८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

चन्दननाथ नगरपालिकामा छैन आइसोलेसन, संक्रमित सबै घरमै

जुम्लाको चन्दननाथ नगरपालिकाले आइसोलेसन कक्ष बनाउन नसक्दा संक्रमित सबै घरमै जोखिम मोलेर बसेका छन्। यहाँका स्थानीय तहमध्ये चन्दननाथ नगरपालिकाभित्र सबैभन्दा बढी संक्रमित छन्।

सो नगरपालिकाभित्र ६७ जना संक्रमित भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले जनाएको छ।  

सो नगरपालिकामा सहरी क्षेत्र र जनघनत्त्व पनि अरु गाउँपालिकाभन्दा बढी  भए पनि अझसम्म आइसोलेसन केन्द्र बनेको छैन। नगरपालिकाको संस्थागत आइसोलसेन नभएकाले आफूहरु संक्रमित भएर पनि घरमै बस्न बाध्य भएको संक्रमितको गुनासो छ।

स्थानीयका अनुसार संक्रमितहरु घरमा मात्र बस्दैनन्, उनीहरु यताउति पनि हिँड्ने गरेका छन् । यही कारण जोखिम बढेको स्थानीय बताउँछन्।

जनस्वास्थ्य सेवा कार्यालय जुम्लाको तथ्यांकअनुसार  पातारासीमा ३२, गुठीचौरमा २६, तातोपानीमा ५, तिलामा ११, हिमा २, सिँजामा ७ र कनकासुन्दरी गाउँपालिकामा ३२ जना कोरोना संक्रमित छन्। अन्य ३८ जना गरी २ सय २४ कोभिड बिरामी रहेका छन्।  

संक्रमित बढिरहे पनि स्थानीय तहले भने आइसोलेसन निर्माण गर्नेतिर चासो नदिएको स्थानीय बताउँछन् । कोरोना संक्रमितको दर ह्वात्तै बढेपछि १ जेठदेखि ११ गतेसम्म स्वास्थ्य क्षेत्रबाहेक सबै ठप्प पार्ने निर्णय गरे पनि अहिलेसम्म कुनै पनि स्थानीय तहले आइसोलेसन नबनाएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए । ‘तैपनि हामीले जुम्लाका हरेक स्थानीय तहमा न्युनत्तम ५०÷५० बेडको आइसोलेसन निर्माण गर्न आग्रह गरेका छौं।’

चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवाल संघीय सरकारले बजेट व्यवस्थापन नगरेकोले आइसोलेसन बनाउन नसकिएको बताउँछिन्। ‘नगरपालिकाभित्र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान छ भनेर बजेट आउँदैन । हामी कसरी आइसोलेसन बनाएर संक्रमितको व्यवस्थापन गरौँ?’ उनले भनिन्।

प्रकाशित: १ जेष्ठ २०७८ १४:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App