८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

बाँकेमा निषेधाज्ञा जेठ ३१ गतेसम्म थपियो

दोस्रो चरणको कोरोना महामारी नियन्त्रणका लागि बाँकेमा लगाइएको निषेधाज्ञाको समय पुनः थप गरिएको छ। जिल्ला प्रशासन कार्यालय बाँकेले सोमबार एक सूचना प्रकाशित गरी यही जेठ ३१ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरेको हो। दोस्रो चरणमा कोरोना महामारीको संक्रमण तीव्ररुपमा फैलिएपछि जिल्ला प्रशासन कार्यालयले गत वैशाख ९ गतेबाट नेपालगन्ज उपमहानगरपालिका क्षेत्रभित्र र त्यसपछि बैशाख १३ गतेबाट जिल्लाभर निषेधाज्ञा लागु गरेको थियो।  

कोरोना महामारीको संक्रमण कायमै रहेकाले निषेधाज्ञाको समय थप्नु परेको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए। ‘महामारीको संक्रमण अझै कायमै छ, त्यसकारण निषेधाज्ञाको समय थप्ने निर्णय गरेका हौं,’ उनले भने। कोभिड–१९ संक्रमण फैलावटको साङ्लो तोड्न र सो को रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाउन नेपाल सरकार मन्त्री परिषदको निर्णय, संक्रामक रोग ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) बमोजिम निषेधाज्ञा जारी गरिएको स्थानीय प्रशासनले जनाएको छ। 

बाँके जिल्लाभर गत बैशाख १३ गतेदेखी निषेधाज्ञा जारी गर्ने आदेशलाई जेठ २४ गते राती १२ बजेसम्म निरन्तरता दिइएकोमा जोखिमको अवस्था कायम नै रहेकाले उक्त आदेशलाई उल्लेखित कानुनी आधार एवं कोभिड १९ संकट ब्यवस्थापन अध्यादेश, २०७८ को दफा ४ बमोजिम पुनः ३१ गते राती १२ बजेसम्मका लागि निरन्तरता दिइएको सूचनामा जनाइएको छ।  

स्थानीय प्रशासनले निषेधाज्ञा जारी राखेपनि यसको प्रभावकारिता भने देखिएको छैन । बाँकेको नेपालगन्ज, कोहलपुर लगायत स्थानमा निर्वाध रुपमा सवारी साधनको आवत जावत तथा नागरिकहरुको भिडभाड हुने गरेको छ। स्थानीय प्रशासनले निषेधाज्ञा लम्ब्याएपनि कडाई नगर्दा कोरोना संक्रमणको जोखिम बढिरहेको नागरिक अगुवा बताउँछन्।  

निषेधाज्ञाका क्रममा स्वास्थ्य, शान्ति सुरक्षा, बिद्युत, दुरसञ्चार, खानेपानी, फोहोरमैला ब्यवस्थापन, ग्याँस, पेट्रोलियम पदार्थ, तरकारी, खाद्य तथा दुग्ध पदार्थ, औषधी पसल, बैंक तथा बीमा जस्ता अत्यावश्यक सेवाहरु कृषि कार्य, वीउबिजन तथा विषादी र कृषि औजार बिक्री, वितरण, सार्वजनिक निर्माण कार्य गर्न पाइने स्थानीय प्रशासनले जनाएको छ।  

यस्तै एम्बुलेन्स, शव वाहन, दमकल, झण्डावाल सवारी र निलो (कुटनितिक) प्लेटका सवारी साधन, माल बाहक साधनहरु, निर्माण सामाग्री ढुवानीका साधनहरु, अत्यावश्यक सेवा सञ्चालनमा खटिएका जनशक्तिले प्रयोग गरेका सवारी साधनहरु, अनुमति प्राप्त सवारी साधन सञ्चालन गर्न दिइएको छ।  

उल्लेखित सेवा एवं कार्यमा संलग्न कर्मचारी÷ब्यक्तिहरुले अनिवार्य रुपमा कर्मचारी परिचय पत्र एवं अन्य सान्र्दभिक कागजात साथमा राखेको हुनुपर्नेछ, साथै मास्क, भौतिक दुरी लगायत जनस्वास्थ्यका मापदण्डको अनिवार्य पालना गरी दैनिक उपभोग्य बस्तुका पसल ब्यवसाय बिहान ७ बजेदेखी १२ बजेसम्म मात्र सञ्चालन गर्न पाइने सूचनामा उल्लेख छ। उक्त आदेशको अवज्ञा वा अवहेलना गर्ने वा काममा बाधा पुर्‍याउने व्यक्तिलाई प्रचलित कानुन बमोजिम कारबाही हुने चेतावनी दिइएको छ।

प्रकाशित: २४ जेष्ठ २०७८ १३:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App