१५ चैत्र २०८० बिहीबार
स्वास्थ्य

गाउँमा कोरोना महामारी, स्थानीय तह रमिते

जुम्लामा गाउँगाउँमा कोरोना संक्रमण फैलिएको छ। गाउँमा कोरोना संक्रमणलाई खेलाँची ठान्ने भएकोले उच्च जोखिम बढेको हो। देश तथा विदेशबाट आउने सिँधै घरमै जाने भएकोले जोखिम बढेको स्थानीय बताउँछन्। दोस्रो चरणको कोरोना लहरमा स्थानीयतहमा न क्वारिन्टिन बनेका छन्। नत आइसोलेसन र प्रभावकारी स्वास्थ्य परीक्षण। कोरोना हटस्पोट बाट सिंधै घर फर्कनेको संख्या बढेकोले दुर्गम गाउँमा कोरोना संक्रमण फैलँदो अवस्थामा छ।  

जनस्वास्थ्य सेवा कार्यालयको टोली एन्टीजेन परीक्षणका लागि गाउँगाउँमा पुगेको छ। स्वास्थ्यकर्मीको टोली पुगेको ठाउँमा परीक्षणका क्रममा कोरोना पोजेटिभ नै देखिएको छ। अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले पिसिआर र जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले गाउँ, गाउँमा पुगेर एन्टीजन परीक्षण गरिरहेको छ।  

जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटा ग्रामिण क्षेत्रमा कोरोना पुगिसकेको बताउँछन्। यहाँका कुनाकन्दरा सम्मै कोरोना संक्रमण फैलिएको पाइएको छ। उनले भने,‘गाउँमा पुगेर एन्टीजन परीक्षण गरेर पोजेटिभ देखिएकाहरुलाई होमआइसोलेसनमा बस्न सुझाउने गरिएको छ। गम्भीर प्रकृतिका संक्रमितलाई अस्पताल लैजान भनिएको छ। ’गाउँमा फैलिएको कोरोना संक्रमणको दर हेर्दा स्थानीयतहको तयारी सुन्ने नै देखिएको छ।

स्वास्थ्यकर्मीहरु खल्तीको रकमले मास्क सेनिटाइजर किनेर प्रयोग गर्ने गरेको गुनासो सुनाउँछन्। स्थानीय मास्कविनानै हिँडडुल गरिरहेका छन्। न गाउँमा उच्च सतर्कता छ। नत स्थानीयतहले कोरोना कार्ययोजना बनाएर अघि बढेको देखिन्छ। उल्टै रमिते बनेर बसिरहेको गुनासो जुम्लाबासीको छ।  

जनस्वास्थ्य कार्यालय जुम्लाको तथ्यांक अनुसार गत वैशाख महिनादेखि हालसम्म जुम्लामा कोरोना संक्रमितको संख्या २६४ पुगेको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पिसिआर गर्दा १ सय ६० जनामा कोरानो संक्रमण देखिएको हो। जनस्वास्थ्य कार्यालय जुम्लाले एन्टीजन परीक्षण गर्दा १०४ जना गरी २६४ जनालाई कोरोना पुष्टि भएको हो।  

संक्रमित मध्ये ७७ जना निको भएर घर फर्किएका छन्।  प्रतिष्ठानले ४७९ जनाको पिसिआर परीक्षण गरेको जनाएको छ। जनस्वास्थ्य कार्यालय जुम्लाले ९१८ जनाको एन्टीजन परीक्षण गरेको जनस्वास्थ्य प्रमुख कृष्ण सापकोटा बताउँछन्।  गाउँमा संक्रमितको संख्या बढिरहेको छ। स्थानीय सरकारको तयारी शुन्य जस्तै छ। स्थानीयतहमा रहेको स्वास्थ्य शाखाको समन्वयमा जनस्वास्थ्यको टोली गाउँमा परिचालन हुने गरेको छ। कतिपय स्थानीयतह गाउँमा गएर एन्टीजन परीक्षण नगरोस भन्ने चाहन्छन्। सक्रमित देखिएको खण्डमा व्यवस्थापन गर्नुपर्छ भनेर पन्छिने गरेको भेटिएको छ।  

जनस्वास्थ्य कार्यालयको तथ्यांक बमोजिम चन्दननाथ नगरपालिकामा ९१, हिमा २, पातारासी ३६, गुठीचौर २६, तिला १३, कनकासुन्दरी ३४, तातोपानी १०, सिजा गाउँपालिकामा ८ जना संक्रमित छन्।  अन्य थप ४४ जना संक्रमति पनि रहेको जनाएको छ। कनकासुन्दरी गाउँपालिकाका १९ जना संक्रमित मात्रै संस्थागत आइसोलेसनमा बसेका छन् भने अरु होम आइसोलेनमै रहेका छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आइसोलेसनमा २५ जना रहेको प्रतिष्ठानका प्रवक्ता डा.रमेश भट्टराईले बताए। भेन्टिलेटरमा ४ जना र आईसीयूमा २ जना रहेको उनले जनाए। उनले कोरोना संक्रमितको उपचारका लागि प्रतिष्ठान निकै संवेदनशिल भएर लागेको बताए।  

जिल्लामा कोरोना संक्रमितको संख्या थपिरहेको बेला स्थानीय सरकारले शुन्य तयारी गरेको भन्दै स्थानीय आक्रोशित छन्। कोरोना संक्रमितको उचित,उपचार र व्यवस्थापनका लागि लाग्न उनीहरुले माग गरेका छन्। जुम्लाको चन्दननाथ नगरपालिकाले संघीय सरकारले बजेट नदिएको भन्दै आइसोलेसन बनाउन नसकिने बताइसकेको छ।  

जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा निषेधाज्ञा अनुगमन जाँदा गाँउपालिकामा कोरोनो संक्रमण रोक्न कुनै तयारी नभइरहेको देखिएको बताउँछन्। उनले भने,‘अनुगमनका क्रममा कोरोना रोकथाम तथा नियन्त्रणमा न गाउँपालिका तयार थालेको देखियो। नत प्रतिनिधि सक्रिय नै सक्रिय देखिए। प्रमुख जिल्ला अधिकारी थापाले भने,‘ न जनता कोरोनाबाट बच्न सजक भएको पाईयो। निकै लापरबाही गरिरहेको देखियो। सचेतना पनि न्युन दिएको भेटियो। यो राम्रो होइन।’

प्रमुख जिल्ला अधिकारी थापाले जनप्रतिनिधिले आफ्नो गाउँबस्तीमा सजगता अपनाउन सक्रियताका साथ लाग्नुपर्ने बताए। कोभिड १९ संकट व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी सहितको टोलीले जुम्ला खलंगा बजार देखि कालिकोटको सिमाना नाग्म बजार सम्मको अनुगमन गरेका थिए। 

प्रकाशित: ४ जेष्ठ २०७८ ०५:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App