८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

कोरोना उपचारलाई ३१.६ अर्ब ऋण

कोरोना संक्रमण उपचारका लागि सरकारले थप ३१ अर्ब ६० करोड रूपैयाँ ऋण लिने भएको छ। यसमध्ये विश्व बैंकले ३ अर्ब ४० करोड ऋण दिइसकेको छ भने कोभिड १९ खोप व्यवस्थापनका लागि थप ९ अर्ब ऋण सहायता उपलब्ध गराउन हस्ताक्षर भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए। यसैगरी एसियाली विकास बैंकले १९ अर्ब २० करोड ऋण दिने भएको मन्त्री त्रिपाठीले बताए।

यसअघि नै कोभिड १९ व्यवस्थापनका लागि विभिन्न देशले २ अर्बबराबरको स्वास्थ्य सामग्री उपलब्ध गराइसकेका छन्। त्यसैगरी विभिन्न अन्तर्राष्ट्रिय बैंक तथा सरकारले ७ अर्ब ४२ करोड ऋण दिइसकेका छन्। यसमा जापान सरकारको ५ अर्ब २२ करोड (उपकरणसहित), जर्मन सरकारको ४२ करोड, एसियाली विकास बैंकको ३६ करोड र विश्व बैंकको ४२ करोड छ। अरू देश तथा संघसंस्थाबाट सहयोग प्राप्त हुने क्रम जारी रहेको मन्त्रालयले जनाएको छ।

 मित्रराष्ट्रहरूबाट प्राप्त स्वास्थ्य सामग्री तथा उपकरणसँगै पछिल्लो समयमा कोभिड १९ उपचार व्यवस्थापनमा सहज भएको स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्र श्रेष्ठले बताए। विदेशबाट प्राप्त अक्सिजन सिलिन्डर, एन्टिजेन किट तथा अन्य आवश्यक सामग्री प्रदेशमा पठाइसकेकाले अब समुदायस्तरमा परीक्षणको दायरा फराकिलो हुने मन्त्रालयले जनाएको छ।

तीन देशबाट खोप आउने सम्भावना

स्वास्थ्यमन्त्री त्रिपाठीले अमेरिका, चीन र भारतले नेपालाई खोप दिने उच्च सम्भावना रहेको बताए। यी देशसँग उच्चस्तरीय पहल भइरहेको उनले जानकारी दिए। ‘कतिपय देशसँग निर्णयनजिक पुगिसकिएको छ तर परिणाम नआएसम्म भन्न मिलेन’, उनले भने। स्वास्थ्य सेवा विभाग प्रमुख डा. दीपेन्द्ररमण सिंहले मोर्डना, कोभिसिल्ड र जोनसोन खोप आउने सम्भावना रहेको संकेत गरे।

संक्रमण चार सातामा घट्न सक्ने

विज्ञहरूले अबको चार सातामा कोरोना संक्रमणदर घट्दै जाने आकलन गरेका छन्। स्वास्थ्यमन्त्री त्रिपाठीले सोमबार पत्रकारसँग भने, ‘आगामी चार सातापछि कोेरोना संक्रमण घट्न सक्छ।’ राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलले चार सातामा संक्रमण दर घट्दै जाने अथवा स्थिर रहने बताए।

नेपालमा गत २४ घण्टामा संक्रमण दर ३६.३ प्रतिशत छ। परीक्षण भएका २० हजार ४ सय ५३ नमुनामध्ये ७ हजार ४ सय २५ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमण दर अघिल्लो दिनको तुलनामा २ प्रतिशतले कम हो। संक्रमण दर तीन साताको तुलनामा १० प्रतिशतले कम भएको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाएको छ। नेपालमा कुल संक्रमित संख्या ५ लाख २० हजार ४ सय ६१ पुगेको छ। तीमध्ये दोस्रो लहर सुरु भएयता २ लाख ६० हजार २ सय ८० जना संक्रमित भएका हुन्। हाल १ लाख १५ हजार ४ सय ६१ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा १ सय ८५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यीसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार ५ सय ३१ पुगेको छ। तीमध्ये ३ हजार ३ हजार ३ सय २१ जनाको मृत्यु चैत तेस्रो सातायता भएको हो।

यसैबीच सरकारले स्वास्थ्य मन्त्रालयको नियमित पे्रस ब्रिफिङ र कोभिड १९ संकट व्यवस्थापन केन्द्रका सदस्यका रूपमा काम गरिरहेका जागेश्वर गौतमलाई युनिफाइड सेन्ट्रल कोभिड अस्पतालको प्रशासकीय प्रमुख नियुक्त गरेको छ। अब उनले देशभरिका कोभिड १९ अस्पतालसँग समन्वय गर्नुका साथै केन्द्रीय कोभिड अस्पतालको रूपमा रहेको वीर अस्पतालमा उपचार व्यवस्थापन गर्नेछन्। उनले बिरामीले बेड नपाउने समस्या समाधान गर्ने प्रतिबद्धता जनाए। ‘भोलिदेखि नै वीर अस्पतालमै बसेर समस्या समाधान गर्छु’, उनले भने।

प्रकाशित: ११ जेष्ठ २०७८ ००:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App