८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

हुम्ला र कालिकोटका संक्रमित जुम्लामा

कर्णाली प्रदेशको हुम्ला र कालिकोटमा अक्सिजन अभाव हुन थालेपछि त्यहाँका कोरोना संक्रमितलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ल्याइएको छ । कालिकोटका २ जना र हुम्लाका एक जना संक्रमित जुम्ला ल्याइएको हो ।  

कोभिड अस्पताल कालिकोटमा अक्सिजन अभाव भएपछि दुई जना बिरामीलाई जुम्ला रेफर गरिएको कालिकोट जिल्ला अस्पतालले जानकारी दिएको छ । अस्पतालका अनुसार तिलागुफा नगरपालिकाका ६१ वर्षीया एक महिला र खाँडाचक्र नगरपालिका निवासी ४१ वर्षका एक पुरुष जुम्ला अस्पतालमा ल्याइएको हो  ।  

अक्सिजन अभाव भएपछि संक्रमित बचाउन गाह्रो हुने भन्दै जुम्ला अस्पतालमा रेफर गरिएको कोभिड अस्पताल कालिकोटका डा. रामकमल कार्कीले जानकारी दिए । उनले भने,‘कालिकोटमा अक्सिजन अभाव छ । अक्सिजन अभाव भएर बिरामीको मृत्युको अवस्था आउन नदिन जुम्लामा रेफर गरेका हौँ । एक दुई सिलिन्डर मात्र अक्सिजन छ । यसले नपुग्ने आएको समस्या भयो ।’ अहिले कालिकोट कोभिड अस्पतालमा २५ जना संक्रमितको उपचार भइराखेको छ ।  

जिल्लामा रहेको कोभिड अस्पतालमा अक्सिन अभाव हुँदा स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाको अवस्था विकराल बनेको स्थानीय बताउँछन् । बिरामीलाई अक्सिजन दिनुका साथै भेन्टिलेटरमा राख्नु पर्ने अवस्था छ ।  

यता हुम्लाबाट पनि एक जना संक्रमित स्वास्थ्यकर्मी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला ल्याइएको हो । कोभिड अस्पतालमा भर्ना भएका स्वास्थ्यकर्मीलाई श्वासप्रश्वासमा समस्या देखिएपछि जुम्ला अस्पताल ल्याउनु परेको प्रतिष्ठान जुम्लाले जनाएको छ ।  

संक्रमित ल्याउनको लागि काठमाडौंदेखि हेलिकप्टर हुम्ला पुगेर हुम्लाबाट हेलिकप्टरमा संक्रमित जुम्ला पठाइएको हुम्ला अस्पतालले जनाएको छ । यसअघि कोरोना संक्रमित उपचारको लागि सुर्खेत नेपालगंजबाट जुम्ला पुगेका थिए । जुम्लामा २६ जना संक्रमितलाई अक्सिजन दिएर उपचार भइराखेको छ । कालिकोटका बिरामी एम्बुलेन्स मार्फत जुम्ला ल्याएको हो ।

प्रकाशित: ३१ वैशाख २०७८ ११:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App