८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

कोरोनामुक्त मल्लको अनुभव : ‘अक्सिजनको मात्रा कम भएपछि घरमै बस्नु ज्यान गुमाउनुजस्तै’

म्याग्दीको मंगला गाउँपालिका–अर्मन छिस्वाङका ६० वर्षीय मिनबहादुर मल्लको आमा बितेपछि मृत्यु संस्कारकै क्रममा अचानक बिरामी भए।

गएको महिनाको बैशाख १६ विहान किरियामै बसेको बेलामा हल्का ज्वरो आउने, टाउको र शरीर दुख्ने लगायतका समस्या देखियो। मल्ललाई देखिएका सबै लक्षणहरू कोरोनासँग मिल्ने थिए। आमाको मृत्यु संस्कार सकिएलगत्तै वैशाख २५ गते श्वासप्रश्वासमा समेत समस्या देखिएपछि बेनी अस्पतालमा आए।

एम्बुलेन्समा अस्पतालसम्म आइपुग्दा मल्ललाई बाँचिन्छ भन्ने लागेको थिएन्। उनी निराश थिए, श्रीमति सन्तु मल्ल पनि श्रीमानको अवस्थाबाट निकै भावुक बनिन्। अस्पतालमा भर्ना हुदाँ मल्लको अक्सिजनको लेभल घटेर ७० मा झरिसकेको थियो ।

उनलाई हाईफ्लो अक्सिजन दिइयो। अक्सिजनको लेभल ९० नाघेपछि बिरामीको चापलाई मध्यनजर गर्दै मल्ललाई आकस्मिक कक्षको बेडबाट ओपिडी कक्ष प्रवेश गर्ने ढोकाको छेउमै राखियो। मल्लसँगै तीनजना बिरामी लस्करै अक्सिजन सिलिण्डर राखेर नियमित मुखमा अक्सिजन मास्क लगाएर उपचारमा थिए। ढोकाको छेउमा बसेकी मल्लकी श्रीमति सन्तु अस्पतालको गेटमा प्रवेश गर्दा निकै निराश थिइन्। उनले धेरैपटक श्रीमानले नदेख्ने गरी आँसु समेत खसालिन्। कोरोना संक्रमण देखिएसँगै शरीरमा अक्सिजनको मात्रा कम भएपछि मृत्यु नजिक हुने संक्रमति मल्ललाई थाहा थियो। ‘आमाको क्रिया सकेलगत्तै एम्बुलेन्समा अस्पतालमा आए, ‘अहिले त मलाई धेरै राम्रो भएको छ’ मल्लले भने।

उनले समयमै अस्पतालमा नआएको भए ज्यानै जाने अवस्थामा पुगेको बताए। शरीरमा एक्कासी अक्सिजनको मात्रा कम भएपछि घरमै बस्नु भनेको ज्यान गुमाउनुजस्तै रहेछ। अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीले चेकजाँचसँगै नियमित दिने हौसलाले उर्जा थपिएको बताए।

‘समयमै उपचार गर्दा कति फरक पार्दछ जिन्दगीमा भन्ने महसुस गरेको छु, ‘सबैलाई समयमै अस्पतालमा आउन समेत अनुरोध गर्छु’ मल्लले थपे। उनले अस्पतालमा आफ्नो उपचारमा कुनै कमी नभएको भन्दै उपचारमा संलग्न सबैलाई धन्यवादसमेत दिए। उनी अहिले कोरोनामुक्त भएर घर फर्किएका छन्।

मल्लकै कारण तीन महिनाको शिशु र उनका आमासहित घरपरिवारका सदस्य संक्रमति भएका थिए। यता बेनी अस्पतालले समयमै उपचारका लागि अस्पतालमा आएका बिरामी निको भएर फर्किएको बताउँदै कोरोना संक्रमतिको स्वास्थ्यमा कुनै समस्या देखिए तत्कालै अस्पतालमा आउने पर्ने जनाएको छ।

अहिले अस्पतालमा लक्षण सहितका संक्रमतिमा निमोनिया र सास फेर्न समस्या भएपछि भर्ना हुनेको संख्या ह्वात्तै बढेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए। ‘घरमै निको हुन्छ भनेर बसेका बिरामी चिन्ताजनक अवस्था भएपछि अस्पताल आइपुग्छन्, त्यसले उपचारमा निकै समस्या हुने गरेको छ’ अध्यक्ष कटुवालले भने।

उनका अनुसार अस्पतालमा संक्रमतिलाई लक्षित गरी आइसोलेसन बेडसमेत तयारी अवस्थामा राखेको छ भने बिरामीलाई हालसम्म अक्सिजन पर्याप्त रहेको छ।

प्रकाशित: ५ जेष्ठ २०७८ ११:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App