coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

जुम्लामा कोरोना संक्रमित थपिँदै, अधिकांश संक्रमित घरमै

जुम्लाका अधिकांश कोरोना संक्रमित होम आइसोलेसनमा बसेका छन्। जिल्लामा कोरोना संक्रमतिको  संख्या २ सय ११ जना रहेकोमा अधिकांश संक्रमित होमआइसोलेसनमा रहेको जिल्ला स्वास्थ्य सेवा कार्यालय जुम्लाले जनाएको छ। हाल १ सय ५६ जना संक्रमित होमआइसोलेसनमा छन्।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ३ सय ९ जनाको पीसीआर परीक्षण गर्दा १ सय ११ जनामा संक्रमण देखिएको थियो। यहाँका ८ वटै स्थानीय तहमा ८ सय ११ जनाको एन्टिजेन परीक्षण गर्दा ८८ जनामा संक्रमण देखिएको जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले बताए। उनले भने, ‘अधिकांश संक्रमित होम आइसोलेसनमा छन्। उनीहरुसँग कुनै लक्षण देखिएको छैन। अस्पतालमा भर्ना गर्नुपर्ने खालका छैनन्।’

संक्रमितमध्ये २६ जना कोभिड बिरामीको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा उपचार भइरहेको निमित्त अस्पताल निर्देशक डा. राजीव शाहले बताए। उनका अनुसार १७ जना निको भइसकेका छन्। डा. शाह भन्छन्,  ‘लक्षण देखा परेका र जटिल प्रकारका संक्रमितको नियमित चिकित्सकको निगरानीमा उपचार भइराखेको छ।’

चन्दननाथ नगरपालिकामा ५२ जना, पातारासीमा ३१ जना, गुठीचौरमा २४ जना, तातोपानीमा ४ जना, तिलामा १० जना, हिमा २ जना सिँजामा ७ र कनकासुन्दरी गाउँपालिकामा २९ जना र अन्य ३० जना संक्रमित भएका हुन्।

यहाँका स्थानीय तहमा पनि कोरोना संक्रमण देखिएपछि यहाँका तीनवटा स्थानीय तह सिल गरिएको छ। जुम्लाको कनकासुन्दरी, गुठिचौर र तातोपानी गाउँपालिका सिल गरिएको छ। गाउँपालिकाको कार्यालयमा कार्यरत कर्मचारी नै संक्रमति भएपछि यहाँका तीन स्थानीय तह सिल गरिएको स्थानीय तहहरुले जनाएका छन्।  

बैशाख ३० गतेदेखि जेठ ४ गतेसम्मका लागि कनकासुन्दरी गाउँपालिका सिल गरिएको छ। २९ बैशाखदेखि गुठीचौर गाउँपालिका एक साता सिल गरिएको थियो।

त्यसैगरी २८ बैशाखदेखि तातोपानी गाउँपालिका एक साताका लागि सिल गरिएको स्वास्थ्य शाखा संयोजक गुरुप्रसाद चौलागाईंले बताए।

कनकासुन्दरी गाउँपालिकामा २९ जना कोरोना संक्रमित छन्। संक्रमितमध्ये १५ जनालाई हाँडसिंजा स्वास्थ्य चौकीको आइसोलनमा राखिएको स्वास्थ्य चौकी इन्चार्ज विरेन्द्र उपाध्यायले बताए। उनले भने‘ यहाँ पाँच बेडको अस्थायी कोभिड अस्पताल पनि छ। तर अक्सिजन नभएका कारण समस्या भइरहेको छ। स्वास्थ्य सुरक्षा सामग्री पीपीईको अभाव छ। दैनिक ४/५ वटा प्रयोग हुन्छन्।’

स्वास्थ्य चौकी इन्चार्ज उपाध्यायले आइसोलेसनमा १५ जना कोभिड बिरामी भर्ना भएको बताए। उनीहरुमध्ये २÷३ जनाको स्वास्थ्य अवस्था असहज छ। बिरामीको उपाचारदेखि खानपिनमा पनि २४ सै घण्टा खटिनुपर्ने अवस्था भएकोले स्वास्थ्यकर्मीसमेत जोखिममा रहेको उनले बताए।  

अहिले जिल्ला स्वास्थ्य सेवा कार्यालय जुम्ला गाउँगाउँमा एन्टिजेन परीक्षणका लागि परिचालन भएको छ। स्थानीय तहमा रहेको स्वास्थ्य शाखाको मागअनुसार एन्टिजेन परीक्षण गर्न थालिएको प्रमुख सापकोटा बताउँछन्।  

उनले भने, ‘गाउँपालिकाबाट आउने विवरणका आधारमा टोली परिचालन गरेर कोरोना परीक्षण गर्ने गरिएको छ।’ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट पीसीआर र स्वास्थ्य सेवा कार्यालयबाट एन्टीजेन परीक्षण भइरहेको छ।’

प्रकाशित: ३१ वैशाख २०७८ १०:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App