coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

गोरखाका ठूला अस्पतालमै छैन अक्सिजन प्लान्ट

गोरखा र आँपपिपल अस्पतालमा अक्सिजन प्लान्ट संचालनमा ढिलाइ भएको छ। गोरखा अस्पतालको निर्माणाधीन भवन पूरा नहुँदा त्यहाँ प्लान्ट राख्न नसकिएको अस्पतालले जनाएको छ। आँपपिपल अस्पतालमा भने फ्रान्सबाट मगाइएको प्लान्ट अहिलेसम्म नेपाल नआएकाले राख्न नसकिएको हो।

गोरखाका ठूला यी दुई अस्पतालले प्लान्ट संचालनमा ल्याउन नसक्दा गोरखामा चितवन, पोखरा र काठमाडौँबाट अक्सिजन खरिद गरिन्छ।  

गोरखा अस्पतालमा अक्सिजन प्लान्टका लागि चाहिने मेसिन २०७७ कात्तिकमा अस्पतालले ल्याइसकेको छ। नयाँ बन्दै गरेको भवनमा उक्त प्लान्ट राख्ने योजना अस्पतालको छ। प्लान्टका लागि अक्सिजन जम्मा हुने ट्यांकी भवन निर्माण गरिरहेको कम्पनीले ल्याउने सम्झौता छ। ‘भवनको पनि केही काम बाँकी छ, ट्यांकी पनि आइपुगेको छैन’ गोरखा अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले भने ‘अहिले छुट्टै राख्न र संचालनमा ल्याउन मिल्दैन।’  

अस्पताल निर्माण जिम्मा लिएको कम्पनीसँग सम्झौता गरिएको समय बाँकी छ। ‘अक्सिजन प्लान्ट छिटो जडान गरेर यहाँ नै सिलिण्डर भर्ने योजनामा छौँ’ सूचना अधिकारी ढकालले भने ‘तर अझै केही समय लाग्छ।’

गोरखा अस्पतालमा अक्सिजन प्लान्ट निर्माण भएपछि नयाँ बन्ने भवनको बेडमा पाईपमार्फत् सिधै लगिन्छ। बिरामीलाई प्रयोग गर्नु नपरेको बेला दैनिक २० वटासम्म ठूलो सिलिण्डर भर्न सकिने स्वास्थ्यकर्मी बताउँछन्। यहाँ निर्माण हुने प्लान्टले प्रतिमिनेट ८० लिटर उत्पादन गर्छ। अहिले गोरखा अस्पतालसँग भएको ४५ वटा सिलिण्डर चितवनबाट भरेर ल्याउनुपर्छ। नौ सयदेखि एकहजार रुपैयाँ प्रतिसिलिण्डर खर्च लाग्छ । ‘प्लान्ट बनेपछि यो खर्च कम हुन्छ’ सूचना अधिकारी ढकाल भन्छन् ‘बाहिरको सिलिण्डर पनि हामी भर्न सक्छौँ।’

आँपपिपल अस्पतालमा अक्सिजन प्लान्ट संचालनमा आइसक्नुपर्ने थियो। कोरोनाको विश्वव्यापी प्रभावका कारण फ्रान्सबाट मगाइएको उक्त प्लान्ट आउन समय लागेको अस्पतालका प्रशासकीय अधिकृत बाबुराम गिरीले बताए। ‘अर्डर गरेको तीन महिना भयो, अझै दुई महिना लाग्छ भनेका छन्’ उनले भने, ‘कोभिडको बिरामीलाई अहिले आवश्यक परेका बेला प्लान्ट चलाउन सकिएन।’  

रोटरी क्लब अफ गोरखाको ९० लाख र अमेरिका नेपाल मेडिकल फाउण्डेसनको १० लाख लगानीमा आँपपिपल अस्पतालमा अक्सिजन प्लान्ट स्थापना हुन लागेको हो। उक्त प्लान्ट तयार भएपछि दैनिक २० वटासम्म १६ केजीका सिलिण्डरमा ग्याँस भर्न सकिनेछ। ‘छिमेकी जिल्ला र घरमा चाहिने व्यक्तिहरुलाई पनि हामीले प्लान्ट सुरु भएपछि दिन सक्छौँ’ प्रशासकीय अधिकृत गिरीले भने।  

तर अहिले गोरखामा सरकारी, निजी अस्पताल, स्थानीय तह सबैले जिल्ला बाहिरबाट अक्सिजन खरिद गरेर ल्याउने गरेका छन्। गोरखा र आँपपिपल अस्पतालमा अक्सिजन लगाउनुपर्ने बिरामीको संख्या शनिबार तीन जनामात्रै छ। दुई सय ३२ सक्रिय संक्रमित रहेको गोरखामा अक्सिजनको माग बढ्यो र बिरामी थपिए भने धान्न मुस्किल पर्छ।

प्रकाशित: २५ वैशाख २०७८ १२:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App