७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

बुटवलको जितगढीमा ५० शैयाको कोभिड अस्पताल संचालन

बुटवलको जितगढीमा ५० शैयाको कोभिड अस्पताल सञ्चालनमा आएको छ । बुटवल १३ जितगढीमा रहेको निजी अस्पताल एडमण्ड सिटी अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गरीएको हो ।  

कोभिड–१९ को महामारीलाई लक्षित गरी ५० बेडको अस्पतालाई कोरोना अस्पताल बनाइएको अस्पतालका अध्यक्ष प्रकाश रानाले जानकारी दिए । अस्पतालमा भेन्टिलेरसहित ८ शैयाको आईसियू, ७ शैया एचडियू बेडसहित ३५ शैयाको आइसोलेसन वार्ड छ । कोभिड अस्पतलामा कन्सल्ट्यान्ट फिजिसियन ४ जना, मेडिकल अफिसर १० जना, नर्स ३८ जना, प्यारामेडिक्स २२ जनासहित १४० जना जनशक्ति अस्पतालमा कार्यरत रहेको अध्यक्ष रानाले जानकारी दिए । सरकारी मापदण्ड पूरा गरी संचालनमा ल्याइएको अस्पतालमा फिभर क्लिनिक, इमर्जेन्सी सेवा, प्रयोगशाला, एक्सरे तथा फार्मेसी सेवा २४ घण्टा सञ्चालन गरीने छ । मंगलबारदेखि अस्पतालको सेवा सुभारम्भ भएको छ ।  

‘महामारीका बेला बेड र अक्सिजन नपाएर सर्वसाधारणले ज्यान गुमाउन नपरोस भन्ने हाम्रो मुख्य उद्देश्य हो’, अध्यक्ष रानाले भने । निजी अस्पताल भएपनि तोकिएको भन्दा महंगो शुल्क नलिने उनले बताए । पछिल्लो समय कोभिड १९ का बिरामीको संख्या केही घटेपनि जोखिम नहटीसकेकाले अस्पतालमा कोरोना उपचार सेवा सुरु गरीएको उनले बताए ।  

महामारी नियन्त्रणमा आएपछि अस्पतालमा ट्रमा, न्युरो तथा क्यान्सर रोग उपचार केन्द्रका रुपमा विशेषज्ञ सेवा संचालनमा ल्याइने अस्पतालले जनाएको छ । भौतिक पूर्वाधार बाहेक उपकरण र तीनको व्यवस्थापनमा मात्रै ३ करोड खर्च भएको अस्पताल प्रशासनले जनाएको छ । एक बिगाह क्षेत्रफलमा निर्माण गरीएको अस्पतालले २०६७ सालमा नेपाल सरकारबाट ५० शैयाको अस्पतालको सम्बन्धन स्वीकृति प्राप्त गरेको हो ।

प्रकाशित: १८ जेष्ठ २०७८ १२:३५ मंगलबार

कोभिड अस्पताल कोभिड–१९ को महामारी