६ वैशाख २०८१ बिहीबार
स्वास्थ्य

अक्सिजन प्लान्ट र पिसिआर मेसिन व्यवस्थापनका लागि कार्यदल

अक्सिजन प्लान्ट तथा पिसिआर मेसिन खरिद तथा व्यवस्थापनका लागि खोटाङमा कार्यदल बनेको छ। कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिको शुक्रबार बसेको बैठकले कोभिड–१९ को दोश्रो लहरको महामारीलाई मध्यनजर गर्दै जिल्लामा अक्सिजन प्लान्ट तथा पिसिआर मेसिन खरिद तथा व्यवस्थापनका लागि कार्यदल बनाउने निर्णय गरेको हो। 

अक्सिजन प्लान्ट तथा पिसिआर मेसिन खरिद तथा व्यवस्थापनका लागि आवश्यक बजेट तथा जनक्तीको व्यवस्था गर्न जिल्ला अस्पतालका डा. बैभव मल्लिकको संयोजकत्वमा चार सदस्यीय कार्यदल गठन गरिएको हो। कार्यदलमा जिल्ला समन्वय समितिले तोकेको एक जना, जिल्ला प्रशासन कार्यालयले तोकेको एक जना र स्वास्थ्य कार्यालयका प्रमुख सदस्य रहने कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिले जनाएको छ।  

संक्रमण दर दिनानुदिन बढिरहेको अवस्थामा जिल्लामै अक्सिजन उत्पादन गर्दै अक्सिजनको अभाव पूर्तीका लागि अक्सिजन प्लान्ट तथा पिसिआर परीक्षणका लागि जिल्ला बाहिर स्वाब पठाउनुपर्ने बाध्यता अन्त्या गर्दै परीक्षणको दायरा बढाउनका लागि पिसिआर मेसिन खरिद तथा व्यवस्थापनको प्रयास गर्ने निर्णय गरिएको कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिका संयोजक एबं जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङले बताए।  

बैठकले घर बाहिर निस्किएर समुहमा मनाइने चाडपर्व स्थगन गर्ने, त्यस्ता चाडवाडलाई औपचारिकताका लागि घरभित्र पनि सिमित संख्याको उपस्थितिमा गर्ने मनाउन आग्रह गर्ने निर्णय गरेको छ। यस्तै, कोभिड–१९ बाट बच्न र बचाउने अभियानका लागि नेपाल सरकारले दिएको निर्देशन र सिसिएमपी/डिसिसिएमसिले जारी गरेको स्वास्थ्य सुरक्षा सम्वन्धी मापदण्डलाई कडाइका साथ लागू गर्ने/गराउने निर्णय गरिएको कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिले जनाएको छ। बैठकमा स्थानीय तहका प्रमुख तथा अध्यक्ष, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, स्वास्थ्य कार्यालय र जिल्ला अस्पतालका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो।

प्रकाशित: १ जेष्ठ २०७८ ११:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App