coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

सुगमका बिरामी उपचारका लागि जुम्लातिर

कुनै बेला सामान्य बिरामीको उपचार गर्न सुविधासम्पन्न अस्पताल पठाउने कर्णाली अहिले सुगम क्षेत्रका बिरामीको उपचार गर्न थालेको छ । सुगम मानिएका सुर्खेत, नेपालगन्जलगायत जिल्लादेखि उपचार गराउन बिरामी जुम्ला पुग्ने गरेका छन् । अहिले आधा दर्जन बढी सुगमका कोरोना संक्रमित उपचार गर्न जुम्ला आइपुगेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले बताएको छ ।  

एक दशकअघिसम्म प्रदेशका सामान्य बिरामी उपचार गर्न सुगम मानिएको सुर्खेत, नेपालगन्ज र काठमाडौं पुग्थे । उतिबेला कर्णालीमा न राम्रा स्वास्थ्यकर्मी थिए, न त पर्याप्त औषधि । जिल्ला अस्पताल र स्वास्थ्यचौकी मात्र थिए । संरचना थियो जनशक्ति थिएन । बिरामी थिए, औषधि थिएन । स्थानीय दलबहादुर रोकायाले भने, ‘कर्णालीले अहिले सुगम क्षेत्रका बिरामीको उपचार गर्ने हैसियत राखेको छ । सुगम क्षेत्रमा बिरामी परेकाहरूको उपचार गर्न चिकित्सक तथा स्वास्थ्यकर्मी पठाउने भइसकेको छ । यो दुर्गम कर्णालीवासीको सुगम उपलब्धि हो ।’

सुगम मानिएको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कोरोना संक्रमित बेड र अक्सिजन नपाएपछि जुम्ला उपचार गराउन पुगेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा सुगदेखि उपचार गर्न आउनेको संख्यामा वृद्धि भइरहेको बताउँछ । प्रतिष्ठानका निमित्त निर्देशक राजीव शाह सुर्खेतबाट उपचारका लागि ५ जना बिरामी जुम्ला अस्पताल आएको बताउँछन् । उनले भने, ‘अब कर्णाली स्वास्थ्य क्षेत्रमा अब्बल बनिरहेको छ । कर्णाली उपचार गर्न सुगम धाउनेछैन । सुगमतिरका बिरामी कर्णालीमा स्वास्थ्य उपचारका लागि आउन थालेका छन् । कर्णाली आवश्यक जनशक्ति, स्वास्थ्य सेवा र अनुसन्धान देशभर बाँड्न सक्षम हुनेछ ।’

सुर्खेतबाट आएका ५ जना बिरामीमध्ये २ जनालाई अक्सिजन प्रयोग गरी उपचार थालिएको छ । ‘जुम्ला अस्पतालमा अझै बाहिरी जिल्लाबाट कोभिडका बिरामी थपिने सम्भावना छ,’ डा. शाहले भने, ‘सुर्खेत, नेपालगन्जका अस्पतालमा बिरामी भरिभराउ छन् । बिरामीले बेड पाउन सकेका छैनन् । अब विकल्प कर्णाली अस्पताल हुन सक्छ । कर्णालीले जस्तोसुकै परिस्थितिमा पनि गुणस्तरीय उपचार दिनसक्ने सामथ्र्य राखेको छ ।’  

हाल प्रतिष्ठानमा २ सय बढी अक्सिजन सिलिन्डर मौज्दात छन् । मौज्दातमध्ये १ सय सिलिन्डर कोभिड बिरामीका लागि प्रयोग गरिने छ । आइसोलेसन बेड १२०, एचडीयु बेड २४ वटा, आइसियु बेड १२ वटा र भेन्टिलेटर १५ वटा छन् । कोभिड स्वास्थ्य सामग्री, पिपिई, मास्क, स्यानिटाइजर अहिले २/३ महिना पुग्ने गरी मौज्दात रहेको डा. शाह बताउँछन् ।  

संक्रमित बोक्ने एम्बुलेन्स अभाव

जुम्लामा कोरोना संक्रमितका लागि एम्बुलेन्स नहुँदा समस्या भएको छ । एम्बुलेन्स नहुँदा संक्रमितलाई अस्पताल ल्याउन समस्या भइरहेको छ । प्रतिष्ठानमा रहेका एम्बुलेन्स अन्य बिरामी बोक्नका लागि राखिएको छ । पहिलो लहरको कोरोना संक्रमणका बेला पनि जुम्लाले एम्बुलेन्स समस्या भोग्नु परेको थियो ।  

कोभिड–१९ संकट व्यवस्थापन समितिले एम्बुलेन्स व्यवस्थापनका लागि पटकपटक केन्द्र र प्रदेश सरकारसँग माग गरेको थियो । तर सुनुवाइ हुन सकेन । कर्णाली प्रतिष्ठानका प्रशासकीय अधिकृत द्वन्द्वबहादुर शाहीले भने, ‘अस्पतालमा उपचार गर्ने जनशक्ति छ । औषधि उपकरण पनि छन् । तर संक्रमित ओसार्ने सवारीसाधन नहुँदा समस्या देखिएको छ ।’

शाहीले थपे, ‘कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री, कानुनमन्त्री, सामाजिक विकासमन्त्रीलगायत संघीय सरकारबाट जुम्ला आउने हरेक मन्त्रीलाई कोभिड एम्बुलेन्स व्यवस्थापनका लागि माग गरिएको थियो । तर समस्या समाधान भएन । शववाहनको पनि उस्तै समस्या छ । पहिलो लहरको कोरोना संक्रमणका बेला संक्रमितको जुम्लामा मृत्यु भएन । तर, दोस्रो लहरमा पहिलेजस्तो होला भन्न सकिँदैन ।’ उनले कर्णालीमा तुरुन्त एम्बुलेन्स र शववाहनको व्यवस्थापन गर्नुपर्ने बताए ।  

कर्णाली प्रतिष्ठानमा अक्सिजन प्लान्ट स्थापना गरिएको छ । तर सोचेअनुसारको अक्सिजन उत्पादन हुन सकिरहेको छैन । फुलफेजमा अक्सिजन उत्पादन गर्न ७६ किलोवाट बिजुली आवश्यक पर्दछ । आवश्यक बिजुली नहुँदा अक्सिजन उत्पादन गर्न सकिएको छैन । २ करोड २० लाख रुपैयाँ खर्चिएर प्रतिष्ठानले २०७६ मा अक्सिजन प्लान्ट ल्याएको थियो । अहिले आंशिक रूपमा मात्रै अक्सिजन उत्पादन गर्न सकिएको छ । प्लान्टले उत्पादन गरेको अक्सिजन पाइपमार्फत सीमित बेडमा मात्रै पुर्‍याउन सकिएको तर सिलिन्डर भर्न नसकिएको निर्देशक डा. राजीव शाहले बताए ।  

‘जुम्लामा राष्ट्रिय प्रसारण लाइन पुगेको छैन । उत्पादित बिजुलीले सिलिन्डर भर्ने गरी अक्सिजन प्लान्ट सञ्चालन गर्ने क्षमता पुग्दैन,’ उनले भने, ‘अहिले नेपालगन्जबाट सिलिन्डर भरेर ल्याउने गरिएको छ । यो दीर्घकालीन समाधान होइन ।’  

प्रतिष्ठानमा अक्सिजन प्लान्टको बायोमेटिक इन्जिनियर पनि छैनन् । सामान्य तालिम लिएका कर्मचारीले प्लान्ट सञ्चालनमा ल्याएका छन् । ‘सामान्य सामान खरिद गर्नुपर्दा समस्या हुन्छ,’ उनले भने, ‘इन्जिनियरका लागि विज्ञापन गरे पनि निवेदन पर्दैनन् ।’ कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले पनि तत्काल अक्सिजन प्लान्ट सञ्चालनमा ल्याउन आग्रह गरेको छ । करोडौं रुपैयाँ खर्च गरेर मेसिन ल्याउने तर सेवाप्रवाह सुरु गर्न ढिलासुस्ती नगर्न प्रतिष्ठानलाई डिसिसिएमसीको बैठकले ध्यानाकर्षण गराएको सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईंले बताए ।

कर्णाली स्वास्थ्य क्षेत्रमा निकै अब्बल भइसकेको छ । तर, आवश्यक मात्रामा विद्युत्को आपूर्ति नहुँदा प्रतिष्ठानले हैरानी खेपिरहनुपरेको छ ।

प्रकाशित: २५ वैशाख २०७८ ०२:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App