coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

चुरोट पिउनेलाई कोरोनोको बढी असर

कोरोना भाइरसले जुनसुकै उमेर समूहका मानिसलाई असर गर्छ। तर चुरोटलगायत कुनै पनि धूमपान गर्ने व्यक्तिलाई यसले संक्रमणको अवस्थामा थप जटिल बनाउने चिकित्सकले बताएका छन्। गत सोमबार विश्व धूम्नपान दिवसको अवसरमा राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, एक्सन नेपाल र द युनियनद्वारा आयोजित भर्चुअल कार्यक्रमका सहभागीहरूले यस्तो बताएका हुन्।

सिभिल अस्पतालका श्वास–प्रश्वास तथा छातीरोग विशेषज्ञ डा. विदेश विष्टले कोरोना संक्रमणले सबैभन्दा बढी चुरोट सेवनकर्तालाई असर गर्ने बताएका थिए। उनका अनुसार चुरोट सेवन गर्नेहरूमा चुरोटमा भएको निकोटिन, धुँवा र क्यान्सरजन्य तत्व, फोक्सोको भित्तामा फाइब्रोसिस (घाउ) निकोटिनका कणहरू जमेर बसेका हुन्छन्। जुन तत्वले फोक्सोलाई तनाव बनाई कमजोर बनाइसकेको हुन्छ र स्वस्थ फोक्सो नष्ट भइसकेको हुन्छ।

यस्तो व्यक्तिमा कोरोना भाइरसको संक्रमण भएमा बाहिरको भाइरसलाई फोक्सोले प्रतिरोध गर्न नसकी भाइरसले बाँकी स्वस्थ फोक्सोको भाग पनि सजिलै नष्ट गर्न सक्छ। ‘चुरोट सेवन नगरेका व्यक्तिको तुलनामा गरेकाहरूमा कोरोनाले बढी असर गर्ने सम्भावना हुन्छ,’ डा विष्टले भने।  

उपचारमा आएका कोरोना संक्रमितमध्ये बढी मात्रामा दमका बिरामी छिटो सिकिस्त हुने र छिटो मृत्यु हुने गरेको पाइएको टिचिङ अस्पताल महाराजगंजका श्वास–प्रश्वास तथा छातिरोग विशेषज्ञ डा. निरज बम बताउँछन्। उनका अनुसार नेपालमा दम हुनुको कारण सबैजसो दमरोगीले धूमपान गरेको पाइन्छ। चुरोट सेवनको कारण उनीहरूको श्वास–प्रश्वास नलीमा दाग हुने, सुन्निने र कमजोर हुन्छ। यसका साथै यस्ता बिरामीको फोक्सो पनि पहिले नै कमजोर भइसकेको हुन्छ। यस्ता व्यक्तिमा कोभिड संक्रमण भएमा लक्षण छिटो देखिने र निमोनिया भएमा निको हुन पनि गाह्रो हुन्छ। 

यस्ता व्यक्तिबाट कोरोना अरुमा पनि छिटो सार्ने सम्भावना हुन्छ। चुरोट सेवन गर्ने व्यक्तिमा शरीरको प्रतिरक्षा प्रणाली पनि कमजोर भइसकेको हुनाले पनि कोरोना संक्रमणले बढी असर गर्ने डा. बमले बताए। अस्पतालमा कोरोना संक्रमणबाट मृत्यु हुनेमा पहिल्यै श्वास–प्रश्वासका रोग भएका व्यक्ति बढी रहेको चिकित्सकहरूको अनुभव छ। गत वर्ष चीनमा पहिलो पटक कोरोना संक्रमण हुँदा भएका अध्ययनले कोभिड भाइरसले श्वास–प्रश्वासका बिरामीमा बढी असर गरेको औंल्याएका थिए। 

शुक्रराज सरुवा रोग अस्पतालका अनुसन्धान विभाग संयोजक डा. शेरबहादुर पुनका अनुसार कोरोना भाइरसको पहिलो लक्ष्य नै फोक्सोमा पुग्नु भएकाले फोक्सो कमजोर भएका व्यक्तिमा बढी असर गर्ने बताए। अध्ययनले चीनमा महिलाको तुलनामा पुरुषको बढी मृत्यु हुनुमा पुरुष बढी धूमपान प्रयोग गर्ने गरेको पाइएको थियो। चिकित्सकका अनुसार धूमपान प्रयोग गर्नाले मुख, श्वासनली, फोक्सो, आन्द्रा, पेट, प्यानक्रियाजलगायत अंगको क्यान्सर हुन्छ नै। त्योसँगै हृदयघात, मस्तिष्कघात र खुट्टामा ग्याँग्रिन हुनेजस्ता जटिल समस्या निम्ताउने वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलले बताए। 

डा.अनिलका अनुसार चुरोटमा हुने खराब तत्वले रक्तनलीमा विभिन्न हर्मोन बढाउँदै जान्छ। रक्तनलीमा हुने यस्ता तत्वले रगतका नली साँघुरा हुँदा मुटु तथा रक्तनली खुम्चाएर साँघुरो बनाउँछ। साँघुरो भएपछि सम्बन्धित अंगमा अक्सिजन तथा पोषणको कमी हुन्छ। यी नली साँघुरिएमा मस्तिष्क, हातखुट्टा र रक्तनलीमा अवरोध भई हृदयघात, मस्तिष्कघात र ग्याँग्रिन हुन्छ। आजको वातावरणमा प्रदूषित वातावरणले मुटुमा समस्या बढाइरहेको बेला धूमपान प्रयाग गरेमा स्वास्थ्यमा सकस हुने डा. ओममूर्ति बताउँछन्। उनी भन्छन्, ‘कसैले धूमपान गरिराख्नुभएको छ भने आजै छोडिहाल्नुहोस्।’ अन्य चिकित्सकले थाहा पाउनेबित्तिकै धूमपान छोडेमा बाँकी समय मुटु र फोक्सो स्वस्थ राख्न सकिने सुझाए।  

नेपालमा धेरैजसो नसर्ने रोग धूमपानको कारणले बढिरहेको अध्ययनहरूले औंल्याएका छन्। दक्षिण एसियामा हरेक वर्ष १७ लाख मानिसको मृत्यु धूमपानजन्य रोगका कारणले हुन्छ। त्यस्तै नेपालमा प्रतिवर्ष २७ हजारको मृत्यु सूर्तिजन्य पदार्थ सेवनको हुने अध्ययनको तथ्यांक छ। नेपालमा सूर्तिजन्य पदार्थको प्रयोग गर्नेहरू ३७ लाख ४५ हजार जना १५ वर्ष भित्रका छन् भने २१ हजार १० देखि १४ वर्षभित्रका बालबालिका रहेको तथ्यांकले बताएको छ।

नेपालमा सूर्तिजन्य पदार्थ नियन्त्रणमा कानुन बने पनि पूर्ण रूपले कार्यान्वयन नहुनाले समस्या यथावत् रहेको सरोकारवालाले जनाएका छन्। सो कार्यक्रममा बोल्दै पूर्वस्वास्थ्यमन्त्री खगराज अधिकारीले कानुनको प्रभावकारी कार्यान्वयन नहुँदा सूर्तिजन्य पदार्थ सेवन नियन्त्रण हुन नसकेको बताए। हामीले १० वर्षअघि बनाएका कानुन अहिलेसम्म कार्यान्वयन गर्न किन सकेनौं भन्ने प्रश्न गर्दै उनले राज्यले आफूले बनाएको कानुन कार्यान्वयन गर्न नसक्नु आफैंमा लज्जास्पद भएको बताएका थिए।

प्रकाशित: २० जेष्ठ २०७८ ०२:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App