coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

ताप्लेजुङ अस्पतालमा अक्सिजनको अभाव टार्न पहल सुरु

ताप्लेजुङमा अभाव टार्न पहलकदमी सुरु भएको छ। ताप्लेजुङ उद्योग वाणिज्य संघले यहाँबाट प्रतिनिधित्व गर्ने प्रदेश सरकारका मन्त्री, प्रतिनिधिसभाका सांसद र आफ्ना उद्योगी व्यवसायी तथा मनकारी संस्थाहरुसँगको समन्वयमा अक्सिजनको केही मात्रा व्यवस्थापनको पहल सुरु गरेको जनाएको छ।

ताप्लेजुङ अस्पताल आफैंले पनि अक्सिजनको केही मात्रा खरिद गर्ने योजना बनाएको छ। ताप्लेजुङ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दिनेश अधिकारीका अनुसार ताप्लेजुङ उद्योग वाणिज्य संघले प्रदेश १ सरकारका आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङ र प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईलाई समेत अक्सिजन व्यवस्थापनको कार्यमा सघाउन अनुरोध गरेको छ। ‘उहाँहरुले अनुरोधलाई स्वीकारेर यो महान कार्यमा साथ दिने वचन दिनु भएको छ’ ताप्लेजुङ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अधिकारीले भने।

उनले ताप्लेजुङ उद्योग बाणिज्य संघमा आवद्ध मनकारी व्यत्तित्व र संस्थाहरुले समेत अक्सिजन खरिद गर्ने कार्यमा सघाउने प्रतिबद्धता जनाए अनुसार खरिद प्रकृया सुरु भएको जानकारी दिए । ताप्लेजुङ अस्पताल आफैंले पनि २० थान अक्सिजन सिलिण्डर खरिद गर्ने योजना बनाएको छ । ताप्लेजुङ अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेण्ट सोनिङ लामाले अस्पतालले २० थान अक्सिजन सिलिण्डर खरिद गर्ने अस्पतालको योजना रहेको जानकारी दिए। यसका लागि प्रकृया अघि बढिसकेको लामाले बताए।

ताप्लेजुङ अस्पतालका लागि पहिलो चरणमा कम्तिमा ४० थान अक्सिजन सिलिण्डर खरिद÷व्यवस्थापन गर्ने प्रयास भइरहेको समेत डाक्टर लामाले जानकारी दिए।

ताप्लेजुङ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अधिकारीले आफूले प्रदेश सरकारका मन्त्री आङ्बुहाङ, प्रतिनिधिसभाका सांसद भट्टराई, ताप्लेजुङ उद्योग वाणिज्य संघमा आवद्ध सहकर्मी व्यवसायी र मनकारी संस्थाहरुलाई अक्सिजन खरिद कार्यमा सबैले जुटेर सहयोग संकलन गर्न प्रस्ताव गरेअनुसार ताप्लेजुङ उद्योग वाणिज्य संघको समन्वयमा सहयोग संकलन अघि बढेको जानकारी दिए।

यो अभियानको अगुवाइ ताप्लेजुङ उद्योग वाणिज्य संघले गरेकोले अक्सिजनको व्यवस्थापन भइसकेर बिल भर्पाइ प्राप्त भएकै दिन खर्च विवरण सार्वजनिक गरिनेसमेत अधिकारीले जानकारी दिए।

यो समयमा अक्सिजनको उपलब्धता नै समस्या भएकोले ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डे, इटहरी उद्योग वाणिज्य संघ, मोरङ उद्योग संगठन, सुनसरी उद्योग वाणिज्य संघ लगायतका निकायहरुसँग समेत समन्वय र सहकार्य भएको अधिकारीले बताए।

उद्योगी व्यवसायीका भगिनी संस्थामार्फत् सुरु भएको यो प्रयासले सार्थकता पाए एक पुण्यकारी काम हुने देखेर ताप्लेजुङ उद्योग वाणिज्य संघले यसको पहलकमदी लिएको अधिकारीले जानकारी दिए।्

ताप्लेजुङ अस्पतालले केही दिनअघि सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेको तथ्याङ्कअनुसार ताप्लेजुङ अस्पतालमा रहेका ४० थान अक्सिजन सिलिण्डरमध्ये ७५ प्रतिशत प्रयोग भइसकेका छन्। अस्पतालमा रहेकामध्ये पनि ५ थान भने मध्यतमोर जलविद्युत आयोजनाले तत्कालका लागि सहयोग गरेको परिमाण हो।

प्रकाशित: ३० वैशाख २०७८ ०९:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App