coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

अक्सिजन दिन नसकेको भन्दै उपप्रमुखसहित वडाध्यक्षले मागे माफी

मध्यपुर थिमि नगरपालिकाले कृषि विकास तालिम प्रतिष्ठान बोडेमा सञ्चालन गरेको आइसोलेसन केन्द्रमा विशेषज्ञसहितको स्वास्थ्यकर्मी र अक्सिजन व्यवस्था गर्न नसकेको भन्दै उपप्रमुख र वडाध्यक्षहरुले माफी मागेका छन्।

नगरमा कोरोना संक्रमितको वृद्धिसँगै गम्भिर प्रकृतिका बिरामीको संख्या पनि बढेपछि वडा नं. १ का सुरज खड्का, २ का राम थापामगर, ३ का प्रेमबहादुर कुटु, ४ का कुमार श्रेष्ठ, ६ का ईन्द्रबहादुर प्रजापति र ९ का रामकाजी चक्रधरको गत बैशाख २७ गते बसेको संयुक्त बैठकले बोडे आइसोलेसन केन्द्रमा विशेषज्ञसहितको स्वास्थ्यकर्मी र अक्सिजनको व्यवस्थाका लागि ९० लाख रुपैंया छुट्याउने निर्णय गरेको थियो। त्यसका लागि वडाको विकास बजेट कटौती गरी प्रत्येक वडाले १५ लाख रुपैंया विनियोजन गर्ने निर्णय समेत गरेको थियो।  

तर त्यो निर्णयलाई नगरप्रमुख मदनसुन्दर श्रेष्ठले स्विकृति नदिँदा सो योजना कार्यान्वयन हुन नसकेको वडा नं. २ का वडाअध्यक्ष एवम् नगरपालिकाका प्रवक्ता राम थापामगरले बताए। ‘हामीले कोरोनाका कारण जोखिममा परेका नगरबासीको ज्यान जोगाउन जनमुखी निर्णय गरेका थियौं तर नगरप्रमुख श्रेष्ठले अनेक बहाना गरी स्विकृत गर्नुभएन’ थापामगरले भने।  

नगरप्रमुखसँग बजेट स्विकृतिका लागि वडाअध्यक्षहरुले जेठ ५ गते संयुक्त निवेदन दिएका थिए। तर पटक पटकको अनुरोध र छलफलपछि पनि नगरप्रमुखले स्विकृत नगरेपछि उपप्रमुख अञ्जनादेवी मधिकर्मी र ६ जना वडाअध्यक्षहरुले बुधवार संयुक्त विज्ञप्ती जारी गर्दै नगरवासीसँग आफूहरुको पूर्व निर्णय कार्यान्वयन गर्न नसकिएको भन्दै क्षमा मागेको छ।

‘२०७८बैशाख२७ गते हामी ६ जना वडाध्यक्षहरुले संयुक्त हस्ताक्षर गरी आगामी दिनमा सम्पूर्ण जनप्रतिनिधिहरुको सहमति लिने गरी कृषि विकास बैंक तालिम केन्द्र बोडेमा नगरपालिकाद्वारा सञ्चालित आईसोलेशन केन्द्रमा कोरोना संक्रमित नागरिकहरुलाई विज्ञसहित आवश्यक स्वास्थ्यकर्मीहरु र औषधी साथै अक्सिजनसहितको प्राथमिक उपचार सेवा सञ्चालनका लागि मिति २०७८/०२/०५ गते नगरप्रमुख समक्ष प्रस्ताव पेश गरेका थियौं, तर यस्तो विषम परिस्थितिमा नगरप्रमुखले उक्त प्रस्ताव अस्विकृत गरी असहयोग गरेका कारण सो मानवीय कार्य गर्न नसकेकोमा सम्पूर्ण नगरवासीमा क्षमा प्रार्थी छौं,’ बुधवार जारी गरिएको विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा नगरप्रमुख श्रेष्ठको कार्यको घोर भत्सर्ना गर्दै कोरोना विरुद्धको लडाईंमा सम्पूर्ण जनप्रतिनिधिहरु एवं नागरिकहरुलाई एकताबद्ध हुनका लागि आव्हान समेत गरेको छ।

विज्ञप्तीमा उपप्रमुख अञ्जनादेवी मधिकर्मी, वडा नं. १ का सुरज खड्का, २ का राम थापामगर, ३ का प्रेमबहादुर कुटु, ४ का कुमार श्रेष्ठ, ६ का ईन्द्रबहादुर प्रजापति र ९ का रामकाजी चक्रधर हस्ताक्षर गरेका छन।  

प्रकाशित: १२ जेष्ठ २०७८ १३:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App