coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

कोरोना संक्रमित बढ्दै, तयारी अझै भद्रगोल

गोलबजार नगरपालिकाले १ करोड ३० लाख बढी लागतमा बनाइएको कोभिड अस्पताल। यो अस्पताल उपकरण व्यवस्थापन नहुँदा सञ्चालनमा आउन सकेको छैन। तस्बिर: नागरिक

महोत्तरीको जलेश्वार नगरपालिका–२ का ४२ वर्षीय रघुनाथ पाण्डेलाई गत २२ गत्ते ज्वरोले च्याप्यो। त्यस दिन उनी औषधि खाएर निको हुने अपेक्षामा घरमै बसे। भोलिपल्ट छाति दुखेर गाह्रो भएपछि जलेश्वर अस्पतालमा भर्ना भए। चिकित्सकले उनको छात्तीको एक्सरे गर्दा निमोनिया देखियो। ज्वरो कम नभएपछि पिसिआर परिक्षणका लागि उनको स्वाब प्रादेशिक प्रयोगशाला जनकपुर पठाउँदा शुक्रबार उनको रिपोर्ट पोजेटिभ आयो।

सास फेर्न गाह्रो हुँदै गएपछि चिकित्सकले अक्सिजन सपोर्टमा राखेर उपचार सुरु गरे। तर उनको अवस्थामा सुधार आएन। झन झन सास फेर्न गाह्रो हुँदै गएपछि उनलाई भेन्टिलेटरसहितको सुविधा भएको अस्पताल लैजान सल्लाह दिए। जिल्ला जनस्वास्थ्य कार्यालय महोत्तरीको कोभिड फोकल पर्सन प्रतिभा सिंहका अनुसार जिल्लामा २५ वटा एम्बुलेन्स भए पनि तत्काल कुनै एम्बुलेन्सले फोन उठाएनन्। जलेश्वर अस्पतालको एम्बलेसन्स बिग्रेको जानकारी आयो। अन्तमा रेडक्रसको एम्बुलेन्स सम्पर्कमा आयो। भेन्टिलेटरसहितको खाली बेड व्यवस्थापन गरेर उनलाई प्रादेशिक अस्पताल जनकपुरधाम पठाइयो। एम्बुलेन्स, अस्पतालको बेड बन्दोबस्त गर्न ढिला हुँदा उनलाई बचाउन सकिएन। पाण्डे अस्पताल नपुग्दै निधन भयो।

भेन्टिलेटर छ, जनशक्ति छैन

जिल्ला अस्पताल जलेश्वरमा एक वर्षअघि जडान गरिएको भेन्टिलेटर चलाउने दक्ष जनशक्ति नहुँदा अस्पताल रेफर सेन्टरमा सीमित बनेको छ। आईसियू, भेन्टिलेटर सेवा सञ्चालनका लागि जनशक्ति नहुँदा सिकिस्त कोरोना संक्रमितहरूको उपचारमा समस्या भएको अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष सुरेश पोण्डेले बताए। ‘दक्ष जनशक्ति (विशेषज्ञ चिकित्सक) पदपूर्ति नहुँदा आईसियू र भेन्टिलेटर सेवा सञ्चालन गर्न सकिएको छैन,’ उनले भने, ‘भरपर्दो सेवा नपाउँदा अहिलेसम्म जलेश्वरमा मात्र यस हप्ता पाँचजना संक्रमितले ज्यान गुमाउनु परेको छ।’

जलेश्वर अस्पतालमा एक वर्षदेखि पाँचवटा भेन्टिलेटर थन्किएका छन्। भेन्टिलेटर सपोर्ट चाहिने बिरामीलाई अस्पतालले अन्य अस्पतालमा रेफर गरिरहेको छ। रेफर गरिएकामध्ये अधिकांश संक्रमितले ज्यान गुमाइरहेका छन्। जलेश्वर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सतिशकुमार साहका अनुसार उपकरण भएर पनि जनशक्ति नहुँदा सेवा सञ्चालन गर्न सकिएको छैन। मानवीय क्षती रोक्न जडान गरिएको भेन्टिलेटर जनशक्ति नहुँदा मानवीय क्षति रोक्न सकेको छैन।

आधुनिक उपकरण भएर पनि सञ्चालन गर्ने जनशक्ति व्यवस्थापन गर्न नसकेको भन्दै स्थानीयको आक्रोश थेग्नै गाह्रो भएको अस्पतालका अध्यक्ष पोण्डेले भने, ‘एक साताको अल्टिमेटमसहित आइतबार मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छु। अस्पतालको बेथिति सुधार नभए जेठ ५ गत्तेबाट आमरन अनसन बस्छु।’ यस अस्पताललाई सरकारले सेकेन्ड्री ए लेबेल (५० बेड) अस्पताल स्वीकृत गरेपछि सो अनुसारको जनशतिm पदपूर्ति नभएको पोण्डेले बताए। ‘प्राथमिक अस्पतालमा भएको २८ जनाको दरबन्दी समेत पदपूर्ति भएको छैन्,’ उनले भने, ‘८ जना कार्यालय सहयोगीसहित २२ जना मात्र छन्। मेडिकल अफिसर नै मेडिकल सुप्रिडेन्टेन्टको जिम्मेवारी पाएका छन्।’ एउटा पनि विशेषज्ञ चिकित्सक नहुँदा कोरोना संक्रमितको उपचार चुनैतीपूर्ण बनेको उनले बताए। प्रदेश सरकारलाई जनशतिm व्यवस्थापनका लागि पटकपटक आग्रह गरेको भएपनि सुनुवाइ नभएको उनको गुनासो छ।

निषेधाज्ञाले पनि रोकेन संक्रमण

कोरोना संक्रमण नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञा पालना नहुँदा महोत्तरीमा संक्रमण दर बढ्दै छ। गत बुधबार बिहानदेखि जारी गरिएको निषेधाज्ञा शनिबारसम्म ३ सय ८६ नयाँ संक्रमित थपिएको स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ। शनिबारसम्म महोत्तरीमा कुल ४ सय ५० जना सक्रिय संक्रमित रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

कोरोनाको दोस्रो लहरमा यहाँ संक्रमणबाट १० जनाले मृत्युवरण गरिसकेका छन्। चारजनाको निषेधाज्ञा अवधिभित्र निधन भएको महोत्तरी जिल्ला जनस्वास्थ्य कार्यायलकी कोभिड फोकल पर्सन सिंहले बताइन्। गत वर्षको वैशाखदेखि कात्तिकसम्म कोरोना संक्रमणबाट १८ जनाले ज्यान गुमाएका थिए। यसपालिका दुई साताभित्रै १० जनाले ज्यान गुमाएका छन्।

जलेश्वर नगरपालिकाका प्रमुख मिश्रकाअनुसार निषेधाज्ञा जारी गरिए पनि भारतसँगको खुला सीमाले आवतजावत पूर्ण नियन्त्रण हुन सकेको छैन। किनमेलदेखि नातासम्बन्ध खेतीबारी गर्न समेत वारिपारि सघन आवतजावत छ। यो नगरपालिकाको १२ किलोमिटर सीमा भारतसँग जोडिएको उनले बताए। ‘जति सुकै पहरा तायनाथ गरेपनि सीमा वारिपारि आवतजावत रोकिने छैन,’ उनले भने, ‘औषधि पसलबाहेक सबै बन्द गरेर पूर्ण लकडाउनको निर्णय गरेर प्रमुख जिल्ला अधिकारीलाई बुझाएका छौं। यो बाहेक संक्रमण फैलिनबाट रोक्न अर्को विकल्प छैन।’

जलेश्वरको ७० प्रतिशत घरमा संक्रमित रहेको नगरप्रमुख मिश्रले बताए। ‘हामीले स्वास्थ्य चौकीहरूलाई सिटामोल र एन्टिबायोटिकको स्टक खाली हुन नदिन निर्देशन गरेका छौं,’ उनले भने, ‘लक्षण देखिएका जति सबैलाई सिटामोल र एन्टिबायोटिक दिन स्वास्थ्य चौकीलाई निर्देशन गरेका छौं। मानिसहरू निको पनि हुँदै गएका छन।’ संक्रमितको पहिचानका लागि परिक्षण गरेर चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गर्नुपर्ने होइन र ? जिज्ञासामा प्रमुख मिश्रले भने, ‘कतिलाई परिक्षण गर्नु, सम्भव छैन। लक्षण देखिएका जतिलाई औषधि चलाएपछि आफैं निको भइहाल्छ।’

भवन बन्यो संचालन भएन

सिरहामा शनिबारसम्म २ सय २१ जना सक्रिय कोरोना संक्रमित छन्। जसमध्ये सबैभन्दा बढी ७२ जना गोलबजार नगरपालिकामा छन्। दोस्रो लहरमा कोरोनाबाट मृत्यु भएकाको संख्या १२ पुगेको छ। जसमध्ये गोलबजार नगरपालिकामा मात्रै ५ जना छन्। नगरपालिकाले गत वर्ष १ करोड ३० लाखभन्दा बढी लागतमा कोभिड अस्पताल निर्माण गरेको थियो। एक महिनाअघि कर्मचारी समेत भर्ना गरिएयो। तर अहिलेसम्म अस्पतालबाट एक जनाले पनि सेवा पाउन सकेका छैनन्।

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सरोज कर्णका अनुसार यस नगरपालिकामा संक्रमण व्यापक छ। कोभिड अस्पताल बने पनि सेवा सञ्चालन हुन सकेको छैन। बिजुली, पानी, बेड, उपकरणलगायत पूर्वाधार व्यवस्थापन हुन नसक्दा सेवा सञ्चालन हुन नसकेको उनले बताए। यस नगरमा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भइसकेको छ। संक्रमितहरू घरघरै बसेका छन। आइसोलेसन सेन्टर समेत सञ्चालन हुन सकेको छैन। घरमै बसेका संक्रमितहरू समुदायमा, बजारमा हिड्डुल गरिरहेका छन्। ‘अनुगमन र नियन्त्रण गर्ने संयन्त्र नै नभएपछि के गर्न सकिन्छ र ? ’ उनले भने। शनिबारसम्म प्रदेश २ मा सक्रिय संक्रमितको संख्या ५ हजार २ दुई ५७ जना पुगेको छ।

प्रकाशित: २७ वैशाख २०७८ ०२:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App