८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

ताप्लेजुङमा स्वास्थ्य सामग्री वितरण

तीनवटा सामाजिक संस्थाहरु र अगुवा सामाजिक कार्यकर्ताको आर्थिक लगानीमा ताप्लेजुङका ९ स्थानीय तह  र दुर्गम क्षेत्रमा रहेका स्वास्थ्य संस्थाहरुलाई अक्सिजन कन्सन्ट्रेटरसहितका स्वास्थ्य सामग्री वितरण गरिएको छ । यहाँका ९ वटै स्थानीय तह सहित दुर्गम हिमाली गाउँहरु ओलाङ्चुङगोला, घुन्सा र पापुङलाई ति स्वास्थ्य सामग्रीहरु उपलब्ध गराइएको डेभलपमेन्ट फाउण्नेसन अष्ट्रेलिया(एचडीएफए)का नेपाल प्रतिनिधि मिङ्माडण्डु लामाले जानकारी दिए । 

कोरोना संक्रमण गाउँ–गाउँ सम्म फैलिएको अवस्थालाइ मध्यनजर गर्दै पर्याप्त स्वास्थ्य पहुँच नभएका दुर्गम तथा विकट क्षेत्र फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोला र मिक्वाखोला गाउँपालिका–५ पापुङका लागि एक–एक थान अक्सिजन कन्सन्ट्रेटर सहितका स्वास्थ्य सामग्री उपलब्ध गराइएको छ । फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको घुन्सालाई अक्सिजन कन्सन्ट्रेटर बाहेकका स्वास्थ्य सामग्री उपलब्ध गराएको शेर्पाले बताए । ओलाङ्चुङगोला र पापुङका लागि स्थानीय स्वास्थ्य चौकीमार्फत प्रयोग गर्नेगरी अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराइएको छ । ति दुईवटा गाउँ र घुन्सा समेतलाई भिटामिन–‘सी’, भिटामिन–‘डी’, जिङ्क लगायत विभिन्न एन्टिबायोटिक औषघि उपलब्ध गराएको शेर्पाले बताए । 

घुन्सा, ओलाङ्चुङगोला र पापुङ दुर्गम हिमाली क्षेत्रमा गनिन्छन् । शेर्पाका अनुसार फुङ्लिङ नगरपालिका सहित ८ वटा गाउँपालिकालाई विभिन्न स्वास्थ्य सामग्री वितरण गरिएको छ । मिक्वाखोला गाउँपालिका, फक्ताङ्लुङ गाउँपालिका, सिरिजङ्घा गाउँपालिका र सिदिङ्वा गाउँपालिकालाई अक्सिजन कन्सन्ट्रेटरसहित स्वास्थ्य सामग्री उपलब्ध गराइएको उनले जानकारी दिए । फुङ्लिङ नगरपालिका,पाथीभरा याङ्वरक गाउँपालिका,मैवाखोला,मेरिङ्देन र आठराइ त्रिबेणी गाउँपालिकालाई भने अक्सिजन कन्सन्ट्रेटर बाहेकका स्वास्थ्य सामग्री मात्र उपलब्ध गराइएको शेर्पाले बताए । 

उनका अनुसार स्थानीय तह र स्वास्थ्य संस्थाहरुलाई गरी कूल १० हजार थान सर्जिकल मास्क, सेनिटाइजर २ सय ५० लिटर, ह्यान्ड सेनिटाइजर १०० एमएलको ५ सय  थान, टप ग्लोब्स (पञ्जा) ५० बट्टा वितरण गरिएको छ । त्यस्तै पीपीई स्पेशल ५० थान, थर्मलगन ४५ थान, अक्सिमिटर ४५ थान, फेस सिल २ सय  थान, एन–९५ मास्क ५ सय थान र अन्य भिटामिन, एन्टिबायोटिक औषधि समेत वितरण गरिएको शेर्पाले जानकारी दिए ।  उनका अनुसार ताप्लेजुङ जिल्ला अस्पताललाई ३ थान अक्सिजन कन्सन्ट्रेटर प्रदान गरिएको छ । जिल्लाका विभिन्न स्थानीय तह र स्वास्थ्य संस्थालाई वितरण गरिएका अक्सिजन कन्सन्ट्रेटरमध्ये ४ थान हिमालयन डेभलपमेन्ट फाउण्नेसन अष्ट्रेलिया र बाँकी ६ थान डाँफे फाउन्डेसन युएसए र नेपाल क्रिटिकल केयर डेभलपमेन्ट फाउन्डेसन (एनसीसीडीएफ) को सहयोग तथा काठमाडौंमा बस्दै आएका ओलाङ्चुङगोला निवासी दावाशम्बु शेर्पाको समन्वयमा प्राप्त भएको पनि एचडीएफएका नेपाल प्रतिनिधि शेर्पाले जानकारी दिए ।  

प्रकाशित: २५ जेष्ठ २०७८ ११:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App