coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

एकै परिवारका दुईको मृत्यु, अवस्था भयावह बन्दै

फाइल तस्बिर

रौतहटमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सोमबारसम्म २१ पुगेको छ। सोमबार थप चार जना संक्रमितको मृत्यु भएसँगै जिल्लामा कोरोना संक्रमणबाट मृतकको संख्या बढेको हो। कोरोना संक्रमणबाट एकै परिवारका दुईजनाको मृत्यु भएको छ। एकै परिवारका तीन जनामा कोरोना संक्रमण पुष्टि भएकोमा केही दिनको फरकमा दुईजनाको मृत्यु भएको हो। एकै परिवारका दुईको मृत्यु भएसँगै गाउँमा निकै त्रास फैलिएको छ।

रौतहटको गढीमाई नगरपालिका–३ की ५३ वर्षीया एक महिलाको सोमबार मृत्यु भएको हो। उनका देवर ५० वर्षीय पुरुषको पनि कोरोना संक्रमणको कारण नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा उपचारको क्रममा यसै साता मृत्यु भएको थियो। मृतक महिलाका पती समेत कोरोना संक्रमित छन्। पतीको अवस्था सामान्य रहेको परिवारले जनाएको छ।

सोमबार महिलाको मृत्यु भएसँगै गढीमाई नगरपालिकामा मृत्यु हुनेको संख्या तीन पुगेको छ। हरेक दिन संक्रमितको संख्या बढिरहेको अवस्थामा नगरपालिकालाई सील गर्नुपर्ने माग स्थानीयले गर्न थालेका छन्। स्थानीयबाट नगरपालिका बाहिरबाट आवतजावत पूर्णरूपमा निषेध गरी एक गाउँदेखि अर्को गाउँको आवागमन रोक्नु पर्ने माग आउन थालेको गढीमाई नगरपालिका–२ का कामेश्वर सहनीले जानकारी गराए।

रौतहटमा सोमबार थप २८ जनामा कोरोना संक्रमण देखिएको छ। योसँगै जिल्लामा संक्रमितको संख्या ४४५ पुगेको छ। संक्रमितमध्ये ४७ जना निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये जिल्लामै मृत्यु हुनेको संख्या ११ पुगेको छ। जिल्लाबाहिर १० जना संक्रमितको मृत्यु भएको हो। अहिले जिल्लामा ३८७ जना सक्रिय संक्रमित रहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ। १८ स्थानीय तह रहेको रौतहटमा सबैभन्दा बढी सदरमुकाम गौर नगरपालिकामा ८८ जना संक्रमित छन् भने सबैभन्दा कम वृन्दावन नगरपालिकामा एकजना मात्रै संक्रमित रहेका छन्।

प्रकाशित: २८ वैशाख २०७८ ०२:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App