७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

अक्सिजनमा बिचौलियाको चलखेल

कोरोना संक्रमितको उपचारमा अति आवश्यक अक्सिजनमा बिचौलियाको चलखेल भइरहेको खुलेको छ। अक्सिजन आपूर्तिमा चलखेल नहोस् भनी स्वास्थ्य मन्त्रालयले अस्पतालका लागि कोटा छुट्याएको छ। तर कोटाअनुसार अक्सिजन नपाएको अस्पतालले जनाएका छन्। यसो हुनुमा अक्सिजन उद्योग तथा डिपोमा बिचौलियाको चलखेलले काम गरेको गुनासो उनीहरूको छ। त्यसै त कोटा आवश्यकभन्दा कम छ, त्यसमा पनि कम सिलिन्डर उपलब्ध हुँदा स्वास्थ्य संस्थामा उपचाररत कोरोना संक्रमित बिरामी अत्यन्त जोखिममा परेको अस्पतालहरूले जनाएका छन्।  

त्रिवि शिक्षण अस्पताल महाराजगन्जका लागि स्वास्थ्य मन्त्रालयले दैनिक २ सय सिलिन्डर कोटा छुट्याएको छ। तर अस्पतालले १ सय १० सिलिन्डरमात्रै पाउँछ। यो अस्पताललाई पनौतीस्थित नवज्योति अक्सिजन प्रालिले अक्सिजन उपलब्ध गराउँछ। कम्पनीले कोटाअनुसार अक्सिजन नपठाएपछि केही दिनअघि अस्पतालका निर्देशक डा. दिनेश काफ्ले कम्पनीमै पुगेका थिए। सोधपुछ गर्दा कम्पनीले स्थानीयलाई अक्सिजन दिएको बताएको निर्देशक काफ्लेले सुनाए। अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीका अनुसार तीनकुनेस्थित डिपोबाटै बिचौलियाले सिलिन्डर उठाउने गरेको पाइएको छ। ‘कम्पनीमा बिचौलियाले दादागिरी देखाउने, डिपोबाट पनि सिलिन्डर उठाउने गरेको सूचना आएको छ’, उनले भने।

यस्तै भक्तपुर कोरोना अस्पतालका लागि मन्त्रालयले १ सय २० सिलिन्डरको कोटा तोकेको छ। तर दैनिक ३०–३५ सिलिन्डरमात्रै आइपुग्ने अस्पतालले जनाएको छ। यो अस्पताललाई सगरमाथा अक्सिजन प्रालि र कान्तिपुर अक्सिजन प्रालिबाट थोरै संख्यामा सिलिन्डर आउने गरेको अस्पतालकी सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतमले बताइन्। सिलिन्डर ल्याउन अस्पतालले ६ वटा गाडी खटाएको छ। दैनिक पाँच÷छ घण्टा लाइन बस्दा १०÷१५ वटा मात्र सिलिन्डर पाउने गरेको अस्पतालका चालक पुष्कर आचार्यले बताए। ‘कम्पनीमा सिलिन्डर किन्नेको घुइँचो हुन्छ। पहुँच हुनेले पहिला पाउँछन्, हामी ६ घण्टा लाइन लाग्दा पनि पूरा पाउँदैनौं’, उनले भने।

यता वीर अस्पतालले पनि कोटाबमोजिमको सिलिन्डर नपाएको जनाएको छ। यो अस्पतालका लागि मन्त्रालयले दैनिक २ सय सिलिन्डर तोकेको छ। पहिला नियमित आपूर्ति गर्ने कम्पनीले समेत कम संख्यामा सिलिन्डर दिएपछि अक्सिजन व्यवस्थापनमा हम्मे परेको वीरकी निर्देशक डा. शान्ता सापकोटाले बताइन्। दैनिक ३ सय सिलिन्डरको कोटा पाएको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि १८७ देखि २०० सिलिन्डरमात्रै पुग्ने गरेका छन्। बिरामीको आवश्यकताअनुसार सिलिन्डर नदिएपछि सिलिन्डरको क्षमताअनुसार मात्र बिरामी भर्ना गरेको अस्पतालले जनाएको छ।

प्रकाशित: ७ जेष्ठ २०७८ ०१:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App