७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

कोरोना संक्रमितको उपचारमा समस्या

कोरोना संक्रमितको उपचार गर्दै आएका प्रदेश १ का अस्पतालहरूमा आवश्यक उपकरण, कोरोना परीक्षणको किट, बेड, अक्सिजन र जनशक्ति व्यवस्थापनमा समस्या देखिएको छ। संघ तथा प्रदेश सरकारले समयमै आवश्यक बजेट, तथा मेडिकल सामग्रीहरू उपलब्ध गराउन नसकेका कारण कोरोना संक्रमितको उपचारमा समस्या देखिएको प्रदेश १ का अस्पतालहरूले जनाएका छन्।  

प्रदेश १ संसदको सामाजिक विकास समितिले शुक्रबार विराटनगरमा आयोजना गरेको छलफलमा सहभागी प्रदेश १ का विभिन्न अस्पतालका प्रमुखहरूले अस्पतालहरूमा बेड, अक्सिजन, जनशक्तिलगायतको व्यवस्थापन हुन नसक्दा कोरोना संक्रमित बिरामीको उपचारमा समस्या आएको बताएका छन्।

झापाको मेची अस्पतालस्थित ल्याबमा किट र रिएजेन्ट किट अभावका कारण कोरोना परीक्षण रोकिने अवस्थामा पुगेको छ। तत्काल किट र रिएजेन्ट उपलब्ध नभए शनिबारदेखि मेची अस्पतालमा कोरोना परीक्षण रोकिने मेची अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पिताम्बर ठाकुरले बताए। ‘तत्काल किट उपलब्ध नभए शनिबारदेखि पिसीआर परीक्षण मेची अस्पतालको ल्याबमा बन्द हुन्छ’ ठाकुरले भने।  

ठाकुरका अनुसार मेची अस्पतालको प्रयोगशालामा इलाम, पाँचथर ताप्लेजुङलगायतका पहाडी जिल्लाका स्वाबसमेत परीक्षणका लागि ल्याइने गरेको छ। अस्पतालले हाल दैनिक २ देखि ३ सय स्वाब परीक्षण गर्दै आएको छ। यस्तै भर्ना भएका बिरामीका लागि अक्सिजनको जोहो गर्न पनि अस्पतालाई गाह्रो भइरहेको ठाकुरले बताए। अस्पतालमै अक्सिजन प्लान्ट स्थापना गर्न बजेट प्राप्त भए पनि कोरोना महामारीका कारण भारतबाट प्लान्टका लागि आवश्यक उपकरण ल्याउन समस्या भएको ठाकुरले बताए।्

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार डा. मोहनराज रेग्मीले प्रतिष्ठानले मात्रै विशिष्टिकृत सेवा धान्न नसक्ने बताए। कोरोनाको संक्रमण दर बढ्दै जाँदा एउटा मात्रै अस्पतालले विशिष्टिकृत सेवा धान्न नसक्ने र अन्य अस्पतालबाट रिफर गर्दै जाँदा कोरोना संक्रमण पनि फैलने अवस्थालाई ध्यानमा राखेर विपी बाहेक अन्य केही अस्पतालमा पनि विशिष्टिकृत सेवा थप गर्नुपर्ने धारणा राखे।  

प्रदेश १ का प्रतिपक्षी दल नेपाली काँग्रेसका प्रमुख सचेतक केदार कार्कीले सामाजिक विकास समितिले गरेको अनुगमनका क्रममा प्रदेशका निजी अस्पतालहरूले विभिन्न बहाना बनाएर चर्को शुल्क असुली गरिरहेको बताए। सरकारी अस्पतालमा बेड नहुने र निजी अस्पतालहरूले चर्को शुल्क लिने र बिरामीसँग अग्रीम धरौटी लिने गरिएका कारण बिरामीको उपचार नै नपाएर मृत्यु भइरहेको उनको भनाइ छ।उपचार अभावका ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य गर्न कार्कीले सरकारसँग आग्रह गरे।

सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले प्रदेशमा कोरोना महामारी भयावह बन्दै गएको बताए। उनले रिएजेन्ट किटको अभावका कारण प्रदेश १ का ल्याबहरूमा कोरोना परीक्षण नै बन्द हुने अवस्था आएकाले तत्काल किट उपलब्ध नभए समस्या हुने बताए। किट, केमिकल, मेडिकल सामग्री उपलब्ध गराउन केन्द्रसरकारसँग प्रदेश सरकारले पहल गरिरहेको कार्कीले जनाए।

प्रकाशित: ७ जेष्ठ २०७८ १३:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App