ करोड ३३ लाखमा सरिसकेको छ भने ३७ लाख ३० हजारको ज्यान लिइसकेको छ।  

२०७६ माघ १० मा कोरोना भाइरसको पहिलो संक्रमण पुष्टि भएको नेपालमा हालसम्म ५ लाख ९१ हजार संक्रमित भइसकेका छन् भने ७ हजार ९९० ले अकालमा ज्यान गुमाइसकेका छन्। नेपालमा संक्रमण दर अझै पनि २५ देखि ३० प्रतिशत हाराहारीमा छ। यो दर महामारी फैलावटको हिसाबले उच्च हो। हाल संक्रमण सहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रमा बढी फैलिएको छ। अधिकांश जिल्लामा विगत ८ सातादेखि निषेधाज्ञा जारी छ। पछिल्ला दिनमा कोरोना भाइरसको मृत्युदर १.६ प्रतिशतमा उक्लेको छ।  

जनस्वास्थ्यको यस्तो चरम संकटका बेला स्वास्थ्य मन्त्रालयले नेतृत्वदायी भूमिका खेल्न नसकेको भनी आलोचना भइरहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले महामारी सुरु भएको डेढ वर्र्षमा गत साता तेस्रो स्वास्थ्यमन्त्री नियुक्त गरेका छन्। यसरी महामारी नियन्त्रणमा केन्द्रीय र प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्व महामारीबीच तेस्रो पटक परिवर्तन भएको छ।

गत पुस १० मा नियुक्त भएका स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी ६ महिना नपुग्दै बाहिरिएका छन्। उनलाई गत साता गरिएको मन्त्रिमण्डल हेरफेरका क्रममा शेरबहादुर तामाङले प्रतिस्थापन गरेका छन्। त्यसअघि भानुभक्त ढकालले एक वर्षजति मन्त्रालयको नेतृत्व सम्हालेका थिए।  

नेपालका लागि इतिहासकै सबैभन्दा ठूलो महामारीको यो पृष्ठभूमिमा स्वास्थ्य मन्त्रालयलाई सक्षम र स्थिर नेतृत्वको आवश्यकता हुँदाहुँदै पनि त्यसलाई ‘पंगु र अस्थिर’ बनाउन प्रधानमन्त्री जिम्मेवार देखिएका छन्।

त्यसो त ओलीले ३ वर्षमा ५ पटक स्वास्थ्यमन्त्री फेरेका छन्। संसद्को लगभग दुईतिहाइ सदस्यको समर्थनमा सरकार गठन गरेका प्रधानमन्त्री ओलीले २०७४ चैत २ गते पद्मा अर्याललाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका थिए। अर्यालले मन्त्रीसरहको अधिकार प्राप्त गरेकी थिइन्। अर्यालले एक वर्षभन्दा बढी नेतृत्व सम्हालेपछि २०७५ जेठमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव उपप्रधान तथा स्वास्थ्यमन्त्री नियुक्त भएका थिए। त्यसपछि २०७६ मंसिरमा स्वास्थ्यमन्त्रीको जिम्मा भानुभक्त ढकालले लिएका थिए।  

मन्त्रालयको यो नेतृत्व परिवर्तन महामारी नियन्त्रणमा सक्षम नेतृत्व दिने व्यक्तिको खोजीभन्दा पनि प्रधानमन्त्रीले आफ्नो सत्ता स्वार्थ पूरा गर्नमा केन्द्रित देखिएको छ। विषयगत विज्ञता गौण देखिएको छ। मन्त्रीमात्र होइन, ओली सरकार गठन भएको ३ वर्षयता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आधा दर्जन सचिव फेरिएका छन्।

नेपालका लागि इतिहासकै सबैभन्दा ठूलो महामारीको यो पृष्ठभूमिमा स्वास्थ्य मन्त्रालयलाई सक्षम र स्थिर नेतृत्वको आवश्यकता हुँदाहुँदै पनि त्यसलाई ‘पंगु र अस्थिर’ पार्न प्रधानमन्त्री जिम्मेवार देखिएका छन्। राजनीतिक नेतृत्वले यो संकटका बेला जनसाधारणलाई आश्वस्त पार्न जनस्वास्थ्यसम्बन्धी वैज्ञानिक सूचना र सन्देश दिनुपर्ने हुन्छ र महामारी नियन्त्रणका सरकारी प्रयासमा आम समुदायको विश्वास लिनुपर्छ। तर प्रधानमन्त्री स्वयंले कोरोना महामारीको सुरुमा नेपालीको रोग प्रतिरक्षा शक्तिका बारेमा असंगत सन्देश दिएका थिए, जसले भ्रम सिर्जना भएको थियो। 

परिचित राजनीतिक अनुहारबाट प्रवाह हुने सन्देशको प्रभाव जनसाधारणमा अधिक हुन्छ। दोस्रो लहर देशव्यापी फैलेको हालको अवस्थामा कोरोना नियन्त्रणका लागि प्रमुख विकल्प रहेको खोपको उपलब्धता सुनिश्चित गर्न पनि मन्त्रालयको भूमिका झन् बढेर गएको छ। खोप अभियानको सुरुवाती सफलता अहिले लरबरिएको छ। कोभिड–१९ महामारीमा मन्त्रालय ‘आफैं बिरामी र अस्थिर’ भएको नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष डा. लोचन कार्की ठान्छन्।

‘जनस्वास्थ्यको चरम संकटमा स्वास्थ मन्त्रालयको नेतृत्व बारम्बार फेरिनु लज्जास्पद हो,’ उनी भन्छन्। नेपाल सरकारका पूर्वमुख्यसचिव लीलामणि पौडेल मन्त्रालयको राजनीतिक नेतृत्व असफल देखिएको तर्क गर्छन्। ‘मन्त्रालयको राजनीतिक नेतृत्व महामारी नियन्त्रणमा नेतृत्व दिन र समन्वय गर्न सफल भएको देखिन्न,’ उनी भन्छन्। महामारी सुरु भएयता राष्ट्रको सबै प्रयत्न जनताको जीउ जोगाउन केन्द्रित हुनुपर्नेमा धरहरा उद्घाटन, राजनीतिक सभा आयोजना गर्नेलगायतका अन्य विषयमा केन्द्रित भएको उनको भनाइ छ।

प्रधानमन्त्री ओलीको शासनशैलीप्रति कटाक्ष गर्दै पूर्वस्वास्थ्यमन्त्री तथा प्रशासक विद्याधर मल्लिक नेपाल अहिले निरंकुश शासकको दयामा बाचेको तर्क गर्छन्। ‘हाम्रा यसअघिका स्वास्थ्यमन्त्री पनि विज्ञान र चिकित्सा सेवाका विज्ञबाट निर्देशित हुने गरेका थिएनन्। उनीहरू प्रधानमन्त्रीको असंगत निर्देशनबाट निर्देशित हुने गर्छन्,’ उनी थप्छन्। कोभिड–१९को व्यवस्थापनको हिसाबले विश्वमा नेपाल सबैभन्दा खराब उदाहरण रहेको उनी ठान्छन्।  

सामाजिक सञ्जालमा पनि स्वास्थ्य मन्त्रालयमा भइरहने बारम्बारको नेतृत्व परिवर्तनप्रति आक्रोश र व्यंग्य देखिएको छ। ‘भाइरसमात्र म्युटेन्ट होइन, स्वास्थ्यमन्त्रीको कुर्सी पनि म्युटेन्ट भयो,’ पूर्वसचिव रामेश्वर खनालले ट्विट गरेका छन्। संयोग मान्नुपर्छ, नेपालमा कोरोना महामारी सुरु भएयता ३ जना स्वास्थ्यमन्त्री बनेका छन् भने नेपालमा हालसम्म कोरोना भाइरसका पनि तीन थरी प्रजाति (म्युटेन्ट) भेटिएका छन्।

जनस्वास्थ्यको राष्ट्रिय आपत्का बेला स्वास्थ्य मन्त्रालयमात्र होइन, राज्यका धेरै अंग र निकाय परिचालन हुन आवश्यक हुन्छ। तर मन्त्रालयको नेतृत्व, पैरवी क्षमता र अग्रसरताले धेरै फरक पार्न सक्ने विज्ञ मान्छन्। ‘महामारीको बेला नेतृत्वको मूल्य र महत्व हुन्छ। प्रणाली बसेको ठाउँमा कम महत्व होला तर प्रणाली बसिनसकेको ठाउँमा त झन् यसको महत्व बढी हुन्छ,’ पूर्वमुख्यसचीव पौडेल भन्छन्।

गतसाता स्वास्थ्यमन्त्रीमा नियुक्त भएका तामाङले सोमबार आयोजित पत्रकार सम्मेलनमा आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्ने घोषणा गरे। उनले स्वास्थ्य बिमालाई अगाडि बढाउने, मन्त्रालयका हरेक काम पारदर्शी गर्ने, खोपको प्राप्ति र कार्यान्वयन सरकारको प्राथमिकता हुने बताए। युवा स्वास्थ्यमन्त्रीमा ऊर्जा देखिए पनि महामारी उत्सर्गमा रहेका बेला जनतालाई आश्वस्त पार्ने उनीसँग कुनै योजना थिएनन्, सन्देश थिएन। तैपनि आशा गरौं, आगामी दिनमा भाइरसको उत्परिवर्तित रूप (म्युटेन्ट) र मन्त्रीको संख्याको अंकगणित बढ्नेछैन।

प्रकाशित: २६ जेष्ठ २०७८ ०७:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App