८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

खोटाङमा एकै परिवारका चार जनाले जिते कोरोना

खोटाङका चारजना कोभिड–१९ संक्रमणमुक्त भएका छन्। कोभिड–१९ को संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसिरहेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा अल्छेढुंगाका एकै परिवारका चारजना कोरोना संक्रमणमुक्त भएका हुन्।

गत वैशाख २२ गते गरिएको एन्टिजेन परीक्षणमा गुरुङ थरका ३५ वर्षीय पुरुष, २० वर्षीया महिला, २८ वर्षीय पुरुष र २७ वर्षीया महिलाले कोरोना जितेका हुन्। शनिबार गरिएको एन्टिजेन परीक्षणमा एकै परिवारका चार जनाको एन्टिजेन रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय खोटाङका जनस्वास्थ्य अधिकृत एवं कोभिड फोकल पर्सन आनन्द लामिछानेले बताए।

शुक्रबार पनि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका पाण्डे थरका एक पुरुष कोरोना संक्रमणमुक्त भएका थिए। यससँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेको संख्या ६ पुगेको छ। निको भएका सबै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका हुन्।  

यस्तै, खोटाङमा थप १० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। शनिबार गरिएको परीक्षणमा हलेसी तुवाचुङ नगरपालिकामा ८ जना र ऐसेलुखर्क गाउँपालिकामा २ जनालाई संक्रमण भएको हो। हलेसीमा २३ जनाको एन्टिजेन परीक्षण गर्दा ८ जनामा संक्रमण भएको नगरपालिकाका स्वास्थ्य शाखा सह–संयोजक प्रकाश घिमिरेले बताए। जिल्लामा सक्रिय संक्रमितको संख्या १२१ पुगेको जनस्वास्थ्य कार्यालयले जनाएको छ।  

हाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ४६ जना, हलेसी तुवाचुङ नगरपालिकामा २५ जना, साकेला गाउँपालिकामा २३ जना, ऐसेलुखर्क गाउँपालिकामा १३ जना, रावाबेँसीमा ५ जना, खोटेहाङ गाउँपालिकामा ५ जना र जन्तेढुंगा गाउँपालिकामा ४ जना सक्रिय संक्रमित छन्।

संक्रमितमध्ये १०६ जना होेमआइसोलेसनमा र १५ जना संस्थागत आइसोलेसनमा बसिरहेका छन्। संस्थागत आइसोलेसनमा बसिरहेकामध्ये खोटेहाङ गाउँपालिकाका ३ जना र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका १ जनालाई अन्यत्र रेफर गरिएको जनस्वास्थ्य अधिकृत एवं कोभिड फोकल पर्सन लामिछानेले बताए।

प्रकाशित: १ जेष्ठ २०७८ १३:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App