१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

धादिङमा स्वास्थ्यकर्मी नै संक्रमित, आइसोलेसनमा जनशक्ति अभाव

जिल्ला अस्पताल धादिङका ४० जना स्वास्थ्यकर्मी र कर्मचारी नै कोरोना संक्रमित भएपछि आइसोलेसनमा जनशक्ति अभाव भएको छ। धादिङ अस्पतालले धादिङबेसीमा संचालन गरेको अस्थायी कोभिड १९ अस्पतालमा जनशक्तिको अभाव भएको हो।

स्वास्थ्यकर्मी नै संक्रमित भई आइसोलेसनमा रहेका कारण संक्रमित स्वास्थ्यकर्मीले नै आईसोलेसनका संक्रमितहरुलाई सेवा दिइरहेका छन्।  

कोरोना भाइरस (कोभिड १९) को संक्रमणको दर जिल्लामा दिनानुदिन बढ्दै गइरहेको छ। संक्रमण दर बढ्दै जाँदा धादिङ अस्पतालको आइसोलनमा जनशक्ति अभाव हुन थालेको अस्पतालका सूचना अधिकारी तथा अस्थायी कोभिड–१९ अस्पतालका फोकल पर्सन विक्रम विश्वकर्माले बताए। ‘अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी नै संक्रमित भएपछि आइसोलेसनमा जनशक्ति अभाव हुन थालेको छ’, सूचना अधिकारी विश्वकर्माले भने, ‘संक्रमित स्वास्थ्यकर्मीले नै अन्य संक्रमित व्यक्तिहरुलाई सेवा दिनुपर्ने बाध्यता छ।’

संक्रमित मध्ये १९ जना अस्पतालको आइसोलेसनमा छन् भने अन्य २१ जना होम आइसोलेसनमा रहेको सूचना अधिकारी विक्रम विश्वकर्माले जानकारी दिए।कोरोना परिक्षण गरेको अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारी १४ जनाको रिर्पोट आउन बाँकी छ । अस्पतालको आइसोलेसनमा अहिले ३३ जना संक्रमितहरु छन्।  

अस्थायी कोभिड–१९ अस्पताल (आईसोलेसन) मा १ जना चिकित्सकबाहेक सबै कोभिड–१९ संक्रमित स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले सेवा दिनुपर्ने बाध्यता रहेको उनले बताए। सबै स्वास्थ्यकर्मी संक्रमित भएपछि ५० शय्याको अस्थायी कोभिड–१९ अस्पतालमा अहिले एक जना चिकित्सकले मात्रै सेवा दिई रहेको छ।

हाल डा.सबिन भण्डारीको नेतृत्वमा रहेको टीमले कोभिड–१९ संक्रमित बिरामीहरुको उपचार गर्ने मात्र नभएर दैनिक १५ वटासम्म अक्सिजन सिलिन्डर ३ तले आईसोलेसन भवनको सबै कोठामा बोकेर पुर्याइरहेका छन्। 

प्रकाशित: २४ वैशाख २०७८ ११:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App