८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

अक्सिजनको अभाव: चिकित्सक झनै दबाबमा

कोभिडका बिरामीको उपचारमा व्यस्त चिकित्सकलाई यति बेला अक्सिजनको चिन्तासमेत थपिएको छ । अक्सिजनबिना कोभिडका बिरामी बचाउन नसकिने भएपछि चिकित्सकले हारगुहार गर्न थालेका छन् । औषधि र अक्सिजनको सहज आपूर्ति गर्न माग गरिरहे पनि सरकारले नबुझेपछि चिकित्सक आफैं अक्सिजनको खोजीमा दौडिएका हुन् ।  

‘सरकारले केही गर्दैन, न त सरकारी अस्पतालको क्षमता ठूलो छ । यस्तो बेलामा विरामीको उपचार गर्दा सरकारको झिनो साथ पनि नपाउनु दुर्दशा हो,’ वीर अस्पतालका एक चिकित्सकले भने, ‘बरु हामीले डिलर र भारतीय अक्सिजन कम्पनीसँग पहल गरेर केही थान भए पनि अक्सिजन सिलिन्डर ल्याएका छौं ।’ उनले महामारीका बेला सरकारको ध्यान नपुग्दा स्वास्थ्य क्षेत्रको बिजोग भएको बताए । अझै पनि सचेत नभए र आवश्यक उपचार सामग्री खरिद नगरे ठूलो क्षति हुन सक्ने उनको भनाइ छ ।

जनस्वास्थ्यबारे बोल्दै आएका डा. रवीन्द्र पाण्डेले महामारीका बेला सरकारले महसुस हुनेगरी काम नगरेको बताए । उनले अबका १५ दिन अझै बढी जोखिमपूर्ण हुने भएकाले सावधान रहनुपर्ने बताए । उनले भने, ‘हामी कोरोनाको निकै जोखिमपूर्ण फेजमा छौं, सरकार पहिलेदेखि नै हारिसकेको छ । आफ्नो ज्यानको ख्याल आफैं गरौं ।’ स्टोर गरेको अक्सिजन सकिन थालेपछि त्रिवि शिक्षण अस्पतालको अवस्था नाजुक छ ।

देशभरका बिरामीको भीड भइरहने यो अस्पतालको आफ्नै अक्सिजन प्लान्ट छ । तर त्यसले थेग्न नसक्ने अवस्था आएको अस्पतालका आवासीय चिकित्सक सन्तोष केसीले बताए । उनले भने, ‘भएभरका बिरामी यहीं छन्, अन्त अक्सिजन नपाएका पनि यहीं आएका छन्, तर अब यहाँ पनि अक्सिजनले नथेग्ने अवस्था भइसकेको छ ।’  

यति बेला वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र सिभिल अस्पतालमा कार्यरत चिकित्सक अक्सिजन खोज्दैछन् । उनीहरूले पर्याप्त अक्सिजन नहुँदा क्षति बढी हुन सक्ने अवस्था देखिएकाले सरकारलाई जिम्मेवार हुन आग्रह गरेका छन् । अक्सिजनका कारण उपचारमा बाधा पुग्ने देखिएपछि उपत्यकाका सरकारी तथा निजी अस्पतालले अक्सिजन आपूर्ति सहज बनाउन स्वास्थ्य मन्त्रालय र जिल्ला प्रशासन कार्यालयमा पत्राचार गरिसकेका छन् । अक्सिजन अभाव भएपछि केही अस्पतालले थप बिरामी भर्ना नगर्ने सूचना पनि जारी गरेका छन् । तर सरकारले कयौं बिरामीको ज्यान गइसक्दा पनि अक्सिजन आपूर्ति सहज बनाउन सकेको छैन ।

ललितपुरको स्टार अस्पतालले पनि सरकारले अक्सिजनको कोटा तोकिदिँदा बिरामी मारमा परेको जनाएको छ । उक्त अस्पतालका अनुसार दैनिक २ सय ५० सिलिन्डर अक्सिजन आवश्यक पर्नेमा सरकारले निजी अस्पतालका लागि ५० सिलिन्डर मात्रै छुट्याएको छ । अक्सिजन अभाव भएपछि भएका बेडमा समेत बिरामी राखेर उपचार दिन नसकिएको अस्पतालले जनाएको छ । तीन दिनअघि मात्रै पाटन अस्पतालमा अक्सिजन सकिएपछि बिरामीलाई सार्नुपरेको थियो । पाटन अस्पतालका डाक्टर विमल पाण्डले कोरोना संक्रमितको उपचार प्रक्रिया जटिल बन्दै गएको बताए । सरकारले आवश्यक सामग्रीमा मद्दत नगर्दा अस्पताललाई मात्रै उपचारको भार परेको जानकारी उनले दिए । ‘अहिले अस्पतालहरू अस्तव्यस्त छन्, सरकारले उपचार सहज बनाउन चासो दिएको छैन,’ उनले भने, ‘डाक्टर यति चासो दिएर खट्दा पनि सरकारले आवश्यक सहयोग गर्न नसक्नु निकै गम्भीर कुरा हो ।’ उनका अनुसार स्टोर गरेर राखिएको अक्सिजन सकिएपछि जोहो गरेरै भए पनि अस्पताल बिरामीको ज्यान बचाउन लागिपरेका छन् । तर बजारमा सबैतिर अक्सिजनको हाहाकार भएपछि अस्पताल आएका बिरामीलाई समेत अक्सिजन पाइप लगाउन नसकिएको डा. पाण्डेले जानकारी दिए ।  

कोरोना संक्रमितको उपचारमा केन्द्रित शुक्रराज ट्रपिकल तथा सरुवा रोग केन्द्रले पनि बिरामीको चापअनुसार अक्सिजन आपूर्ति नभएको जनाएको छ । अस्पतालका निर्देशक सागर राजभण्डारीले स्रोतसाधन तथा अत्यावश्यक औषधिको कमी देखिन थालेपछि उपचारमा निकै कठिनाइ भएको बताए । उनले अस्पताल परिसरमा संक्रमण दर बढेको र भीडभाड बढी भएपछि केही समयका लागि पिसिआर परीक्षणसमेत बन्द गरिएको जानकारी दिए । ‘कोरोना संक्रमणले अस्पताल अस्तव्यस्त छ तर सरकारको भूमिका देखिएन,’ उनले भने, ‘कोरोना नियन्त्रण गर्न निकै चुनौती छ ।’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमितको संख्या बढ्ने देखिएपछि शुक्रराज ट्रपिकलमा पिसिआर परीक्षण बन्द गरेको छ । जतिधेरै पिसिआर ग¥यो त्यति धेरै संक्रमित देखिन थालेपछि स्वास्थ्य मन्त्रालयले पिसिआर परीक्षण दायरा झन् खुम्च्याएको हो ।  

राजधानीबाहिरका अस्पतालको झनै बेहाल छ । जिल्ला अस्पतालहरूमा अक्सिजन सकिएको छ । प्रादेशिक अस्पतालमा पनि अक्सिजनको अभाव भइसकेको छ । दुई सय २० भन्दा बढी कोभिडका बिरामीको उपचार भइरहेको भैरहवाको युनिभर्सल मेडिकल कलेजमा अक्सिजन सकिन लागेको भन्दै अस्पतालका कर्मचारीले मध्यरातसम्म जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा धर्ना दिएका थिए । त्यस्तै लुम्बिनी मेडिकल कलेजमा पनि अक्सिजनको अभाव देखिएको छ । अस्पताल प्रशासन र चिकित्सकले सरकारसँग अक्सिजनको जोहो गरिदिन माग गरिरहेका छन् । तर सरकार अझै गम्भीर भएको छैन । सरकारकै गैरजिम्मेवारीले हजारौं बिरामी मारमा परेका छन् ।

प्रकाशित: ३० वैशाख २०७८ ००:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App