८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

गोरखामा कोरोना खोप थोरै आएपछि स्थानीय तहले अभियान सुरु गर्न सकेनन्

गोरखामा कोरोना खोप थोरै आएपछि अधिकासं स्थानीय तहले मंगलवारबाट खोप लगाउने कार्यक्रम सुरु गरेनन् ।  शहीदलखन गाउँपालिका बाहेकका पालिकामा मंगलवारदेखि पहिलो मात्रा खोप अभियान संचालन गर्न नसकिएको स्थानीय तहको स्वास्थ्य शाखाका प्रमुखहरुले बताएका छन्।  

६० देखि ६५ वर्ष उमेरका दुई हजार भन्दाबढि जनसंख्या रहेको गोरखा नगरपालिकालाई छ सय ७८ मात्रा खोप उपलब्ध भएपछि कसलाई लगाउने भन्ने अन्यौल भएको गोरखा नगरपालिकाका जनस्वास्थ्य निरीक्षक निश्चल अर्यालले बताए । ‘कसलाई लगाउने, कसलाई नलगाउने भन्ने अन्यौल भयो’ उनले भने।  

शहीदलखन गाउँपालिकामा तीन सय ६० जनालाई पुग्ने गरी खोप पठाइएको र नौ वटै वडामा सुरु भएको स्वास्थ्य शाखाका प्रमुख बिरेन्द्र श्रेष्ठले बताए । ‘हामी पुग्ने जतीलाई लगाउनेछौँ’ उनले भने । मंगलवार ६३ र ६४ वर्ष उमेरका एक सय ७३ जनालाई खोप लगाइएको स्वास्थ्य शाखा प्रमुख श्रेष्ठले बताए । यस अघिको अभियानमा छुटेका ६५ वर्ष उमेर माथिकाको संख्या पालिकामा एक हजार पाँच सय भन्दाबढि छ भने ६० देखि ६४ वर्ष उमेरका मानिस एक हजार एक सय छन् ।

अन्य पालिकामा पनि लगाउने मानिसको संख्या भन्दा थोरै खोप स्वास्थ्य कार्यालयले उपलब्ध गराउने भएपछि पालिकाले खोप लगेका छैनन् । अहिले जेष्ठ नागरिकलाई भेरोसिल खोप लगाउन लागिएको हो । यो खोपको दोस्रो मात्रा पनि पुरा गर्नुपर्ने भएकाले प्रदेशबाट अहिले पहिलो मात्रा आएकालाई पुन दोस्रो मात्रा पनि आउने स्वास्थ्य कार्यालयले जनाएको छ ।  

गोरखाको चुमनुब्री गाउँपालिकामा यस अघि ५५ वर्ष उमेर माथिकालाई खोप लगाईसकिएको छ । बाँकी १० वटा पालिकामा ६० देखि ६५ वर्ष उमेरकालाई खोपको पहिलो मात्रा दिने गरी स्वास्थ्य कार्यालयले तथ्याङ्क मागेको थियो ।  ६० देखि ६५ वर्ष उमेरका गोरखामा करिब १३ हजार मानिस रहेका छन् । पुनः स्वास्थ्य कार्यालयले स्वास्थ्य मन्त्रालयको निर्देशन अनुसार ६२ वर्ष देखि ६४ वर्ष उमेरकालाई खोपको पहिलो मात्रा दिन परिपत्र गर्‍यो । त्यो संख्या पनि सात हजार भन्दाबढि हुन आउँछ।

तर गोरखामा खोप तीन हजार चार सय ८३ जनालाई पुग्ने मात्रै आएको स्वास्थ्य कार्यालयका कोल्डचेन निरीक्षक ऋषिराम खत्रीले बताए । ‘६४ वर्ष उमेरका, त्यसपछि ६३ वर्ष भएकालाई प्राथमिकतामा आधारमा लगाउने गरी हामीले स्थानीय तहलाई भनेका छौँ’ उनले भने ‘स्थानीय तहको तथ्याङ्क अनुसार खोप जिल्लामा आएन ।’ बुधवारदेखि केही स्थानीय तहले खोप लैजाने उनले बताए।

प्रकाशित: २५ जेष्ठ २०७८ १३:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App