८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

‘स्वास्थ्य संकटकाल लगाउनुपर्ने अवस्था छैन’

अध्यादेशमा कोरोना रोकथाम, नियन्त्रण, निदान र उपचारका अतिरिक्त सेनाले सरकारले खटाएको काम गर्ने भन्ने बुँदा पनि छ। त्यस बुँदाको स्पष्ट व्याख्या नगरिएकाले राजनीतिक संकट टार्न प्रधानमन्त्रीले संकटकाल लगाउने र सेना परिचालन गर्न सक्ने अनुमान पनि भइरहेको छ।

सरकारले कोरोना संकट व्यवस्थापनका लागि स्वास्थ्य संकट घोषणालगायतका व्यवस्थासहितको कोभिड १९ संकट व्यवस्थापन अध्यादेश जारी गरेको छ। अध्यादेश जारी भएसँगै सरकारले कोरोना संक्रमणको अवस्थालाई ध्यान दिई स्वास्थ्य संकटकाल लगाउने विषयमा छलफल गरिरहेको छ। स्वास्थ्य मन्त्रालयले पनि स्वास्थ्य संकटकाल लगाउन सकिने सुझाव सरकारलाई दिएको छ।  

कोरोना संकटकै बीचमा राजनीतिक संकट पनि बढ्दै गएकाले सरकारले विरोध चर्किन नदिन स्वास्थ्य संकटकाल घोषणा गर्न सक्ने अनुमान भइरहेको छ। नयाँ अध्यादेशमा स्वास्थ्य संकटकालसँगै नेपाली सेना परिचालनका विषयमा पनि प्रस्ट उल्लेख गरिएको छ। अध्यादेशमा कोरोना रोकथाम, नियन्त्रण, निदान र उपचारका अतिरिक्त सेनाले सरकारले खटाएको काम गर्ने भनेर एउटा बुँदा थप गरिएको छ। त्यसको व्याख्या नगरिएकाले कतिपयले प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक संकट टार्न संकटकाल लगाउने र सेना परिचालन गर्न सक्ने अनुमान गरिरहेका छन्।  

काेभिडसम्बन्धी अध्यादेशमा कोरोना भाइरसको प्रभावकारी रोकथाम र नियन्त्रण एवं निदानका लागि प्रधानमन्त्रीको नेतृत्वमा कोभिड १९ निर्देशक समितको व्यवस्था गरिएको छ। त्यस्तै अध्यादेशको दफा १३ अन्तर्गत कोभिड १९ संकट व्यवस्थापन केन्द्रको व्यवस्था गरिएको छ। जसको सिइओमा सरकारले हालै नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मालाई नियुक्त गरिसकेको छ।

यसअघि उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा सिसिएमसी सञ्चालन हुँदै आएको थियो। त्यसले प्रभावकारी काम गर्न नसकेपछि संयुक्त राष्ट्रसंघ फोर्स कमान्डको नेतृत्व गरेका र माओवादी सेनाको नेपाली सेनामा समायोजन प्रक्रियामा समेत प्रभावकारी भूमिका निर्वाह गरेका शर्मालाई सरकारले सिसिएमसीको नेतृत्वमा ल्याएको हो। पोखरेलको मातहतमा भएका कोरोना व्यवस्थापनसम्बन्धी निर्णय, स्वास्थ्य सामग्री खरिदलगायतका निर्णय विवादित भएपछि सेनासमेत विवादमा तानिएको थियो भने सरकारको चातर्फी आलोचना हुँदै आएको छ। 

तर अध्यादेशसँगै सिसिएमसीको नयाँ संरचनामा नेपाली सेनालगायत सरोकारवाला नियायको भूमिका प्रस्ट पारिएकाले पहिलेको तुलनामा काम सहज हुने सेनाले जनाएको छ। सिसिएमसीको अहिलेको संचरनामा नेपाली सेनाकै पूर्वरथी सिइओ नियुक्त भइसकेको र बहालवाला उपरथीसमेत सदस्य रहने व्यवस्था रहेका कारण काम गर्न सहज हुने विश्वास सेनाको छ।  

यसअघि सिसिएमसीको संरचनामा प्रस्ट व्यवस्था नहुँदा सरोकारवाला मन्त्रालयका कामसमेत प्रभावकारी हुन सकेका थिएनन्। सरोकारवाला स्वास्थ्य मन्त्रालय, स्थानीय तहलाई सक्रिय बनाउनुपर्ने संघीय मामिला मन्त्रयल र नेपाली सेनाका बीचमा समन्वय हुन सकेको थिएन। कतिपय अवस्थामा सेनाले गरिरहेका काममा राजनीतिक हस्ताक्षप वा अवरोध समेत भएको थियो। गत वर्ष सेनाले चीनबाट द्रुत गतिमा स्वास्थ्य सामग्री ल्याउन खोज्दा त्यसमा अवरोध पु¥याइएको थियो। ‘कतिसम्म भने हामीले चीनबाट तत्कालै स्वास्थ्य सामग्री ल्याउने तयारी गरिरहेका थियौं, आवश्यक सामग्रीहरू लोड भइसकेपछि पनि ओराल्ने काम भयो,’ नेपाली सेनाका एक अधिकारीले भने। राजनीतिक हस्तक्षेप र स्वार्थका कारण अघिल्लो पटक सिसिएमसीले प्रभावकारी भूमिका खेल्न नसकेको सेनाको बुझाइ छ।  

नेपाली सेनाले कोरोना नियन्त्रणमा अध्यादेशमा व्यवस्था भएको युनिफाइड केन्द्रीय अस्पतालको भूमिका पनि महत्वपूर्ण हुने जनाएको छ। अस्पतालको परिकल्पनाअनुसार काम भयो भने प्रभावकारी हुनसक्ने भए पनि कसरी अघि बढ्छ भन्ने हेर्न बाँकी रहेको सेनाले जनाएको छ।  

नेपाली सेनाले एक वर्षको अनुभव र आफ्नो भूमिका प्रस्ट भएका कारण अब कोरोना नियन्त्रणमा थप सहयोग पुुग्ने विश्वास लिएको छ। सिसिएमसीको प्रमुखमा नियुक्त गरिएका व्यक्तिको अनुभवका कारण सिसिएमसी प्रभावकारी हुने सेनाको अनुमान छ। साथै प्रधानमन्त्री ओलीले पनि काम गर्ने सिलसिलामा आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता जनाएको सेनाको भनाइ छ। सिसिएमसीको पुरानो संरचनामा उपप्रधानमन्त्री पोखरेलको स्वार्थ हाबी हुँदै गएको भन्दै सेनाले असन्तुष्टि जनाएको थियो।

तर कोरोना नियन्त्रणमा प्रभावकारी भूमिका खेल्दै आएको सेनाको मूल्यांकनमा भने अहिलेकै अवस्थामा स्वास्थ्य संकटकाल लगाइहाल्नुपर्ने अवस्था छैन। ‘अहिलेकै अवस्थामा प्रभावकारी ढंगले काम गर्दा कोरोना नियन्त्रण गर्न सकिन्छ भन्ने नै हाम्रो मूल्यांकन हो। कोरोना संकटलाई लिएर तत्कालै स्वास्थ्य संकटकाल लगाइहाल्नुपर्ने अवस्था हामीले देखेका छैनौं,’ नेपाली सेनाका एक उच्च अधिकारीले भने। स्वास्थ्य संकटकालको घोषणा हुँदा सरकारको महत्वपूर्ण सुरक्षा निकायका रूपमा सेनाको भूमिका पनि बढ्ने गर्छ। त्यसमाथि अध्यादेशले सेना परिचालनको व्यवस्थासमेत गरेको छ।  

सेनाले कोभिड १९ संकट व्यवस्थापन अध्यादेश आएपछि कोरोना नियन्त्रणका लागि आफूले खेल्नुपर्ने भूमिका प्रस्ट भएको जनाएको छ। ‘पहिले केही जटिलता थिए। तर अध्यादेश आएपछि सिसिएमसीले सेना परिचालन आवश्यक ठानेमा व्यवस्थित ढंगले परिचालन हुने अवस्था बनेको छ,’ सेनाका ती अधिकारीले भने। अब कोराना नियन्त्रणमा एकीकृत ढंगले काम गर्न सहज हुने सेनाले जनाएको छ। 

प्रकाशित: १२ जेष्ठ २०७८ ०१:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App