जिल्लावासी कोभिड संक्रमितको मुख्य उपचार थलो उदयपुर जिल्ला अस्पतालका प्रमुख र २ डाक्टरसहित १९ जना संक्रमित भएका छन् । अस्पताल प्रमुख मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. जीवनारायण मण्डलसहित ३ डाक्टर, ७ नर्स, ४ जना प्रशासनतर्फका कर्मचारी, ३ जना कार्यालय सहयोगी र अन्य ३ जनामा संक्रमण भएको हो ।
जसमध्ये मेसु, ५ नर्स, ३ प्रशासन कर्मचारी र अन्य ३ जना निको भईसकेका छन् भने ७ जना संक्रमित होमआईसोलेसनमा उपचाररत रहेको डा. मण्डलले बताए । जेठ पहिलो साता शरीर र टाउको दुख्ने लक्षण देखिएपछि पिसिआर जाँच गराउँदा आफूमा संक्रमण पुष्टि भएर होमआईसोलेसनमा बसेको १० दिनपछि डा. मण्डलको स्वाबको रिपोर्ट सोमबार नेगेटिभ आएको हो ।
उनीसँगै ५ नर्स र प्रशासनका ३ कर्मचारीको स्वाब पनि नेगेटिभ आएपछि अस्पतालको सेवा सहज भएको छ । संक्रमित २ मेडिकल अधिकृत, २ नर्सलगायत ७ जना अझै आईसोलेसनमा बस्नु पर्दा कोभिड बिरामीले सहज उपचार पाउन सकिरहेका छैनन् । बिरामीको उपचारमा रातदिन खट्ने अग्रमोर्चाका स्वास्थ्यकर्मी नै संक्रमित भएपछि दुई सातायता जिल्ला अस्पतालको सेवा प्रभावित भएको थियो । मंगलबारदेखि १२ संक्रमित निको भएर काममा फर्केपछि बिरामीको उपचार सेवा केही सहज भएको डा. मण्डलले बताएका छन् ।
सदरमुकाममा जिल्ला अस्पतालसँगै आँखा अस्पतालमा स्थापना गरिएको आईसोलेसन सेन्टरमा अक्सिजनसहितको उपचार सेवा उपलब्ध छ । अस्पतालमा इमरजेन्सी र आँखा अस्पतालमा ४० शैयाको आईसोलेसन सञ्चालनमा ल्याइएको छ । आईसोलेसन सेन्टरका फोकलपर्सन शिवकुमार यादवका अनुसार हाल त्यहाँ १५ जनालाई अक्सिजनसहित २२ जनाको उपचार भईरहेको छ । भवन पूर्णरुपमा निर्माण नभईसकेकाले सबै शैयामा अक्सिजन राख्न नमिलेर हाल भुईतलाको १५ बेडमा मात्र अक्सिजनसहित उपचार दिइँदै छ भने बाँकी शैयामा नर्मल बिरामीको उपचार भईरहेको छ ।
प्रकाशित: १७ जेष्ठ २०७८ १४:३० सोमबार