४ वैशाख २०८१ मंगलबार
स्वास्थ्य

कारोना कहरमा अर्घाखाँचीका स्वास्थ्य केन्द्र डाक्टरविहिन, कोभिड अस्पताल अलपत्र

अर्घाखाँचीमा रहेका प्राथमिक स्वास्थ्य केन्द्रहरुमा डाक्टर नहुँदा समस्या परेको छ। कोरोना महामारी बढिरहँदा दरबन्दीमा रहेका डाक्टरहरु अध्ययन बिदामा गएपछि जिल्लामा रहेका दुबै प्राथमिक स्वास्थ्य केन्द डाक्टरविहिन बनेका हुन्।

छत्रदेव गाउँपालिकाको बल्कोट प्राथमिक स्वास्थ्य केन्द्र र शितगंगा नगरपालिकाको ठाडा प्राथमिक स्वास्थ्य केन्द्र डाक्टरविहीन हुँदा बिरामीहरु नजिकको स्वास्थ्य संस्थामार्फत् उपचार लिन बञ्चित भएका छन्। छत्रदेव गाउँपालिकामा रहेको बल्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा १० जनाको दरबन्दी रहेको छ । त्यहाँ एकजना स्टाफ नर्सको पदपुति छन्।  

दरबन्दीमा रहेका डाक्टर अध्ययन बिदामा गएको र मन्त्रालयले बैकल्पिक डाक्टर उपलब्ध नगराउँदा अफ्ठ्यारो भएको छत्रदेव गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बुद्धिराम न्यौपानेले बताए। ‘कोरोना महामारीमा समेत डाक्टर नहुँदा गाह्रो भएको छ’, उनले भने, ‘गम्भीर बिरामी राख्ने अवस्था छैन।’ बिरामी सन्धिखर्क तथा बुटवल जान बाध्य रहेको उनको भनाइ छ।  

डाक्टर अध्ययन बिदामा गएपछि प्राथमिक स्वास्थ्य केन्द्र चिकित्सकविहीन भएको शितगंगा नगरपालिकाका नगरप्रमुख सुर्यप्रसाद अधिकारीले बताए। १० जनाको दरबन्दी रहेको ठाडा प्राथमिक स्वास्थ्य केन्द्रमा ७ जनाको मात्र पदपुर्ति भएको छ। एक स्टाफ नर्स, एक हेल्थ असिस्टेन्ट र एक अहेबको दरबन्दी रिक्त छ।

डाक्टर नहुँदा स्वास्थ्य केन्द्र भएर पनि नभएजस्तो भएको शितगंगा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्णप्रसाद पौडेलले बताए। ‘सामान्य बिरामीमात्र हेर्ने काम भएको छ, उनले भने, ‘यो महामारीमा चिकित्सक नहुँदा पालिकालाई गाह्रो भएको छ।’

अहिले प्राथमिक स्वास्थ्य केन्द्रमा रहेका अन्य स्टाफको भरमा प्राथमिक स्वास्थ्य केन्द्र चलेका छन्। सबै अधिकार डाक्टरमा निहित हुने भएकाले जोखिमका बिरामी राख्न अफ्ठ्यारो रहेको उनीहरुको भनाइ छ ।  

डाक्टर नहुँदा कोभिड अस्पताल पनि अलपत्र  

डाक्टर अभावमा जिल्लाका कोभिड अस्पतालहरु सञ्चालनमा आउन सकेका छैनन् । जिल्लाका छवटै स्थानीय तहमा रहेका कोभिड अस्पताल प्रभावकारी ढंगले चल्न सकेका छैनन्। हाल जिल्लाको पाणिनी गाउँपालिकाबाहेक कुनै पालिकामा एमबिबिएस डाक्टर छैनन्। डाक्टर भएको ठाउँमा पनि कोभिड अस्थायी अस्पताल सञ्चालनमा आउन सकेका छैनन्।

पाँच शैयाको कोभिड अस्थायी अस्पताल सञ्चालन गर्न सङ्घीय सरकारले गत वर्ष नै परिपत्र गरेपनि डाक्टर अभावले सञ्चालन गर्न नसकिएको मालारानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश पन्थीले बताए। ‘मेडिकल अधिकृतका लागि विज्ञापन गरिरहेंका छौं दरखास्त नै पर्न मुस्किल हुन्छ’, उनले भने, ‘सेवासुविधा थप गरेर भएपनि राख्ने सोचमा छौं।’ दुर्गम गाउँमा कोही डाक्टर आएर बस्न नमान्ने उनको भनाइ छ ।  

अहिले जटिल प्रकृतिका बिरामी र संक्रमित सम्पर्कमा आउँदा अर्घाखाँची अस्पताल वा बुटवल पठाउनुपर्ने बाध्यता छ। कोभिड अस्थायी अस्पताल सञ्चालन गर्न बजेट पठाएको भएपनि डाक्टरको अभावमा यहाँ स्थानीय तहले अस्पताल सञ्चालन गर्न सकेका छैनन्। केही स्थानीय तहहरुले स्टाफ नर्स मात्रै भर्ना गरेका छन् भने कतिपयमा त्यही पनि छैनन्। डाक्टरका लागि आवेदन आह्वान गर्दासमेत डाक्टर नपाएपछि स्टाफ नर्समात्रै भर्ना गरेर अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याएको भूमिकास्थान नगरपालिकाका सूचना अधिकारी हरिशचन्द्र भुसालले जानकारी दिए।

चिकित्सक नभएपछि मध्यम खालका बिरामी समेत राख्न डर मान्नुपर्ने अवस्था रहेकाले पूर्ण रूपमा तयारी हुँदाहुँदै पनि अहिले कोभिड अस्थायी अस्पताल सञ्चालन हुन सकेका छैनन्।

प्रकाशित: २५ वैशाख २०७८ १३:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App