७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

भेरी अस्पताल प्रकरणः स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेविरुद्ध किटानी जाहेरी

आक्रमणविरुद्ध आन्दोलनमा उत्रिएका भेरी अस्पतालका स्वास्थ्यकर्मी । स्वास्थ्यकर्मीमाथि आक्रमणमा संलग्न मुख्य अभियुक्त मानबहादुर रावत । तस्बिर : अर्जुन/नागरिक

भेरी अस्पतालको कोभिड वार्डमा खटिएका स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने ब्यक्तिविरुद्ध किटानी जाहेरी दर्ता गरिएको छ । दाङ, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ का कोरोना संक्रमित ५२ डिल्ली रावतको उपचारका क्रममा बिहीबार राती मृत्यु भएपछि आक्रोशित भएका आफन्तले स्टाफ नर्स, चिकित्सक लगायतलाई लखेटीलखेटी आक्रमण गरेका थिए । पीडित स्वास्थ्यकर्मीहरुले शुक्रबार जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दर्ता गराएका हुन् ।  

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एवम् प्रहरी उपरीक्षक ओम रानाले आक्रमणमा संलग्न मानबहादुर रावत, लोकराज र भरत रावतविरुद्ध भेरी अस्पतालका ७ जना स्वास्थ्यकर्मीले किटानी जाहेरी दर्ता गराएको जानकारी दिए । ‘अहिलेलाई ३ जनाविरुद्ध जाहेरी दिनु भएको छ,’ उनले भने । आक्रमणमा संलग्न रहेको आरोपमा तीनै जनालाई प्रहरीले बिहीबार राती भेरी अस्पतालबाट पक्राउ गरेको थियो ।  

राजनीतिक पावरमा आफूहरुको हत्या गर्ने उद्देश्यले नै आक्रमण गरेको भन्दै नेपालगन्जका चिकित्सक, नर्स लगायतले भेरी अस्पताल परिसरमा बिहान नाराबाजी गरेका थिए । उनीहरुको आन्दोलनका कारण कोभिड वार्डमा भर्ना भएका संक्रमित बिरामीको उपचार नै प्रभावित बन्न पुगेको छ । आक्रमणमा संलग्न ब्यक्तिलाई ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा चलाउन स्वास्थ्यकर्मीले माग गरेका छन् ।  

रावतको मृत्यु भएपछि राती करिव ८ बजेतिर मृतकका भाई मानबहादुरसहितको एक समूहले चिकित्सक, स्टाफ नर्स लगायतलाई लखेटीलखेटी आक्रमण गरेको थियो । आफन्तको मृत्यु लगत्तै चारैतिरबाट जम्मा भएर लखेट्दै घाँटी थिचिदिएका थिए । स्टाफ नर्स र चिकित्सक आफ्नो ज्यान जोगाउन ड्युटी रुम र शौचालयमा पस्दा पनि ढोका फोडेर आक्रमण गरेका थिए । त्यसपछि ४ जना स्टाफ नर्स र एक जना चिकित्सकले कोभिड वार्डको पहिलो तलामाथिबाट हामफालेका थिए ।

आक्रमणबाट डा. चन्द्रप्रकाश साहु, डा. दीपक गुप्ता, डा. समा अन्सारी, स्टाफ नर्स अस्मिनी गुरुङ, सदिक्षा गैरे र बन्दना श्रेष्ठलाई चोट लागेको अस्पताल प्रशासनले जनाएको छ ।  

आक्रमणमा संलग्न मानबहादुर नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य हुन् । संक्रमित रावत यही जेठ ४ गतेदेखी भेरी अस्पतालमा भर्ना भएका थिए । दाईको उपचारका क्रममा यसअघि पनि मानबहादुरले आफूहरुलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको मान्छे हुँ भन्दै धम्की दिने गरेको स्टाफ नर्सहरु बताउँछन् । नेपाल नर्सिङ संघ बाँकेका अध्यक्ष लक्ष्मी केसीले आक्रमण गर्नेविरुद्ध किटानी जाहेरी दर्ता गरिएको बताईन् । जिल्ला प्रशासन कार्यालय बाँकेमा घटनाबारे छलफल चलिरहेको उनले जानकारी दिईन् ।

प्रकाशित: १४ जेष्ठ २०७८ १०:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App