८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

भेरी अस्पतालमा संक्रमितको अवस्था दर्दनाक, अस्पताल परिसरमै टेन्ट टाँगेर गर्न थालियो उपचार

संक्रमितको संख्या र मृत्युदर दैनिक उकालो

कोभिड वार्डले थेग्न नसकेपछि भेरी अस्पतालको प्राङगनमा टेन्ट टाँगेर सुरु गरिएको उपचार । तस्बिर सौजन्य : बिमल चन्द

भेरी अस्पतालको कोभिड वार्डमा पुग्दा नेपालगन्ज उपमहानगरपालिका उपप्रमुख(उपमेयर) उमा थापामगरका आँखा नै रसाए । जो कोही व्यक्ति कोरोना संक्रमितको नजिक पर्न चाहदैन । यदि नजिक परिहाले पनि स्वास्थ्य सावधानी अपनाउँछन्् । तर, कोभिड वार्डमा मृत्युसँग लडिरहेका संक्रमित बिरामी र उनका आफन्तका पीडा तथा गुनासालाई एउटा मास्कको भरमा सहजै सुनिन्, उमाले ।

‘भेरी अस्पतालमा कोरोना संक्रमितको अवस्था कति दर्दनाक छ, त्यो त वार्डभित्रै पसेपछि थाहा हुन्छ, मुटु काँपेर आउँछ,’ उनले नागरिकसँग भनिन् ‘कोभिड वार्डका सबै बेडहरु बिरामीले भरिएका छन्, नयाँ आउनेले बेड पाउनै मुस्किल छ, स्थिती विजोग छ, त्यो अवस्था देखेर रुन मन लाग्छ ।’ संक्रमितको चाप यति बढिसक्यो कि अस्पतालले अब धान्न नसक्ने भईसकेको छ ।  

सरकारलाई गुहार्दा–गुहार्दै थाकिसकेका यहाँका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु बिरामीलाई बचाईदिन भगवान पुकार्न थालिसकेका छन् । कोरोना महामारीविरुद्ध लड्नलाई पहिलो बिरामीको राम्रो उपचार र दोस्रोमा उच्च मनोबल नै भएकाले वार्डका संक्रमित बिरामीलाई भेटेर मनोबल उच्च राख्न आग्रह गरेको उपप्रमुख थापाले सुनाईन् ।  

उनी केही समययता अस्पतालका कोभिड वार्ड र विभिन्न आइसोलेसन केन्द्रमा यसरी नै पुग्ने गरेकी छन् । ‘स्थानीय सरकारको तर्फबाट अस्पताल र आईसोलेसन सञ्चालनका लागि गर्नुपर्ने काममा केही बाँकी राखेका छैनौ जस्तो हामीलाई लाग्छ,’ उनले भनिन् ‘नियन्त्रणभन्दा बाहिर गइसकेको महामारी नियन्त्रण र उपचार सम्बन्धी गर्नुपर्ने नीतिगत काम संघिय र प्रदेश सरकारबाट गर्नुपर्ने देखिन्छ ।’  

भेरी अस्पतालको कोभिड वार्डलाई १ सय ४२ बेडमा बिस्तार गर्दा जिल्ला समन्वय समिति र उपमहनगरपालिकासहित जिल्लाका ८ वटै स्थानीय तहले आर्थिक सहयोग गरेका हुन् । यसका साथै उपमहानगरपालिका आफैले होटल ह्वाईट हाउसमा १ सय २०, नारी विकास केन्द्रमा ३०, होटल इन्द्रेणीमा ५० र वडा नम्बर ४ मा १० वेडको अक्सिजनसहितको आईसोलेसन सेन्टर सञ्चालन गरिरहेको छ । जिल्लाका अन्य स्थानीय तहले पनि आफ्नो लगानीमा आईसोलेसन सेन्टर चलाएका छन् । स्थानीय तहमा आईसोलेसन सञ्चालन भएपनि अस्पतालमा बिरामीको चाप बढिरहेको छ ।  

बाँकेमा कोरोेना पीडितको उपचारका लागि सरकारले भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेजलाई तोकेको छ । मेडिकल कलेजले अक्सिजन अभावको कारण देखाउँदै एक हप्ता अघिदेखी अस्पतालमा पुग्ने सबै संक्रमितलाई एकैपटक भर्ना गर्न रोकेको छ । अक्सिजन अभावकै कारण ३ सय बेड क्षमताको मेडिकल कलेजको कोभिड वार्ड समेत अलपत्र छ ।  

मेडिकल कलेजको शिक्षण अस्पताल कोहलपुर र नेपालगन्जमा भर्ना हुन नपाएका संक्रमितहरु भेरी अस्पतालमा पुग्छन् । भेरी अस्पतालले सुरुमा १ सय ४२ बेड क्षमताको कोभिड वार्डबाट उपचार गरिरहेको अवस्थामा संक्रमितको संख्या ह्वात्तै बढेपछि अहिले अन्य वार्डलाई खाली गरेर २ सय बेडमा पुर्याएको छ । तर, यति गर्दा पनि संक्रमितको चाप रोकिएको छैन । दुई सय बेड क्षमताको कोभिड वार्डमा बुधबारसम्म २ सय ७२ जना संक्रमित भर्ना छन् । अस्पतालको इमरजेन्सी लगायत अधिकांस वार्डमा संक्रमितहरु भरिएका छन् । अझैपनि कोभिड वार्डका बेड खाली हुने पालो कुर्दै थुप्रै संक्रमितहरु होमआईसोलेसनमा छन् ।  

भेरी अस्पताल परिसरमा टेण्ट टाँगेर उपचार

कोभिड वार्ड दिनहुँ भरिएर झन् भयावह स्थिती आएपछि बुधबारबाट भेरी अस्पतालको प्राङगनमा समेत टेण्ट टाँगेर उपचार सुरु गरिएको छ । संक्रमितको चाप झन् बढ्दै गएपछि अस्पताल प्राङगनमा टेण्ट टाँगेर उपचार सुरु गर्नु परेको भेरी अस्पतालका सूचना अधिकारी एवम् वरिष्ठ फिजिसियन डा. संकेत रिसालले बताए । ‘अस्पताल प्राङगनमा तीन÷चार दिनदेखी कोभिडका बिरामीको भिड थियो, कोभिड वार्ड, इमरजेन्सी लगायत सबै वार्डमा भरिभराउ भएपछि व्यवस्थित तरिकाले टेण्ट टाँगेर उपचार सुरु गरेका हौं,’ उनले भने ‘अस्पतालमा संक्रमित बिरामीको चाप थेग्न नसक्ने भयो, आफ्नो प्राङ्गनमा आईसकेको बिरामीको उपचार गर्ने अस्पतालको दायित्व पनि हो ।’

डा. रिसालका अनुसार सबै बेड भरिभराउ भएपछि अस्पतालले कोभिड वार्डको हल नम्बर १ र २ को बाहिर पट्टी बरण्डामा पनि ४ वटा बेड, अक्सिजन सिलिण्डर, मनिटर राखेर संक्रमित बिरामीको उपचार गरिरहेको छ । भेरी अस्पतालमा प्रायः रेफर भएर नै सिकिस्त खालका संक्रमित बिरामी आउने गरेको सूचना अधिकारी डा. रिसाल बताउँछन् । ‘हामी कहाँ सिकिस्त बिरामी आउँछन्, उनीहरुको उपचार अक्सिजन बिना सम्भव नै छैन । बढी सिकिस्त बिरामीको हकमा अवस्था हेरेर भेन्टिलेटर र आईसियुमा राख्ने गरेको अस्पताल प्रशासनले जनाएको छ । कोरोना संक्रमणको स्थिती भयावह हुँदा संक्रमितको संख्या र मृत्युदर दैनिक रुपमा झन् उकालो लागिरहेको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार बाँकेमा अहिले दैनिक रुपमा १५ देखी १७ जनासम्मको मृत्यु हुने गरेको छ, भने ७ सयदेखि ९ सय जना संक्रमित भइरहेका छन् । मृत्युदर बढ्दा शव व्यवस्थापन गर्न समेत कठिनाई हुन थालेको छ । स्थिती झन् भयावह बन्दै गएपछि यहाँका चिकित्सक, स्वास्थ्यकर्मी, अस्पताल सञ्चालक, राजनीतिक दल लगायतले स्वास्थ्य आपतकाल घोषणा गर्न माग गरेपनि सरकारले सुनुवाई गरेको छैन ।

प्रकाशित: २९ वैशाख २०७८ १२:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App