७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

वीपी प्रतिष्ठानमा लगाएको ताला प्रहरीले तोड्यो

आन्दोलनरत वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पदाधिकारीहरुको कार्यकक्षमा लगाएको तालाबन्दी प्रहरीले तोडेको छ। सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको निर्देशनमा आज (आइतबार) बिहान प्रहरीले ताला तोडेको हो। कोभिड महामारी बढेपछि सरकारले जारी गरेको जनस्वास्थ मापदण्ड उल्लंघन भएको र सुनसरी प्रशासनले लकडाउन जारी गरेको बेला भेला, धर्ना र तालाबन्दीजस्ता गतिविधि गरेको भन्दै प्रजिअ ढकालले ताला तोड्न निर्देशन दिएका थिए।  

प्रहरीले उपकुलपति डा.ज्ञानेन्द्र गिरी, रेक्टर डा.गुरु खनाल, अस्पताल निर्देशक डा.गौरीशंकर साह, रजिष्ट्रार डा.मोहनचन्द्र रेग्मी र मेट्रोनको कार्यकक्षमा गरेको ताला तोडेको हो। कर्मचारी कल्याण तदर्थ समितिले शुक्रबार विभिन्न मागहरु राखेर ताला लगाएको थियो।  

कर्मचारीहरुले कोभिड १९ को पहिलो लहरको बेला कोभिड अस्पतालमा खटिएका कर्मचारीहरुलाई हालसम्म जोखिम भत्ता नदिएको, हाल कोभिडमा खटिएका कर्मचारीहरुलाई क्वारेन्टिन र खानाको ब्यवस्था नगरेको, बढुवा प्रक्रिया अघि नबढाएको लगायत विभिन्न पाँच बुँदे माग राखेर तालाबन्दी गरेका थिए।  

प्रहरीले ताला तोडेपछि आन्दोलनतर कर्मचारीहरु आक्रोशित भएका छन्। उनीहरुले उपकुलपति कार्यालयअघि धर्ना दिँदै नाराबाजी पनि गरेका छन्। पदाधिकारीहरुले जायज माग पुरा नगरी प्रहरी लगाएर दमन गरेको भन्दै तदर्थ समितिका उपाध्यक्ष किरण भट्टराईले आन्दोलन थप चर्काउने चेतावनी दिए। कोभिड महामारीको बेला पनि पदाधिकारीहरुको गैरजिम्मेवारीपनको कारण आन्दोलनमा उत्रन बाध्य भएको उनको भनाइ छ। 'अहिले पनि हामी वार्तामा बस्न तयार छौं, तत्काल कोभिडमा खटिने कर्मचारीहरुलाई क्वारेन्टिन र खानाको व्यवस्था गरे पनि हुन्छ। अरु माग पछि सहज भएपछि गरे हुन्छ, तर पदाधिकारीहरुले ध्यानै दिएनन्,' उनले भने।  

प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलले शुक्रबार पदाधिकारीहरुसँग बसेर वार्ता भएको जानकारी दिँदै कतिपय माग पहिला नै सम्बोधन भइसकेको बताए। केही मागहरु समज अवस्था भएपछि पुरा गर्दै जाने प्रतिवद्धता जनाए पनि आन्दोलन फिर्ता लिन नमानेको उनले बताए।  

'अहिले बिषम परिस्थिति छ। सरकारले पनि भेला, जुलुस, सम्मेलन गर्न नपाउने प्रोटोकल बनाएको छ। त्यसैले आन्दोलन रोक्नुस् भन्यौ, उहाँहरु मानेनन्,' उनले भने, 'उहाँहरुको माग जायज नै हो, तर समय प्रतिकुल भयो। अनुकुल भएपछि माग पुरा हुन्छ । स्वास्थ्य प्रोटोकल विपरीत भएपछि ताला पनि प्रहरी प्रशासनले ताला तोडेको हो।' उनले कोरोनाको जोखिम भत्ता पहिला वितरण भइसकेको उल्लेख गर्दै कसैलाई नपुगेको भए छानबिन गरेर पुनः वितरण हुने बताए।

प्रकाशित: २६ वैशाख २०७८ १३:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App