८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

गाउँपालिकाको गाडीले कोरोना संक्रमित बोक्ने

जुम्लाको सिँजा गाउँपालिकाका अध्यक्ष देवलसिंह रावलले गाउँपालिकाको गाडी कोराना संक्रमित बोक्न प्रयोग गर्ने भएका छन्। कोरोना संकटका बेला संक्रमित ओसारपसार गर्न आफू चढ्ने गाउँपालिकाको गाडी एम्बुलेन्सका रुपमा प्रयोग गर्ने भएका हुन्।

उनले भने, ‘गाउँपालिकामा एक एम्बुलेन्स छ। एम्बुलेन्सले दुई महिनादेखि संक्रमित बिरामी ओसारपसार गरिरहेको छ । गाउँपालिकाले कोभिड बिरामी बोक्नको लागि एउटा अर्को गाडी पनि व्यवस्थापन गरेको छ। उनले संक्रमितको संख्या हेरेर गाउँपालिकाको गाडी पनि एम्बुलेन्सका रुपमा प्रयोग गर्ने तयारीमा रहेको पनि बताए।

सिँजा गाउँपालिकाले तीनवटै गाडी तयारी अवस्थामा राखेको छ।,‘संकटको समयमा जनताको सेवा गर्नु स्थानीय सरकारको काम हो। जनता बाँचे हामी बाँच्छौँ। जनता नरहे हामी पनि रहँदैनौं।’ अध्यक्ष रावलले भने।

गाडीले गाउँपालिका भित्रका संक्रमितलाई बोक्ने उनको भनाइ छ । कोरोना जाँच गराउन जाने आउने कामका लागि गाडी प्रयोग भइराखेका छन्। जुम्लाको हिमा गाउँपालिका बाहेकका सबै स्थानीय तहका गाडी किनिएका छन्। यहाँका स्थानीय तहमध्ये सिँजा गाउँपालिकाले सबै गाडी कोरोना संक्रमितका लागि प्रयोग गर्ने घोषणा गरेको हो।  

एक साताअघि जिल्ला प्रशासन कार्यालय जुम्लामा बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले एम्बुलेन्स भाडामा लिने निर्णय गरेको थियो। एम्बुलेन्स भाडामा लिनको लागि तीन दिनभित्र हरेक स्थानीय तहले जिल्ला विपत् व्यवस्थापन समितिको खातामा एक एक लाख रुपैंया जम्मा गर्ने प्रतिबद्धता जाहेर गरेका थिए।

गाउँपालिका अध्यक्ष रावल चढ्दै आएको गाडीसमेत कोरोना संक्रमित ओसारपसारको लागि प्रयोग गर्ने भएपछि स्थानीय उत्साहित भएका छन्। गाउँपालिका गाडीले निःशुल्क बिरामी ओसारपसार गर्नेछ।

प्रकाशित: २४ वैशाख २०७८ ११:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App