८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

जब वुहानको झल्को दियो !

दोस्रो लहरले उत्कर्षको बाटो तताउँदै थियो। हरेक घण्टाजसो एकपछि अर्को एम्बुलेन्सको साइरन बजिरहेको सुनिन्थ्यो। जति एम्बुलेन्स भित्रिने क्रम जारी रहन्थ्यो, त्यति आकस्मिक कक्षका शड्ढया पनि थपिने क्रम बढ्दै जान्थ्यो। आकस्मिक कक्षभित्र शड्ढया थप्ने ठाउँको अभाव हुन थालेपछि बाहिर राखेर भए पनि उपचार सुरु हुन थाल्यो। भुइँमा राखेर उपचार गर्न समस्या हुन थालेपछि कुर्सीमा राखेर भए पनि उपचार सुरु भयो। अस्पतालको क्षमताभन्दा बढी बिरामी राखेर यस्तो अवस्थासम्म अस्पतालपरिसर भित्रिएका जति बिरामीलाई सकेसम्म फर्काउने गरिएन। लेखकले अस्पतालको सो अवस्थालाई मानव र भाइरसबीच भएको महायुद्धसँग तुलना गरेका थिए। 

लेखक अरू स्वास्थ्यकर्मीसँगै आकस्मिक कक्षमा थिए। त्यहाँ एक संक्रमित वयस्क छातीको एक्स–रे गर्न आफैं सवारी चलाएर आएका रहेछन्। सामान्य अवस्थामा आइपुगेका ती संक्रमित अचानक ढले। आकस्मिक कक्षका स्वास्थ्यकर्मीद्वारा बिरामीको तुरुन्त उपचार गरियो र केही घण्टापछि होसमा आए। हिँड्दाहिँड्दै ढलेका अरू पनि थुप्रै संक्रमित देखिरहँदा लेखकलाई ‘वुहानको झल्को’ दिइरहेको थियो। चीनमा कोरोना महामारी हँुदा मानिसहरू हिँड्दाहिँड्दै ढलेका अपत्यारिला जस्ता लाग्ने दृश्यहरू विभिन्न सामाजिक सञ्जालमा देखेको थिएँ।

धेरैले सायद दोस्रो लहर आउँदैन वा पहिलो लहरजस्तो जटिल हुँदैन भनेर सोचेका थिए। लेखकले दोस्रो लहरको सम्भावना व्यक्त गर्दैगर्दा धेरैले आशंकासमेत व्यक्त गर्ने गर्दथे। फलस्वरूप, जनस्वास्थ्यका मापदण्ड पालना गर्नेतिर कसैको ध्यान देखिएन। यसैबीच बेलायतमा देखिएको नयाँ ‘अल्फा भेरिएन्ट’ नेपालमा पनि देखा पर्‍यो। नेपालले बेलायतसँगको हवाई आवतजावत बन्द गरेको तर नेपाल–भारत खुला सिमानाका कारण नयाँनयाँ भेरिएन्ट भित्रिन सक्ने भए पनि सोको रोकथामको पूर्वतयारीप्रति पर्याप्त ध्यान दिइएन। भारतमा अल्फा, बेटा र गामा भेरिएन्टका कोरोना भाइरसहरू देखा परिसकेका थिए। लेखकले योबाहेक भारतमै पनि नयाँ भेरिएन्टका भाइरसको विकास हुनसक्ने आशय लेखहरूमार्फत पनि प्रकट गर्दै आइरहेका थिए। भारतमा कोरोना भाइरसको ग्राफ तीव्र गतिमा उकालो लाग्ने र ठूलो संख्यामा संक्रमितको मृत्यु हुने क्रममा भाइरसको स्वरूप (जिनोम सिक्वेनसिङ) परीक्षण गरिएको थियो। सो परीक्षणमा कोरोना भाइरसको नयाँ भेरिएन्ट पत्ता लाग्यो।

विशेषतः मधुमेहका बिरामीलाई ‘कालो ढुसी’को समस्या देखिएको छ। दोस्रो लहरमा धेरै मानिस सिकिस्त भए र एस्टेरोइडजस्ता औषधि जथाभावी चिकित्सकको परामर्शबिनै प्रयोग गर्दा वा अस्पतालमै पनि लामो समय प्रयोग गर्दा ‘कालो ढुसी’को समस्या देखिँदै गएको भनिएको छ। कालो मात्र नभएर ‘सेतो ढुसी’को समेत समस्या देखिएको छ।  

हाल यसलाई बि.१.६१७ को नामले चिनिन्छ। नेपालगन्जमा कोरोना भाइरसले तहल्का मच्चाएपछि काठमाडौंमा समेत हुबहु त्यस्तै अवस्था देखिँदा लेखकको मनमा भने कुन भेरिएन्टले नेपालमा दोस्रो लहरलाई ड्राइभ गरिरहेको होला भन्ने जिज्ञासा रहिरह्यो। यसैबीच स्वास्थ्य मन्त्रालयले थप नयाँ भेरिएन्टको पुष्टि गर्‍यो, जसलाई हाल डेल्टा र कापा भेरिएन्टको नाम दिइएको छ। डेल्टा भेरिएन्ट सबैभन्दा बढी देखिएकाले दोस्रो लहरको प्रमुख कारक पनि यही भेरिएन्टलाई मानिएको छ। यो भेरिएन्टलाई ‘भेरिएन्ट अफ कन्सर्न’ को क्याटगेरीमा राखिएको छ। परीक्षण, उपचार, भ्याक्सिनलाई चुनौती दिँदै तीव्र गतिमा फैलने र घातक सिद्ध भए ‘भेरिएन्ट अफ कन्सर्न’ को क्याटगेरीमा राखिने गरिन्छ। हाल नेपालमा अल्फा र डेल्टा गरी दुईओटा ‘भेरिएन्ट अफ कन्सर्न’ क्याटगेरीका कोरोना भाइरस पुष्टि भइसकेका छन्।

दोस्रो लहरमा कोरोना भाइरस तीव्र गतिमा फैलँदा धेरै मानिस संक्रमित भएको थाहै पाएनन्। पहिलोभन्दा दोस्रो लहरमा परिवारका अधिकांश सदस्य संक्रमित भए।  

संक्रमितमध्ये धेरैजना अस्पताल भर्ना हुनुपर्ने अवस्था सृजना भएको थियो तर अस्पतालमा शड्ढयाको सीमितताले गर्दा होम आइसोलेसनमै बस्नुपर्ने बाध्यता भयो। जटिल अवस्था देखिँदासमेत उपचार हुनबाट वञ्चित र कतिपयले अस्पतालमा उपचार गर्ने मौका पाए पनि मृत्युको संख्या पहिलो लहरमा भन्दा बढी देखिन्छ। यसबाट अचानक जटिल अवस्था देखिने समस्या र हालको उपचार पद्धतिमै चुनौती देखिँदा मानिसको मृत्यु भएको देखिन्छ। होम आइसोलेसनमा रहँदा निरन्तर चिकित्सकको सम्पर्कमा रहनुपर्ने तथा दोस्रो लहरसम्म आइपुग्दा उपचार पद्धतिमा समेत सुधार गर्नु पर्ने देखिन्छ।

दोस्रो लहरमा फंगल इन्फेक्सन अर्को चुनौती बनेर आएको देखिन्छ। हाल ‘कालो ढुसी’को नामले परिचित फंगल इन्फेक्सन नेपालमा पनि देखिन सुरु भइसकेको खबर आउन थालेको छ। भारतमा कोभिड–१९ को उपचारपश्चात् हजारौंमा ‘कालो ढुसी’का समस्याहरू देखा परेका थिए। विशेषतः मधुमेहका बिरामीलाई ‘कालो ढुसी’को समस्या देखिएको छ। दोस्रो लहरमा धेरै मानिस सिकिस्त भए र एस्टेरोइडजस्ता औषधि जथाभावी चिकित्सकको परामर्शविनै प्रयोग गर्दा वा अस्पतालमै लामो समय प्रयोग गर्दा ‘कालो ढुसी’को समस्या देखिँदै गएको भनिएको छ। कालो मात्र नभएर ‘सेतो ढुसी’को समेत समस्या देखिएको छ। कतिपय कोभिड–१९ का बिरामी डिस्चार्जपछि पनि मृत्यु हुने वा फर्केर फेरि आइसियु पुग्नु परेका घटना बढ्दै गइरहेका छन्। ब्याक्टेरियल वा अरू संक्रमण नभएर ढुसी वा फंगल इन्फेक्सन नै किन बढी देखिँदै छ भन्ने जिज्ञासाको उत्तर पाउन अनुसन्धानको आवश्यकता देखिन्छ। यसको कारण थाहा पाए मात्र फंगल इन्फेक्सनलाई सुरुमै रोक्न वा हुनै नदिने उपाय अवलम्बन गर्न सकिने छ। कोभिड–१९ को उपचारपछि पनि थप नयाँनयाँ संक्रमणका जोखिम दोस्रो लहरमा देखिँदा आफ्नो स्वास्थ्यको ख्याल निरन्तर राख्न पर्नेछ।

लेखकले कोभिड–१९ ले सिकिस्त भएका बिरामीसँग अन्तरक्रिया गर्दा विभिन्न कारणले गर्दा भ्याक्सिन नलगाएकाहरू नै देखिएका थिए। उनीहरूमध्ये एक मात्रा डोज लगाएकाहरू पनि थिए तर उनीहरू भ्याक्सिन नै नलगाएकाहरूभन्दा छिटो सुधारोन्मुख भएका देखिन्थे। अस्पतालको फिबर क्लिनिकमा कोरोना पोजेटिभ भएर आएकालाई पनि प्रश्न गर्दा भ्याक्सिन लगाएकाहरूमा कोरोनाको प्रभाव कम देखिन्थ्यो भने नलगाएकाहरूमा कोरोनाका लक्षण अलि कडा देखिन्थे। अमेरिकाको सिडिसीले प्रकाशित गरेको तथ्यांकअनुसार पनि भ्याक्सिन लगाएकाहरूमा अस्पताल भर्ना हुने प्रतिशत १० मात्र थियो। अरू विभिन्न देशहरूको तथ्यांकले पनि भ्याक्सिन लगाउँदा कोरोनाबाट हुने मानवीय क्षति वा जटिल अवस्थालाई रोक्ने देखाएको छ। दोस्रो लहर आउनुभन्दा अगाडि पनि धेरैले भ्याक्सिन लगाउन पाएको भए ‘वुहानको झल्को’ दिने त्यो अवस्था आउने/देखिने थिएन होल।

हिँड्दाहिँड्दै बिरामी ढलेको झल्को लेखकका लागि त्रासदपूर्ण भए पनि स्वस्थ सतर्कताका साथ केही तयारी अवलम्बन गर्नसके त्यस्तो अवस्था फेरि फेरि दोहोरिने छैन। चीनमा कोरोना भाइरस महामारीको सुरुवातीतिर त्रासदपूर्ण अवस्थाहरू देखिएको भए पनि हाल स्थिति पूर्ण रुपमा बदलिसकेको छ। चीनको महामारी नियन्त्रणलाई विश्वले नमुनाको रुपमा लिने गर्दछ। हाल वुहानमा लकडाउन, निषेधाज्ञा छैन, नागरिक आ–आफ्नो दैनिकीमा फर्किसकेका छन्। अर्थात् कोरोनाकालको अवस्थाभन्दा अगाडिको दिनचर्यामा फर्किसकेका छन् र फर्कन सकिने रहेछ भन्ने यो एउटा राम्रो उदाहरण पनि हो। यसको मुख्य कारण भनेको व्यापक टेस्ट, तीव्र कन्ट्याक्ट ट्रेसिङ, संक्रमितलाई छुट्याएर आइसोलेट गर्ने कार्य नै मुख्य थिए भने ७६ दिने लकडाउनलाई पनि अत्यधिक कडा बनाइएको थियो। 

छोटो समयमा अस्पताल/उपचार केन्द्र (अस्थायी) बनाउने, तत्काल उपचार नचाहिने बिरामीलाई पछि बोलाउने, फिबर क्लिनिक आदिलाई व्यापकता दिएका थिए। ल्यानसेट मेडिकल जर्नलमा प्रकाशित लेखअनुसार सो समय चीनभर विशेषतः सार्वजनिक यातायात/स्थानमा १४ हजार स्वस्थ चेक पोस्ट खडा गरिएको थियो। लेखकलाई चीनबाट फर्केका विद्यार्थीले कोठाबाट बाहिर जाँदा/फर्कंदा, सार्वजनिक स्थानहरूमा, एरपोर्ट ट्रान्जिटमा त्यहाँका स्वास्थ्य अधिकारीले निरन्तर ज्वरो नाप्ने गरेको बताएका थिए।

तेस्रो लहरको चर्चा सुरु भइसकेको छ। नयाँनयाँ भेरिएन्टहरू नदेखिएला भन्न सकिँदैन। र यो प्राकृतिक/स्वाभाविक पनि हो तर तेस्रो लहरभन्दा अगाडि कोरोना नियन्त्रणमा सफल मानिएका देशहरूको उदाहरणलाई आफूसँग भएका स्रोतसाधनको आधारमा प्रयोग गर्नु पर्दछ। अझ भ्याक्सिन प्रयोगले अस्पताल भर्ना हुने संख्यालाई नै ह्वात्तै घटाउन सक्दोरहेछ भन्ने यथार्थता दोस्रो लहरमा लेखकले अब्जरभेसन गर्दा देखेको थियो। तसर्थ लेखक कोरोनाको तेस्रो लहर आइपुगे दोस्रोमा जस्तो फेरि ‘वुहानको झल्को’ दिने दृश्य नदोहोरियोस् भन्नेमा छ, तर त्यसका लागि समुदायमा धेरैभन्दा धेरैलाई भ्याक्सिन लगाउन पर्ने हुन्छ। यसर्थ, अहिले सबैको ‘अर्जुन दृष्टि’ भनेको भ्याक्सिन ल्याउनु र लगाउनुमा हुनुपर्दछ।

(संयोजक, क्लिनिकल रिसर्च युनिट शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल)

प्रकाशित: २५ जेष्ठ २०७८ ००:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App