coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

बेवास्ता गर्दा टोल–टोलमा संक्रमण

फाइल तस्बिर

कोरोना संक्रमित भए पनि लक्षण नदेखिएको भन्दै परीक्षणमा बेवास्ता गर्दा र आइसोलेसनमा नबस्दा गाउँ–टोलमा संक्रमण फैलिएको पाइएको छ। चिकित्सक र स्थानीय तहका प्रतिनिधिहरूको अनुभव पनि यस्तै छ। बागलुङको गलकोट नगरपालिकाका वडाध्यक्ष हिम भण्डारीले गाउँमा संक्रमण फैलिनुको मुख्य कारण लक्षण नभएका संक्रमित व्यक्तिले भेटघाट र हिँडडुल गर्नु रहेको बताए। लक्षण नभएका वा अलि–अलि लक्षण भएका संक्रमितले आफूलाई कोरोना नभई सामान्य रुघाखोकी लागेको हो भन्ने ठानेर हिँडडुल र भेटघाट गर्दा नगरपालिकाका केही टोलमा संक्रमण फैलिएको पाइएको उनले बताए। ‘संक्रमित तर लक्षण नदेखिएका व्यक्ति गाउँघरमा घुमफिर गरेको देखियो’, उनले भने, ‘टोलै संक्रमित हुनुमा यही कारण देखिन्छ।’ 

भण्डारीका अनुसार संक्रमित व्यक्तिहरू कडा लक्षण नदेखिने अवधि पाँच/छ दिनसम्म सामाजिक दूरी कायम नगरी घुमफिर गर्दा टोलभरि संक्रमण फैलिएको देखिन्छ। गलकोट नगरपालिकाको वडा नम्बर २ का तोरीखोला, मसाहारा र राम्चेमा संक्रमण फैलिएको उनले बताए। त्रिवि शिक्षण अस्पताल, महाराजगन्जका पल्मोनरी तथा वरिष्ठ छातीरोग विशेषज्ञ डा. निरज बमका अनुसार मंगलबार नै ओखलढुंगाको विकट गाउँबाट हेलिकोप्टरमा संक्रमणले सिकिस्त व्यक्तिलाई ल्याइएको छ। अहिले काठमाडौंवासीभन्दा विकट गाउँबाट उपचारमा आउने बिरामीको चाप अस्पतालमा बढिरहेको उनको भनाइ छ।

विकट गाउँमा पिसिआर परीक्षण नहुने र बिरामी रोगले च्यापेपछि मात्र उपचारमा आइपुग्ने गरेको र कतिपयको आउँदाआउँदै मृत्यु भइरहेको उनले बताए। ‘कतिको आकस्मिक कक्षमै मृत्यु हुन्छ,’ डा. बमले भने। अर्घाखाँचीको छत्रदेव गाउँपालिकाका संक्रमित पनि सिकिस्त भएपछि मात्र उपचार गराउन काठमाडौं आइपुगेका छन्। विकट गाउँहरूमा अहिले पनि परिवारभित्र मास्क लगाउने, भौतिक दूरी कायम गर्ने जस्ता सामान्य मापदण्ड पनि पालना गरिँदैन। कतिपयलाई यसबारे जानकारी पनि छैन। विकट गाउँमा लक्षणविहीन संक्रमितबाटै टोलभरि संक्रमण फैलिएको डा. बम बताउँछन्। ‘गाउँमा लक्षण नभएका संक्रमितहरूको घुमफिरले संंक्रमण भुसको आगोजस्तै फैलिएको देखिन्छ’, उनले भने।

वीर अस्पतालका वरिष्ठ फिजिसियन डा. धु्रव गैरेका अनुसार गाउँका आइसोलेसन सेन्टरमा उचित हेरचाह नपुग्ने र बिरामी सिकिस्त भएपछि मात्र सहरका ठूला अस्पतालमा आउने गरेका छन्। यसरी समय घर्काएर आउँदा कतिपयको बाटैमा मृत्यु भएको उनले बताए। ‘मलाई बेड राखिदिनु’ भन्दै फोन गरेका दुई÷तीनजनाको बाटैमा मृत्यु भएको खबर आएको उनले बताए। डा. गैरेका अनुसार उनीहरू काभे्र र सिन्धुपाल्चोकका थिए। गाउँका आइसोलेसन सेन्टरहरूमा संक्रमितलाई अक्सिजन मात्र दिएर राखिने, निमोनिया, मधुमेह, दमको अवस्थाअनुसारको उपचार नहुने र अक्सिजन पनि मात्रा नमिलाई दिँदा समस्या बढेको पाइएको डा. गैरेले बताए। गाउँमा बाहिरबाट गएका व्यक्तिहरू लक्षण नदेखिएको अवधिमा आफन्त भेट्न जाने क्रममा पनि संक्रमण फैलिएको पाइएको छ।  

चिकित्सकका अनुसार कोरोना भाइरस शरीरमा प्रवेश गरेको चार/पाँच दिनपछि मात्र यसको लक्षण देखिन्छ। त्यही अवधिमा संक्रमितले अरूलाई सार्छन्। सहर या गाउँमा बस्ने जो सुकैमा कोरोना संक्रमण हुन सक्ने भएकाले यसबाट बच्न घरभित्र बस्दा पनि मास्क लगाउने, हात धुने र भौतिक दूरी कायम राख्नुपर्छ। कन्ट्याक्ट टे«सिङ र समुदायमा परीक्षणको दायरा बढाएर समयमै संक्रमित पहिचान गरी संक्रमण वृद्धि रोक्न सकिन्छ। गाउँमा जनस्वास्थ्य मापदण्ड र कोरोनाबारे थप जनचेतना कार्यक्रम आवश्यक भएको डा. गैरेले बताए। ‘कोरोना कति दिनमा सर्छ भन्ने विषयमै ग्रामीण बासिन्दा अन्योलमा देखिन्छन्’, उनले भने।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार निषेधाज्ञा पालना नभएका कारण गाउँमा कोरोना संक्रमण सजिलै फैलिएको हो। सहरबाट गाडी रिजर्व गरेर गाउँ जाने व्यक्तिमा कोरोनाको कडा लक्षण नहुनु, हल्का लक्षण भएका व्यक्तिले पनि सामान्य रुघाखोकी ठान्नु, गाउँमा पुगेर दस दिन क्वारेन्टिन नबस्नु र पिसिआर परीक्षण समेत नगर्नुले धेरैमा संक्रमण भइरहेको उनले बताए। ‘दस दिनको अवधिभित्र एउटै व्यक्तिेले धेरैलाई सारिसकेको हुन्छ’, उनले भने। घरमै ठूलो घटना नभएसम्म कोरोना लागेका व्यक्तिले समेत संक्रमणलाई साामन्य रूपमा लिँदा समस्या भएको उनले बताए।

संक्रमणदर ३६ प्रतिशत

नेपालमा गत २४ घण्टामा कोरोना संक्रमणदर ३६ प्रतिशत रहेको छ। २२ हजार ९ सय ३६ जनाको परीक्षण भएकोमा ८ हजार ३ सय ३६ जनामा संक्रमण पुष्टि भएको छ। थप संक्रमितसहित नेपालमा कुल संक्रमित संख्या ५ लाख २८ हजार ८ सय ४८ पुगेको छ।  

यसैगरी गत २४ घण्टामा संक्रमणबाट थप १ सय ६९ जनाको मृत्यु भएको छ। योसहित नेपालमा कोरोना संक्रमण्बाट मृत्यु हुनेको संख्या ६ हजार ७ सय पुगेको छ। जसमध्ये ३ हजार ६ सय ६८ जनाको दोस्रो लहर सुरु भएयता मृत्यु भएको हो।

हाल मुलुकमा १ लाख १७ हजार २ सय ६१ जना सक्रिय संक्रमित छन्। तीमध्ये १ लाख ८४ हजार ४ सय २८ जनाको होम आइसोलेसनमा र ८ हजार ८ सय ३३ जना संस्थागत आइसोलेसनमा छन्। जटिल समस्या भएका १६ सय ७२ जनाको आइसियुमा र ४ सय ४७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। गत २४ घण्टामा काठमाडौं उपत्यकामा २६ सय १३ जनामा संक्रमण पुष्टि भएको छ। 

प्रकाशित: १२ जेष्ठ २०७८ ०१:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App